विश्वकप फुटबल: डेम्बेलेको ह्याट्रिक, फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा



प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार

फोटो :एपी/रासस

विश्वकप फुटबलमा उसमान डेम्बेले चम्किएपछि फ्रान्स समूह विजेता बनेको छ। उसमान डेम्बेलेको ह्याट्रिकको मद्दतमा नर्वेलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो।

अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो। फ्रान्सको यो लगातार तेस्रो जित हो। फ्रान्सले यसअघि सेनेगललाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो।

अट्ठाइस वर्षपछि विश्वकपमा फर्किएको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। खेलमा डेम्बेलेले पहिलो हाफको ३२औँ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए।

डेम्बेलेले ह्याट्रिकसँगै प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको दाबेदारीमा आफूलाई उभ्याएका छन्। उनको कुल गोल सङ्ख्या ४ पुगेको छ। उनी एम्बाप्पे, हालान्ड र भिनिसियस जुनियरसँगै ४ गोल गर्ने खेलाडीको सूचीमा उक्लिएका छन्। जारी विश्वकपमा लियोनेल मेसी ५ गोलसहित शीर्ष स्थानमा छन्।

डेम्बेलेले गरेको ह्याट्रिक जारी विश्वकपको तेस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका स्टार लियोनेल मेसी र क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक गरिसकेका छन्।

डेम्बेलेका लागि भने यो कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो ह्याट्रिक हो। डेम्बेलेले खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।

यसअघि सन् १९५४ मा एरिक प्रोब्स्टले अस्ट्रियाका लागि चेकोस्लोभाकियाविरुद्ध २४औँ मिनेटमै ह्याट्रिक गर्दै सर्वाधिक चाँडो ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए।





Source link

Leave a Comment

Translate »