युरोपमा गर्मीको कहर: १३०० भन्दा बढीको मृत्यु, डब्लुएचओले भन्यो– गर्मी मौन हत्यारा बन्न थाल्यो



प्रकाशित मिति : १४ असार २०८३, आइतबार

युरोपमा गर्मीको कहर: १३०० भन्दा बढीको मृत्यु, डब्लुएचओले भन्यो– गर्मी मौन हत्यारा बन्न थाल्यो

फोटो : एपी/रासस

युरोपमा असामान्य गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ। युरोपमा यस वर्षको सुरुवाती गर्मीयाममै देखिएको अत्यधिक गर्मीको लहरका कारण सयौं मानिसको मृत्यु भएको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत जुन २१ यता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित एक हजार तीन सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको जानकारी दिएका छन्।

उनले अत्यधिक गर्मीलाई “मौन हत्यारा” को संज्ञा दिँदै युरोपका घर, कार्यस्थल र विद्यालयहरू यति धेरै तापक्रम सहन सक्ने गरी निर्माण नगरिएको बताए।

फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारयता देशभर अपेक्षाभन्दा करिब एक हजार बढी मानिसको मृत्यु भएको छ। तीमध्ये अधिकांश ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। घरमै मृत्यु हुनेको संख्या ४० प्रतिशतले बढेको पनि मन्त्रालयले जनाएको छ।

टेड्रोसले युरोप पृथ्वीकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश भएको उल्लेख गर्दै यहाँको तापक्रम विश्वव्यापी औसतको तुलनामा दोब्बर दरले बढिरहेको चेतावनी दिएका छन्। उनका अनुसार लाखौं मानिस अत्यधिक गर्मीको चपेटामा परेका छन्, सयौंको मृत्यु भइसकेको छ, विद्यालयहरू बन्द भएका छन् र विद्युत् प्रणालीसमेत दबाबमा परेको छ।

युरोपमा गर्मीको कहर: १३०० भन्दा बढीको मृत्यु, डब्लुएचओले भन्यो– गर्मी मौन हत्यारा बन्न थाल्यो

जर्मनीले लगातार तेस्रो दिन नयाँ तापक्रमको कीर्तिमान कायम गरेको छ। प्रारम्भिक तथ्यांकअनुसार देशको पूर्वी क्षेत्रमा आइतबार ४१ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। पोल्यान्डको सीमावर्ती कोस्चेन क्षेत्रमा स्थानीय समयअनुसार दिउँसो करिब ४ बजे यो तापक्रम रेकर्ड गरिएको हो।

चेक गणतन्त्रले पनि लगातार दोस्रो दिन नयाँ तापक्रमको कीर्तिमान बनाएको छ। राजधानी प्रागको उत्तरमा रहेको डोक्सानी क्षेत्रमा ४१ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको त्यहाँको मौसम विज्ञान संस्थानले जनाएको छ।

त्यस्तै, पोल्यान्डले पनि आफ्नो इतिहासकै उच्च तापक्रम रेकर्ड गरेको छ। स्लुबिचे सहरमा ४० दशमलव ५ डिग्री सेल्सियस तापक्रम पुगेको मौसम तथा जल व्यवस्थापन संस्थानले जनाएको छ।

डब्लुएचओका महानिर्देशक टेड्रोसले जलवायु परिवर्तन र विश्वव्यापी तापवृद्धिका कारण पहिले एक पुस्तामा एक पटक मात्र देखिने यस्तो गर्मीको लहर अहिले लगभग हरेक वर्ष दोहोरिन थालेको बताएका छन्। उनले युरोपेली देशहरूलाई नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न “गर्मी स्वास्थ्य कार्ययोजना” लागू गर्न आग्रह गरेका छन्।

अत्यधिक गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानीका उपाय अपनाएका छन्। नेदरल्यान्ड्समा आयोजना हुने प्रसिद्ध ‘डिफ्कन १’ संगीत महोत्सव अत्यधिक गर्मीको ‘रेड अलर्ट’ जारी भएपछि रद्द गरिएको छ।

फ्रान्सको राजधानी पेरिसमा सार्वजनिक स्थानमा किनेर ल्याइएको मदिरा सेवनमा अस्थायी प्रतिबन्ध लगाइएको छ भने आपत्कालीन सेवामाथिको चाप कम गर्न सहरको ‘प्राइड परेड’ पनि रद्द गरिएको छ।

फ्रान्सका गृहमन्त्री लरेन नुनेजका अनुसार गर्मीको लहर सुरु भएयता देशभर कम्तीमा ७४ जनाको डुबेर मृत्यु भएको छ। अधिकांश घटना नदी, ताल र पोखरीजस्ता निगरानी नभएका जलाशयमा भएका थिए।

मौसमविद्हरूका अनुसार यसपटकको अत्यधिक गर्मीको मुख्य कारण “हिट डोम” को प्रभाव हो। यस अवस्थामा वायुमण्डलको माथिल्लो तहबाट तल झर्ने हावा संकुचित हुँदै अझ तातो बन्छ। त्यही हावाले बादल बन्न नदिँदा घामको ताप सिधै जमिनमा पर्ने र तापक्रम झन् तीव्र रूपमा बढ्ने गर्दछ।





Source link

Leave a Comment