विश्वकप फुटबल: ब्राजिल र मोरक्को नकआउट चरणमा



प्रकाशित मिति : १० असार २०८३, बुधबार

फोटो :एपी/रासस

पूर्व विश्वविजेता ब्राजिल फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको मियामी स्टेडियममा स्कटल्यान्डलाई ३–० को फराकिलो गोल अन्तरले हराउँदै ब्राजिल समूह ‘सी’ को विजेताका रूपमा नकआउट चरणमा पुगेको हो।

यो जितसँगै ब्राजिलको ७ अङ्क भएको छ। हारपछि स्कटल्यान्ड भने ३ अङ्कमै सीमित हुँदै तेस्रो स्थानमा झरेको छ र उसको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

स्कटल्यान्डमाथि सहज जित निकाल्ने क्रममा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

उनै भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसपछि खेलको ६०औँ मिनेटमा कुन्हाले गोल थप्दै टोलीको अग्रता ३–० को स्थितिमा पुर्‍याए।

यसै समूह ‘सी’ बाट मोरक्को पनि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ। मोरक्कोले हाइटीलाई पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो।

एटलान्टा रङ्गशालामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो। ब्राजिलसँग समान ७ अङ्क भए पनि मोरक्को ‘हेड–टु–हेड’ का आधारमा समूह उपविजेता बन्यो।

यस खेलमा दुई पटकसम्म अग्रता जोगाउन नसक्दा हाइटी प्रतियोगितामा जितविहीन बन्न पुग्यो। खेलको १० औँ  मिनेटमा आत्मघाती गोलमार्फत हाइटीले सुरुवाती अग्रता लिएको थियो।  

तर, ३९ औँ मिनेटमा मोरक्कोले बराबरी गोल फर्कायो। ४३ औँ मिनेटमा हाइटीले दोस्रो पटक अग्रता लिए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो। मोरक्कोले दुई पटक पछि परेको स्थिति उल्टाउँदै यो खेल जितेको हो।





Source link

Leave a Comment

Translate »