प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गोप्य सरकारी सूचना गैरकानुनी रूपमा राखेको आरोप स्वीकार गरेका छन्। बोल्टनले आफूले पुस्तक लेख्ने क्रममा सङ्कलन गरेका नोटहरूमा रहेका गोप्य राष्ट्रिय सुरक्षासम्बन्धी सूचना गैरकानुनी रूपमा आफ्नो साथमा राखेको आरोप स्वीकार गरेका हुन्।
हाल ट्रम्पका प्रमुख आलोचकका रूपमा चिनिएका बोल्टनविरुद्ध गोप्य सामग्रीको अनुचित व्यवस्थापन गरेको आरोपमा १८ वटा अभियोग दर्ता गरिएको थियो। सुरुमा उनले यी सबै आरोपहरू अस्वीकार गरेका थिए।
अदालतमा उनले गोप्य सूचनालाई गैरकानुनी रूपमा आफ्नो नियन्त्रणमा राखेको एउटा अभियोग स्वीकार गरे। उनले सुरक्षित राखेका कागजातमा राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी भएका व्यक्तिगत डायरीका अभिलेखहरू थिए। ती डायरीका केही सूचना ‘टप सिक्रेट’ अर्थात् अत्यन्त गोप्य तहका थिए।
अभियोजन पक्षका अनुसार बोल्टनलाई अधिकतम पाँच वर्षसम्म कैद सजाय हुन सक्छ। साथै, उनले २२ लाख ५० हजार अमेरिकी डलर जरिवाना तिर्न पनि सहमति जनाएका छन्।
बोल्टनले आफूले गैरकानुनी रूपमा राखेका गोप्य सूचनाबारे राष्ट्रिय सुरक्षा अधिकारीहरूलाई जानकारी गराउने तथा १०० घण्टा सामुदायिक सेवा पनि गर्नेछन्।
अदालतमा न्यायाधीशले संवेदनशील सूचना भएका डायरीका अभिलेख आफ्ना परिवारका सदस्यहरूलाई पठाएको लगायतका आरोप पढेर सुनाएपछि बोल्टनले ती आरोप सत्य भएको स्वीकार गरे। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनलाई आगामी अक्टोबर २८ मा सजाय सुनाइनेछ।
सन् २०२३ मा ट्रम्पविरुद्ध पनि गोप्य रक्षासम्बन्धी कागजात गैरकानुनी रूपमा राखेको आरोप लगाइएको थियो। तर उनी पुनः राष्ट्रपति निर्वाचित भएपछि उक्त मुद्दा खारेज गरिएको थियो।
सन् २०१९ मा बोल्टन ट्रम्प प्रशासनबाट बर्खास्त भएका थिए। त्यसपछि सन् २०२० मा प्रकाशित उनको संस्मरण ‘द रुम होयर इट ह्यापण्ड‘ मा उनले ट्रम्प प्रशासनमा काम गर्दाको अनुभव उल्लेख गर्दै ट्रम्पलाई अन्तर्राष्ट्रिय राजनीतिबारे पर्याप्त जानकारी नभएका राष्ट्रपतिका रूपमा चित्रण गरेका थिए।
अभियोगपत्रका अनुसार एकपटक ह्याकरले बोल्टनको खातामा पहुँच बनाएर त्यहाँ सुरक्षित गरिएका कागजातहरू हात पारेका थिए। त्यस क्रममा ह्याकरले “हिलारी क्लिन्टनको इमेल प्रकरणपछि सबैभन्दा ठूलो काण्ड मच्चाइदिने” चेतावनीसमेत दिएको उल्लेख गरिएको छ।
स्रोतका अनुसार बोल्टनले मुद्दा लम्ब्याएको भए आफ्नो बचाउका क्रममा थप गोप्य सूचना सार्वजनिक हुन सक्ने र त्यसले अमेरिकालाई क्षति पुग्न सक्ने भएकाले, उक्त जोखिम कम गर्न उनले आफ्नो दोष स्वीकार गरेका हुन्।
राष्ट्रिय सुरक्षा विषयकी विज्ञ क्यारी कोर्डेरोले यति उच्च पदमा बसेका अधिकारीविरुद्ध गोप्य कागजात दुरुपयोगको मुद्दा चलाइनु “दुर्लभ” भए पनि यो सर्वथा नयाँ घटना भने नभएको बताइन्। उनका अनुसार गोप्य सूचनासम्बन्धी मुद्दा कानुनी रूपमा जटिल हुने भए पनि आवश्यक प्रमाण फेला परेमा तल्लो तहदेखि उच्च तहका सरकारी अधिकारीसम्मविरुद्ध समय–समयमा यस्ता मुद्दा दायर गरिन्छ।
