प्रकाशित मिति : ३ असार २०८३, बुधबार

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को उपाधिको दाबेदार मानिएको पोर्चुगल अंक बाँड्न बाध्य भएको छ। समूह ‘एल’अन्तर्गत भएको खेलमा पोर्चुगल र डीआर कंगोबीचको खेल बराबरीमा टुंगिएको हो।
५२ वर्षयता पहिलो पटक विश्वकप खेलिरहेको डीआर कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगललाई १–१ को बराबरीमा रोकेर विश्वकपमा अर्को अप्रत्याशित नतिजा निकालेको छ।
विश्वकप इतिहासमा कंगो टोलीको यो पहिलो अंक हो। यसअघि सन् १९७४ मा ‘जायर’को नामबाट खेल्दा टोलीले ३ खेलमा १४ गोल बेहोर्दै घर फर्कनु परेको थियो।
अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो। खेलको छैटौँ मिनेटमा जोआओ नेभेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको अधिकांश समय बल पोर्चुगलले आफ्नो नियन्त्रणमा राखेको थियो।
तर, पहिलो हाफको इन्जुरी समयको अन्तिम क्षणमा कंगोका योआने विस्साले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाएपछि खेल बराबरीमा पुग्यो।
लियोनेल मेसीपछि ६ वटा फरक-फरक विश्वकप खेल्ने खेलाडी बनेका रोनाल्डो विश्व फुटबलका सर्वाधिक गोलकर्ता हुन्। तर, उनी यस खेलमा गोल गर्न र आफ्नो टिमलाई जिताउन चुकेका छन्।
