प्रकाशित मिति : १५ असार २०८३, सोमबार

Photo: Fine Photographics/ Unsplash
अमेरिकी सर्वोच्च अदालतले लेखक ई. जीन क्यारोलसँग जोडिएको ५ मिलियन डलरको देवानी फैसला पुनरावलोकन गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको अनुरोधलाई अस्वीकार गरेको छ। सन् २०२३ मा एक जुरीले ट्रम्पलाई क्यारोलमाथि यौन दुर्व्यवहार र मानहानि गरेको मामिलामा दोषी ठहर गरेको थियो। अदालतको यो निर्णयसँगै ९० को दशकमा एक डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा भएको उक्त घटनालाई लिएर ट्रम्पले गरिरहेको कानुनी लडाइँ लगभग अन्त्य भएको छ।
सोमबार न्यायाधीशहरूले जारी गरेको संक्षिप्त सूचनामा याचिका अस्वीकार गर्नुको कुनै कारण खुलाइएको छैन र यस निर्णयमा कुनै पनि न्यायाधीशको सार्वजनिक विमति पनि रेकर्ड गरिएको छैन।
क्यारोलकै आरोपसँग जोडिएको दोस्रो मुद्दा पनि चाँडै सर्वोच्च अदालत पुग्न सक्ने सम्भावना छ। सन् २०२४ को जनवरीमा अर्को एक छुट्टै जुरीले ट्रम्पलाई सन् २०१९ मा क्यारोलको बद्नाम गरेको भन्दै ८३.३ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो। ट्रम्पका वकिलहरूले उक्त दोस्रो मुद्दालाई पनि सुनुवाइका लागि सर्वोच्च अदालत लैजाने तयारी भइरहेको बताएका छन्।
ट्रम्पका लागि यो फैसला अर्को एउटा ठूलो नीतिगत झट्का लगत्तै आएको हो। यसअघि फेब्रुअरीमा अदालतले ट्रम्पले आपतकालीन शक्तिको प्रयोग गरी व्यापक कर लगाएर आफ्नो अधिकारको दुरुपयोग गरेको फैसला सुनाएको थियो। उक्त फैसलाको ट्रम्पले कडा आलोचना गर्दै न्यायाधीशहरूलाई “मूर्ख र कठपुतली” को संज्ञा दिएका थिए।
सन् २०२३ को मे महिनामा न्यूयोर्कको संघीय जुरीले ट्रम्पलाई यौन दुर्व्यवहार र मानहानि दुवैमा जिम्मेवार ठहराएको थियो। ट्रम्पले क्यारोलको आरोपलाई “पूर्ण रूपमा ठगी र झूट” भनेर सामाजिक सञ्जालमा पोस्ट गरेपछि जुरीले त्यसलाई मानहानि ठहर गरेको हो।
ट्रम्पले सुरुदेखि नै यी आरोपहरू अस्वीकार गर्दै आएका थिए। तर सुनुवाइका क्रममा जुरीले क्यारोल बाहेक अन्य दुई महिलाका आरोपहरू र ट्रम्पको कुख्यात “एक्सेस हलिउड” अडियो टेपलाई प्रमाणका रूपमा सुनेको थियो, जसमा ट्रम्पले महिलाहरूको अनुमति बिना नै उनीहरूलाई समात्ने र चुम्बन गर्ने बानी रहेको कुरा आफैंले स्विकारेका थिए।
यसअघि, डिसेम्बर २०२४ मा तीन न्यायाधीशहरूको पुनरावेदन अदालतले पनि जुरीको फैसलालाई सदर गर्दै ट्रम्पको निष्पक्ष ट्रायलको अधिकार हनन नभएको स्पष्ट पारेको थियो।
त्यसपछि ट्रम्पका वकिलहरूले यी आरोपहरूलाई “दशकौं पुरानो, अप्रमाणित र असान्दर्भिक” भन्दै सर्वोच्च अदालतमा ढोका ढकढक्याएका थिए। उनीहरूले तल्लो अदालतको गल्तीलाई नजिर बन्न नदिन सर्वोच्चले हस्तक्षेप गर्नुपर्ने तर्क राखेका थिए। अर्कोतर्फ, क्यारोलका वकिलहरूले सर्वोच्च अदालतले मुद्दाको नतिजासँग असान्दर्भिक रहेका विषयहरूमा पुनरावलोकन नगर्ने नियम रहेको उल्लेख गर्दै ट्रम्पको निवेदन खारेज गर्न माग गरेका थिए, जसलाई सर्वोच्चले अन्ततः स्वीकार गरेको छ।
