शिक्षामा डेढ करोड लगानी: अमेरिकादेखि नेपालका गाउँसम्म राजेन्द्र श्रेष्ठको परोपकारी यात्रा



प्रकाशित मिति : ११ असार २०८३, बिहिबार

शिक्षामा डेढ करोड लगानी: अमेरिकादेखि नेपालका गाउँसम्म राजेन्द्र श्रेष्ठको परोपकारी यात्रा

नेपालमा बालबालिकाको शिक्षा र सामाजिक उत्थानमा सक्रिय योगदान दिँदै आएको राजेन्द्र–अञ्जना फाउन्डेसन र अमेरिकाबाट सहयोग पु¥याउँदै आएको एआरसी फर नेपालले समाजका असहाय, दलित, लोपोन्मुख र सीमान्तकृत समुदायका बालबालिकालाई शिक्षा र अवसर प्रदान गर्ने महत्त्वपूर्ण कार्य गरिरहेका छन् । बालबालिकाका लागि संसारा घर नामक आवास निर्माणार्थ सन् २०२५ मा न्युजर्सीमा एक सहयोग संकलन कार्यक्रम आयोजना गरिएको थियो । जसमा झन्डै २५ हजार डलर संकलन भयो । यसै अवसरमा संस्थाका संस्थापक न्युजर्सी निवासी राजेन्द्र श्रेष्ठसँग गरिएको संवाद ।

तपाईंहरूले नेपालमा राजेन्द्र–अञ्जना फाउन्डेसनमार्फत शिक्षा क्षेत्रमा काम गरिरहनुभएको छ । अमेरिकाबाट एआरसी फर नेपालले सहयोग गरिरहेको छ । यसबारेमा बताइदिनुहोस् न ।
हो, हामीले सुरुमा पर्वत, स्याङ्जा, बागलुङ र चितवन जिल्लामा लगभग २१ वटा उच्च विद्यालय स्थापनामा सहयोग ग¥यौं । ती विद्यालयहरूमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण ग¥यौं । साथै हाम्रो संस्कृतिको संरक्षणका लागि पर्वत जिल्लाका विभिन्न स्थानमा मन्दिरहरू पनि निर्माण ग¥यौं । स्थानीय स्तरमा पैयुँको दक्षिण भेगमा रहेको हुवास बहुमुखी क्याम्पसको संरक्षण र सुधारका लागि पनि हामीले आर्थिक सहयोग प्रदान गरेका छौं ।

त्यहाँका विद्यार्थी प्रायः उच्च विद्यालय तह पूरा गरेपछि वैदेशिक रोजगारीमा जाने परम्परा छ । त्यसलाई कसरी परिवर्तन गर्दै हुनुहुन्छ ?
हो, त्यहाँ कलेज पढ्ने विद्यार्थीको संख्या न्यून भएकाले उनीहरूलाई स्थानीय स्तरमै रोक्न र उच्च शिक्षामा प्रोत्साहन दिन हामीले एउटा योजना ल्याएका छौं । कलेजको पहिलो, दोस्रो, तेस्रो र चौथो वर्ष उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रतिवर्ष एक लाख रुपैयाँ प्रदान गर्छौं । यदि चौथो वर्षमा सबै विषय उत्तीर्ण गरेमा उनीहरूलाई थप प्रोत्साहित गर्न प्रत्येक विद्यार्थीलाई ४० हजार रुपैयाँ पुरस्कारस्वरूप दिन्छौं । यसले क्याम्पसमा विद्यार्थीको संख्या बढाउन मद्दत पुगेको छ । अन्य विद्यालयहरूमा पनि शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीहरूलाई बाहिर जानुको सट्टा गाउँमै बसेर पढ्ने वातावरण बनाइरहेका छौं ।


अहिलेसम्म फाउन्डेसन र एआरसी फर नेपालमार्फत शिक्षा क्षेत्रमा कति लगानी गर्नुभयो ?

शिक्षा क्षेत्रमा हालसम्म लगभग एक करोड ५० लाख रुपैयाँ लगानी गरिसकेका छौं । हाम्रो फाउन्डेसनको संसारा घर भवन निर्माणका लागि प्रयोग भएको ४ रोपनी जग्गा हामी चार दाजुभाइको साझा पुख्र्यौली सम्पत्ति हो ।

‘एआरसी होम’को अवधारणाबारे बताइदिनुहोस् । भर्खरै सहयोग संकलन कार्यक्रम पनि सम्पन्न भयो होइन त ?

शिक्षामा डेढ करोड लगानी: अमेरिकादेखि नेपालका गाउँसम्म राजेन्द्र श्रेष्ठको परोपकारी यात्रा

एआरसी फर नेपाल अमेरिकामा दर्ता भएको संस्था हो । राजेन्द्र–अञ्जना फाउन्डेसन नेपालको समाज कल्याण परिषद्मा दर्ता भएको गैरनाफामुखी संस्था हो । हामीले पर्वतको पैयुँ हटियामा १० जना बालबालिका राखेका छौं । जसलाई हामी संसारा घर भन्छौं ।

हाल सम्सारा घरमा रहेका १० जना बालबालिकाहरूमध्ये तीनजना चितवनका चेपाङ समुदायका छन् भने बाँकी ७ जना गुल्मी र पर्वत जिल्लाका छन्। प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू पनि घण्टौँ हिँड्नुपर्ने बाध्यतामा थिए भने कतिपय बालबालिकाहरूलाई त नेपाली भाषासमेत राम्रोसँग बोल्न आउँदैनथ्यो। अभिभावकहरू काममा व्यस्त हुने भएकाले उनीहरूको शिक्षा सम्भव थिएन । हामीले उनीहरूलाई यहाँ ल्याएर पढाउन थाल्यौं । अहिले ती बालबालिकाहरू पहिलो, दोस्रो र तेस्रो कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

शिक्षामा डेढ करोड लगानी: अमेरिकादेखि नेपालका गाउँसम्म राजेन्द्र श्रेष्ठको परोपकारी यात्रा

संसारा घरलाई अझ परिष्कृत रूपमा सञ्चालन गर्ने योजना के छ ? सहयोग संकलन कसरी भयो ?
सुरुमा १० जना बालबालिकाबाट सुरु गर्दा केही कठिनाइ भयो । तर, प्रगति देखेपछि स्थानीय र बाहिरी जिल्लाबाट पनि अनुरोधहरू आउन थाले । त्यसैले हामी भवन विस्तार गर्दै छौं । जुन आगामी वर्षसम्ममा सम्पन्न हुनेछ । यसका लागि करिब १० करोड रुपैयाँ आवश्यक पर्छ । जसमध्ये ५०–६० प्रतिशत रकम जुटिसकेको छ । हामी विभिन्न सामाजिक र गैरनाफामुखी संस्थाहरूसँग पनि समन्वय गरिरहेका छौं । हामी आफैंले कामको थालनी गरेर एउटा उदाहरण देखाएका छौं । जसले गर्दा अरूलाई सहयोग गर्न सहज भएको छ । संसारा घर पूर्णरूपमा तयार भएपछि ५० जना बालबालिकालाई प्राथमिकदेखि उच्च माध्यमिक तहसम्म पढाउने हाम्रो लक्ष्य छ । साथै उनीहरूलाई प्राविधिक ज्ञान, नेतृत्व विकास र अन्य सीपमूलक तालिम पनि दिइनेछ ।

यसका लागि त दीर्घकालीन प्रतिबद्धता चाहिन्छ । भविष्यको योजना कस्तो छ ?
पक्कै पनि बालबालिकालाई बालवाडीदेखि उच्च विद्यालयसम्म पढाउन १२–१४ वर्ष लाग्छ । हामीले विभिन्न गैरनाफामुखी संस्था र रोटरी क्लबसँगको सहकार्यमा दीर्घकालीन स्रोत जुटाउने योजना बनाएका छौं । हालै सम्पन्न सहयोग संकलन कार्यक्रमबाट मात्रै २४ हजार डलर जुटेको छ ।

अहिले हामीले थप ३ रोपनी जग्गा पनि खरिद गरेका छौं । त्यहाँ भैंसी, बाख्रा र कुखुरा पालन गर्ने हाम्रो सोच छ । यसबाट बालबालिकाका लागि आवश्यक अर्गानिक खाना, मासु र अण्डा घरमै उत्पादन हुनेछ । यसले खर्च पनि बचत गर्नेछ । बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्नेछ । स्थानीय समुदायलाई पनि रोजगारी र प्राविधिक तालिममा जोड्ने हाम्रो लक्ष्य छ ।

तपाईंको सपरिवार यसमा संलग्न हुनुहुन्छ । आफ्नो आम्दानीको निश्चित प्रतिशत परोपकारी कार्यमा लगाउने निर्णय कसरी गर्नुभयो ?
यो निर्णय हामीले स्वतःस्फूर्त रूपमा गरेका हौं । हाम्री छोरी र हामी श्रीमान्–श्रीमती बसेर नेपालका सीमान्तकृत र दलित बालबालिकाका लागि केही गर्नुपर्छ भन्ने संकल्पका साथ अघि बढेका हौं ।

विदेशमा रहेका नेपालीहरू जो नेपालमा सेवा गर्न चाहनुहुन्छ उहाँहरूलाई मेरो सल्लाह छ– लक्षित समूहमा काम गर्ने विश्वसनीय संस्थासँग जोडिएर काम गर्नुहोस् । चुनौती र जोखिम त हुन्छन् नै । तर, धैर्य र विश्वासका साथ अघि बढे सफलता निश्चित छ ।

कार्यसम्पादनमा कस्ता अवरोध आइपर्छन् ?
परोपकारी काम गर्दा कहिलेकाहीं बाहिरी आलोचना खेप्नुपर्ने र स्पष्टीकरण दिनुपर्ने हुन्छ । सरकारी स्तरबाट झन्झटिलो प्रक्रिया हुँदा काम गर्न गाह्रो पर्छ । तर, पूर्ण समर्पणका साथ लाग्ने हो भने असम्भव केही छैन । नयाँ सरकारले सामाजिक कार्यमा सहजीकरण गरिदिनेछ भन्नेमा हामी आशावादी छौं ।





Source link

Leave a Comment