प्रकाशित मिति : ४ असार २०८३, बिहिबार

अर्जेन्टिनाका कप्तान लियोनेल मेसी बुवाको स्वास्थ्य अवस्थाबारे चिन्तित देखिएका छन्। अर्जेन्टिनी फुटबल सुपरस्टार मेसीका बुवा जर्ज मेसी स्वास्थ्यसम्बन्धी समस्याका कारण चिकित्सकीय निगरानीमा रहेको परिवारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
मेसीका बुवा चिकित्सकहरूको निगरानीमा रहेको र उनको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको बताइएको छ। उपचार प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढिरहेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि विश्वकपको उद्घाटन खेलमा अर्जेन्टिनाले अल्जेरियामाथि ३–० को जित हासिल गर्दा मेसीले आफ्नो पहिलो गोल गरेपछि भावुक हुँदै आँसु झारेका थिए। ३८ वर्षीय अर्जेन्टिनी कप्तानले त्यस खेलमा ह्याट्रिक पूरा गर्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोजसँग बराबरी गरेका थिए।
खेलपछि मेसीले आफ्नो भावुकताको कारण फुटबलसँग सम्बन्धित नभएको बताएका थिए। “म किन रोएँ भन्ने कुरा फुटबलसँग सम्बन्धित थिएन,” मेस्सीले भनेका थिए, “मैले केही कठिन दिनहरू सामना गर्नुपरेको थियो। तर सम्पूर्ण टोली र प्रतिनिधिमण्डलप्रति म आभारी छु, किनकि उनीहरूले सधैँ मेरो साथ दिएका थिए र त्यो कठिन समय पार गर्न धेरै हौसला प्रदान गरेका थिए।”
मेसीका बुवा जर्ज मेसीको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजीहरू सार्वजनिक भएपछि परिवारले त्यसप्रति असन्तुष्टि व्यक्त गरेको छ। परिवारले फैलाइएका अनुमान र अफवाहहरूलाई लिएर गहिरो असन्तुष्टि व्यक्त गरेको हो।
केही व्यक्तिहरूले पूर्ण रूपमा निजी पारिवारिक विषयलाई संवेदनशीलता, सम्मान र गोपनीयताको अभावका साथ प्रस्तुत गरेको परिवारले आरोप लगाएको छ।
परिवारले सबैलाई जिम्मेवारी, संयमता र मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्दै जर्ज मेसी तथा सम्पूर्ण परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ।
अर्जेन्टिनाले आफ्नो अर्को समूह चरणको खेल जुन २२ मा अस्ट्रियाविरुद्ध खेल्नेछ भने अन्तिम समूह खेल जुन २८ मा जोर्डनसँग हुनेछ। मेसीले टोलीको नेतृत्व गर्दै विश्वकप यात्रालाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
