प्रकाशित मिति : १० असार २०८३, बुधबार

फोटो :एपी/रासस
भेनेजुएलाको राजधानी कराकासमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ ।
राजधानी कराकासमा केही सेकेन्डको अन्तरालमा दुईवटा शक्तिशाली धक्का महसुस गरिएको हो । पहिलो भूकम्प ७.२ रेक्टर स्केल र दोस्रो ७.५ रेक्टर स्केलको मापन गरिएको छ ।
भूकम्पका कारण राजधानीका विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन् । हजारौँ मानिस घरबाट बाहिर निस्केर सडकमा आश्रय लिन बाध्य भएका छन् ।
भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले नागरिकहरूलाई सुरक्षित स्थानमा जान तथा घर खाली गर्न आग्रह गरेका छन् ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार यस शक्तिशाली भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको ज्यान जान सक्ने आशंका गरिएको छ । यद्यपि, क्षतिको वास्तविक विवरण संकलन गर्ने कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।
भूकम्प स्थानीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा आएको थियो । उक्त समयमा देशभर राष्ट्रिय बिदा मनाइरहेकाले धेरै मानिस आफ्नै घरमा रहेको अनुमान गरिएको छ, जसले गर्दा मानवीय क्षति बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ ।
भूकम्पको केन्द्रबिन्दु कराकासको पश्चिममा रहेको मोन्टाल्बान क्षेत्रमा रहेको जनाइएको छ । राजधानीबाहेक त्रुजिलो, याराकुई, काराबोबो, अरागुआ, मिरान्डा तथा ला गुआइरा राज्यहरूमा पनि भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा धेरै भवनहरूमा चिरा परेको, केही संरचनाहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको तथा कतिपय भवन पूर्ण रूपमा ढलेको देखिन्छ । लगातार आइरहेका पराकम्प (आफ्टरसक) को डरका कारण हजारौँ बासिन्दा अझै घर फर्कन सकेका छैनन् ।
भूकम्पको प्रभाव छिमेकी देश कोलम्बियाको राजधानी बोगोटासम्म महसुस गरिएको बताइएको छ । प्रभावित क्षेत्रहरूको विस्तृत मूल्याङ्कन जारी रहेकाले क्षतिको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन ।
