प्रकाशित मिति : ३ असार २०८३, बुधबार
फोटो :एएफपी/रासस
फिफा विश्वकप फुटबल प्रतियोगितामा इङ्ल्यान्डले क्रोएसियालाई पराजित गरेको छ। यस जितसँगै इङ्ल्यान्डले समूह ‘एल’ मा महत्त्वपूर्ण ३ अंक जोडेको छ।
अमेरिकाको डालास रङ्गशालामा भएको खेलमा इङ्ल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो। इङ्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुई गोल गरे।
खेलको १२ औँ मिनेटमा इङ्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। तर, ३६ औँ मिनेटमा क्रोएसियाका मार्टिन बातुरिनाले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
४२ औँ मिनेटमा इङ्ल्यान्डका लागि ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै पुनः टोलीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाले जवाफी गोल फर्कायो। उसका लागि पेटार मुसाले गोल गरेपछि खेल पुनः २–२ को बराबरीमा पुग्यो।
दोस्रो हाफको सुरुवातमै अर्थात् खेलको ४७ औँ मिनेटमा जुड बेलिङघमले गोल गरेपछि इङ्ल्यान्डले खेलमा तेस्रो पटक अग्रता लियो। त्यसपछि खेलको ८५ औँ मिनेटमा मार्कस र्यासफोर्डले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरे। बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन र खेल इङ्ल्यान्डले ४–२ ले आफ्नो पक्षमा पार्यो।
