प्रकाशित मिति : २ असार २०८३, मंगलबार
फोटो:एपी/रासस
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै ह्याट्रिक गरेका छन्। मेसीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले अल्जेरियालाई ३–० को गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको हो।
साविक विजेता अर्जेन्टिनाका कप्तान मेसीले अमेरिकाको कान्सास सिटी रङ्गशालामा भएको खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरे। उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका थिए। छैटौँ पटक विश्वकप खेलिरहेका मेसीको विश्वकप फुटबलमा यो नै पहिलो ह्याट्रिक हो।
यस ह्याट्रिकसँगै मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन्। विश्वकपमा कुल १६ गोल पुर्याउँदै मेसीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन्। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले यसै खेलबाट समूह ‘जे’ मा आफ्नो यात्रा सुरु गरेको छ।
अर्जेन्टिनी कप्तान लियोनल मेसीले छैटौँ पटक विश्वकप फुटबल खेलने अद्वितीय कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन्। उनी छैटौँ पटक विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी बनेका हुन्।
यसका साथै मेसीले अर्जेन्टिनाका लागि आफ्नो २००औँ अन्तर्राष्ट्रिय खेल (क्याप) पूरा गरेका छन्, जसका कारण यो खेल उनका लागि ऐतिहासिक बनेको छ।
अर्जेन्टिना र अल्जेरियाबीचको खेलको सुरुआती केही मिनेटमै दुवै टोलीले एक–एक पटक गोलको अवसर बनाए पनि ती प्रहारहरू अफसाइड भएकाले गोलले मान्यता पाएनन्।
अर्जेन्टिनाका लियोनल मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि अफसाइडका कारण तिनले गोलको मान्यता पाउन सकेनन्।
