प्रकाशित मिति : ४ असार २०८३, बिहिबार

फोटो: सिन्ह्वा/रासस
मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा भएको सङ्घर्षपूर्ण जितसँगै सहआयोजक मेक्सिको राउन्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो।
खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै निर्णायक बनेको थियो। रोमोको त्यही निर्णायक गोलको मद्दतले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै सहआयोजक मेक्सिको अन्तिम ३२ मा पुग्ने पहिलो टोली बनेको हो। मेक्सिको समूह ‘ए’ को विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
खेल अवधिभर बलमा दक्षिण कोरियाको बढी पोजिसन भए पनि उसले गोल भने गर्न सकेन। समूह ‘ए’ बाट ६ अङ्क जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अङ्क जोडेको दक्षिण कोरियाको सम्भावना भने जीवितै रहेको छ। मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराएको थियो।
मेक्सिकोले अब समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकसँग खेल्न बाँकी छ। यस पटकको नकआउट चरणमा ४८ मध्ये ३२ टोली पुग्नेछन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुनेहरूमध्ये उत्कृष्ट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन्।
समूहको शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको मेक्सिकोले जुलाई १ मा मेक्सिको सिटीमा हुने राउन्ड अफ ३२ को खेलमा समूह सी, ई, एफ, एच वा आई मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०१८ को विश्वकपमा अन्तिम १६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा भने समूह चरणबाटै बाहिरिएको थियो।
