५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो ।
अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान गएको जिल्ला अस्पताल खोटाङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पुष्कल राईले बताए ।
शिशुको स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि अस्पतालले बिहान ३ बजे रेफर गरेको थियो तर दशैंको व्यस्तताका कारण आफन्तलाई समयमा गाडी पाउन सकस भएको थियो ।
गाडी जुटाएर अन्यत्र लैजाने तयारीकैक्रममा शिशुको ज्यान गएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले बताए ।