१५० दिन पुग्नै लाग्दा विदेशीमाथि दलालको आँखा ! अध्यागमन विभागले भन्यो – ‘प्रलोभनमा नपर्नुस्’



प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार


नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने गिरोह (दलाल) सक्रिय रहेको पाइएको छ। अध्ययन, व्यावसायिक र नाता भिसाको आवरणमा विदेशी नागरिकलाई भ्रममा पारेर रकम असुल्ने गिरोह सक्रिय भएपछि अध्यागमन विभागले विशेष सतर्कता अपनाउन अपिल गरेको छ।

विभागले एक सूचना जारी गर्दै अनधिकृत व्यक्ति वा बिचौलियाको भ्रममा नपर्न र भिसासम्बन्धी सम्पूर्ण सेवाहरू अनलाइन तथा आधिकारिक माध्यमबाट मात्र लिन आम सर्वसाधारण र विदेशी पर्यटकहरूलाई सचेत गराएको हो।

विभागको तथ्याङ्क अनुसार प्रत्येक वर्ष ‘जुन’ महिना सुरु भएपछि विदेशी नागरिकमाथि हुने ठगी र प्रलोभनका घटनाहरू डरलाग्दो गरी बढ्ने गरेका छन्।

अध्यागमन कानुन अनुसार विदेशी नागरिकले एक भिसा वर्षमा पर्यटक भिसामा अधिकतम १५० दिन मात्र नेपालमा बस्न पाउँछन्। उक्त १५० दिनको अवधि सकिनै लाग्दा नेपालमा थप समय बस्न चाहने विदेशीहरूलाई दलालहरूले सजिलै आफ्नो चङ्गुलमा पार्ने गरेको विभागको विश्लेषण छ।

“नेपाल बसाइको अवधि गैर कानुनी रूपमा लम्ब्याइदिने प्रलोभनमा परेर कतिपय विदेशी नागरिकहरू अन्जानमै अध्यागमन कानुनको उल्लङ्घन गर्न पुग्छन्”, विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालले भने , “जसका कारण उनीहरू गम्भीर कानुनी कारबाही भोग्न बाध्य भइरहेका छन्।”

हालै अध्ययन भिसा, गैर-पर्यटक (नाता/विवाह) भिसा र व्यावसायिक भिसासम्बन्धी कतिपय शङ्कास्पद घटनाहरूको अनुसन्धान गर्ने क्रममा दलालहरूले ठगी धन्दा चलाइरहेको रहस्य खुलेको हो।

विभागका अनुसार अनधिकृत व्यक्तिहरूले विदेशीहरूलाई ठग्न विभिन्न प्रपञ्चहरू रचिरहेका छन् । सेवाग्राहीका लागि नक्कली तथा झुटा कागजातहरू तयार पारिदिने, कानुन विपरीत नेपाल बसाइ थपिदिने झुटा आश्वासन दिने, सेवा शुल्कका नाममा विदेशी नागरिकहरूबाट मोटो रकम हडप्ने र कानुनी प्रक्रियाका बारेमा गलत जानकारी र परामर्श दिएर अलमल्याउने गरेको पाइएको विभागले जनाएको छ ।

यस्ता गतिविधिमा संलग्न गिरोह र बिचौलियाहरूमाथि विभागले कडा निगरानी राखिरहेको र दोषी पाइएमा कानुन बमोजिम हदैसम्मको कारबाही गरिने प्रवक्ता ढकालले बताए । 

अध्यागमन विभागले भिसा प्रणालीलाई आधुनिक, सरल र पारदर्शी बनाउन आफ्ना अधिकांश सेवाहरू अनलाइन तथा स्वचालित प्रणालीमार्फत सञ्चालन गरिरहेको छ। सेवा प्रवाहलाई अझ सहज र व्यवस्थित बनाउन ‘डिजिटल टाइम कार्ड’ प्रणाली समेत पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ।

“अहिलेको अत्याधुनिक प्रणालीमा भिसासम्बन्धी कुनै पनि सेवा प्राप्त गर्न कुनै तेस्रो पक्ष वा बिचौलियाको आवश्यकता नै पर्दैन”, प्रवक्ता ढकालले स्पष्ट पार्दै भने, “सेवाग्राहीले आफ्नै घर वा कार्यकक्षबाट सिधै अनलाइन आवेदन दिन सक्छन्।”

नेपालमा कानुनसम्मत रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूको सुरक्षा, अधिकार र वैध लगानीको संरक्षणप्रति विभाग सदैव प्रतिबद्ध रहेको सूचनामा उल्लेख छ।

विभागले भिसा उपलब्ध गराइदिने, अवधि थप गर्ने वा भिसाको प्रकार परिवर्तन (भिसा क्याटगोरी चेन्ज) गर्ने नाममा कुनै पनि अपरिचित वा अनधिकृत व्यक्तिलाई आफ्नो महत्त्वपूर्ण कागजात र रकम उपलब्ध नगराउन आग्रह गरेको छ । 





Source link

Leave a Comment

Translate »