प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार
Photo: Chris Weiher/ Unsplash
सन् २०२५ मा युरोपमा शरणार्थी र आश्रय खोज्नेहरूको संख्यामा स्थिरता आएको छ। एक दशकभन्दा लामो समयको वृद्धिपछि, लगातार दोस्रो वर्ष शरणार्थीका लागि दिइने आवेदनमा गिरावट आएको छ। बर्लिनस्थित रकवूल फाउन्डेसनको ‘सेन्टर फर रिसर्च एण्ड एनालिसिस अफ माइग्रेशन’ ले सार्वजनिक गरेको प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो।
प्रतिवेदनका अनुसार, सन् २०२५ मा युरोपियन युनियन र बेलायतमा शरणार्थी र आश्रय खोज्नेहरूको कुल संख्या ९५ लाख ९० हजार पुगेको छ। सन् २०२४ मा यो संख्या ९५ लाख ८० हजार थियो। रुस-युक्रेन युद्धपछि देखिएको तीव्र वृद्धिको तुलनामा यो संख्यामा धेरै परिवर्तन नआएकाले स्थितिलाई स्थिर मानिएको छ।
शरणार्थीका लागि दिइने आवेदनमा भने उल्लेख्य कमी आएको छ। सन् २०२३ मा ११ लाख र सन् २०२४ मा १० लाख १० हजार आवेदन परेकोमा सन् २०२५ मा घटेर ७ लाख ७० हजारमा सीमित भएको छ। संस्थाका उप-निर्देशक टोमासो फ्राटिनीले भने, “युरोपमा शरणार्थीको संख्यामा भइरहेको तीव्र वृद्धि अब अन्त्य भएको देखिन्छ।
यद्यपि, युरोपका सबै देशमा अवस्था समान छैन। जर्मनीमा शरणार्थीको संख्या ४.७ प्रतिशतले र इटालीमा १७.९ प्रतिशतले घटेको छ भने फ्रान्स, स्पेन र बेलायतमा भने अझै पनि वृद्धि देखिएको छ।
जर्मनीमा देखिएको गिरावटको मुख्य कारण नयाँ आगमनमा कमी आउनु र सिरियाली तथा इराकी नागरिकहरूले नागरिकता प्राप्त गर्नु रहेको प्रतिवेदनमा उल्लेख छ। सन् २०२४ को उत्तरार्धमा सिरियाको असद शासन ढलेपछि सिरियालीहरूद्वारा दिइने आवेदनमा ७० प्रतिशतले कमी आएको छ। अर्कोतर्फ, भेनेजुएलाबाट आउने आवेदन २४ प्रतिशतले बढेर ९१ हजार पुगेको छ। युरोपमा रहेका कुल शरणार्थीमध्ये आधा हिस्सा युक्रेनी नागरिकले ओगटेका छन्।
हालका वर्षहरूमा आप्रवासनको मुद्दा युरोपका धेरै देशहरूमा विवादास्पद बनेको छ र यसले दक्षिणपन्थी तथा लोकतान्त्रिक दलहरूको समर्थन बढ्नमा समेत भूमिका खेलेको छ।
