प्रकाशित मिति : १ असार २०८३, सोमबार

उम्मेदवारहरू: सतिश चापागाईं, डा. ह्यारी भण्डारी, सोमनाथ घिमिरे र सराहना श्रेष्ठ।
अमेरिकाको आगामी निर्वाचन २०२६ मा नेपाली मूलका उम्मेदवारहरूले विभिन्न राज्यस्तरीय पदहरूमा उल्लेखनीय रूपमा उम्मेदवारी दिएका छन्। विशेषगरी मेरिल्याण्ड र न्यूयोर्कमा नेपाली समुदायको राजनीतिक सक्रियता तीव्र रूपमा बढेको देखिन्छ।
इतिहास रच्ने आशामा सतिश
मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ७ ‘ए’ बाट सतिश चापागाईंले डेमोक्रेटिक पार्टीका तर्फबाट प्राइमरी निर्वाचनमा उम्मेदवारी दिएका छन्। जुन २३, २०२६ मा हुने प्राइमरीलाई लक्षित गर्दै उनले घरदैलो, सामुदायिक भेटघाट र डिजिटल अभियान तीव्र पारेका छन्।
समर्पित सामुदायिक नेता, साना व्यवसायी र श्रमजीवी परिवारहरूको सेवा एवं समुदायको सुदृढीकरणका लागि प्रतिबद्ध अभियानकर्ताका रूपमा चापागाईं चुनावी मैदानमा उत्रिएका हुन्। सार्वजनिक सेवा, शिक्षा र सामुदायिक संलग्नताको अनुभवका साथ उनी किफायती जीवनशैली, सुरक्षित छिमेक र आर्थिक वृद्धिलाई सहयोग गर्ने व्यवहारिक समाधानहरूमा केन्द्रित छन्।
मेरिल्याण्ड डेमोक्रेटिक पार्टी सेन्ट्रल कमिटीको निर्वाचित सदस्य (२०२२–२०२६) का रूपमा उनले स्थानीय बासिन्दाहरूका समस्या बुझ्न र उनीहरूको हितको प्रतिनिधित्व गर्न नजिक रहेर कार्य गरिसकेका छन्। यसका साथै, बाल्टिमोर काउन्टी पब्लिक स्कूल्समा दोभाषेका रूपमा काम गरेको पृष्ठभूमिले उनलाई विभिन्न परिवार र समुदायका विविध आवश्यकताहरू नजिकबाट बुझ्ने मूल्यवान अनुभव प्रदान गरेको छ।
आफ्नो व्यावसायिक र सामुदायिक कार्यभन्दा बाहिर उनी एक सम्पादक, कवि र गीतकार पनि हुन्, जसले संस्कृति, सिर्जनशीलता र अर्थपूर्ण संवादलाई उच्च महत्त्व दिन्छन्।
आफ्नो चुनावी अभियान र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धताबारे सतिश चापागाईं आफ्नो वेवसाइटमार्फत भन्छन्: “मेरिल्याण्डभरिका परिवारहरू अहिले आफ्नो दैनिक जीवनलाई प्रत्यक्ष असर गर्ने आधारभूत मुद्दाहरूका बारेमा सोचिरहेका छन्—जस्तै खाद्यान्नको जोहो, बढ्दो इन्धनको मूल्य, बालबालिकाको शिक्षा र एउटा स्थिर भविष्यको निर्माण। यी नै हाम्रा समुदायलाई आकार दिने मुख्य चासोहरू हुन् र सार्वजनिक सेवामा रहेकाहरूबाट यिनले वास्तविक ध्यान पाउनु आवश्यक छ।”
स्टेट डेलिगेटका रूपमा उम्मेदवारी दिनुको कारण खुलाउँदै उनले थपे: “राज्य प्रतिनिधिका लागि चुनाव लड्ने मेरो निर्णय सेवाप्रतिको गहिरो प्रतिबद्धता र सार्वजनिक नेतृत्व इमानदारिता, जिम्मेवारी एवं मेरिल्याण्डका जनताप्रतिको सम्मानमा आधारित हुनुपर्छ भन्ने विश्वासबाट प्रेरित छ। म अवसरहरूको विस्तार गर्ने, जिम्मेवार विकासलाई प्रोत्साहन गर्ने र परिवार, विद्यार्थी एवं स्थानीय व्यवसायहरूले सफलताका लागि आवश्यक स्रोतहरू पाउने नीतिहरूलाई समर्थन गर्दै हाम्रा समुदायहरूलाई बलियो बनाउन मद्दत गर्न चाहन्छु।”
नेतृत्वको दूरदृष्टाइबारे प्रस्ट पार्दै चापागाईंले भने: “मेरिल्याण्डवासीहरू भविष्यमा केन्द्रित नेतृत्वका हकदार छन्—जसले सहकार्य, पारदर्शिता र विचारशील निर्णय प्रक्रियालाई महत्त्व दिन्छ। म त्यही दृष्टिकोणमा योगदान पुर्याउन र आगामी पुस्ताका लागि अझ बलियो एवं उत्थानशील मेरिल्याण्ड निर्माण गर्न डिस्ट्रिक्ट ७ ‘ए’ का बासिन्दाहरूसँग मिलेर काम गर्न चुनावमा होमिएको हुँ।”
विरासत जोगाउँदै ह्यारी
यसै मेरिल्याण्ड राज्यको छिमेकी डिस्ट्रिक्ट ८ बाट डा. ह्यारी भण्डारी पुनः उम्मेदवारी दिँदै बहालवाला उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन्। सन् २०१८ मा मेरिल्याण्डको पहिलो नेपाली अमेरिकन स्टेट लेजिस्लेटर बनेर भण्डारीले इतिहास रचेका थिए। उनी शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, र श्रमिक तथा श्रमजीवी परिवारका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका छन्। समुदायसँगको निरन्तर संवाद र नीति निर्माणमा सक्रिय सहभागिताका कारण उनी अनुभवी र प्रभावशाली नेताका रूपमा स्थापित छन्।
आफ्नो चुनावी अभियान र नेपाली समुदायको राजनीतिक मूलधार यात्राबारे डा. भण्डारी भन्छन्: “अमेरिकामा नेपाली अमेरिकन समुदाय संख्यात्मक रूपमा सानो भए तापनि यो यहाँको सबैभन्दा तीव्र गतिमा बढिरहेको आप्रवासी समुदाय हो। हामीमध्ये अधिकांश नेपालीहरू यहाँ एउटा सुन्दर सपना लिएर आयौँ—कसैको शिक्षा, कसैको अवसर त कसैको स्वतन्त्रताको सपना होला। तर, हामी सबैको साझा र मुख्य उद्देश्य भनेको आफ्नो परिवारको उज्ज्वल भविष्य नै हो।”
उनले अमेरिकाको हिस्सा बन्नु भनेको यहाँको लोकतान्त्रिक प्रक्रियामा सामेल हुनु भएको स्पष्ट पार्दै थपे: “जब नेपालीहरूले मतदान गर्छन्, संगठित हुन्छन्, स्वयंसेवा गर्छन् र चुनावी प्रतिस्पर्धामा उत्रिन्छन्, तब मात्र हाम्रो समुदाय समाजमा देखिन थाल्छ र हाम्रो उपस्थिति महसुस हुन्छ। शिक्षा, साना व्यवसाय, अध्यागमन, स्वास्थ्य सेवा, जनसुरक्षा, आवास र भाषाई पहुँचदेखि लिएर हाम्रा बालबालिकाको अवसरका सवालहरूसम्म—हाम्रो दैनिक जीवनलाई असर गर्ने हरेक मुद्दामा हाम्रो आवाज तब मात्र सुनिनेछ।”
राजनीतिक प्रतिनिधित्वलाई आगामी पुस्ताका लागि ढोका खोल्ने माध्यमका रूपमा व्याख्या गर्दै डा. भण्डारीले आफ्नो विगत सम्झिए: “म आफ्नै विगत सम्झिन्छु—जब म पहिलो पटक चुनावमा उठेँ, त्यो समय निकै चुनौतीपूर्ण र कठिन थियो। तर बिस्तारै-बिस्तारै शैक्षिक, कानुनी, भाषाई र राजनीतिक समायोजन हुँदै गयो। आज धेरै साथीहरू अगाडि आउनुभएको छ र स्थानीय तहमा प्रतिनिधित्व गरिरहनुभएको छ। यसको प्रत्यक्ष प्रभाव पर्छ। समाजका लागि ‘रोल मोडल’ बन्नु निकै महत्त्वपूर्ण कुरा हो।”
आफूहरू यस देशमा केवल पाहुना मात्र नभएर करदाता, अभिभावक, श्रमिक, शिक्षक, उद्यमी र सार्वजनिक सेवकका रूपमा योगदानकर्ता भएको उल्लेख गर्दै डा. भण्डारीले मूलधारको राजनीतिको महत्त्वबारे प्रस्ट पारे: “मूलधारको राजनीति किन महत्त्वपूर्ण छ भने, यहीँबाट नै देशको कानुन, बजेट, नीति र स्रोतसाधनको बाँडफाँड तय हुन्छ। यदि हामी हाम्रो समुदायका आवश्यकता र सरोकारहरूलाई सम्मान गराउन चाहन्छौँ भने हामीले पूर्ण रूपमा सहभागी हुनैपर्छ। उदाहरणका लागि, मैले मेरिल्याण्डको बाल्टिमोर क्षेत्रमा मात्र नेपाली समुदायका लागि साढे ९ लाख डलर बजेट ल्याउन सफल भएँ, जबकि मेरो समग्र डिस्ट्रिक्टका लागि मैले १५० मिलियन डलरभन्दा बढी बजेट ल्याएको थिएँ। यो कामबाट सिकेर अहिले भर्जिनिया लगायत अन्य राज्यहरूमा पनि बजेटका लागि प्रयासहरू हुन थालेका छन्।”
सोमनाथको संकल्प
न्यूयोर्क राज्यमा पनि नेपाली मूलका उम्मेदवारहरूको उपस्थिति बलियो देखिएको छ। क्वीन्सको डिस्ट्रिक्ट ३० बाट सोमनाथ घिमिरेले डेमोक्रेटिक प्राइमरीमा उम्मेदवारी दिएका छन्। जुन २३, २०२६ मा प्राइमरी निर्वाचन हुने तय भएको छ ।
उडसाइड क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका घिमिरे विभिन्न सङ्घ–संस्थामा लामो समयदेखि सक्रिय सामाजिक अभियन्ता र संगठकका रूपमा परिचित छन्। आफ्नो लामो सामुदायिक अनुभवलाई अल्बानीको नीति निर्माणमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाउँदै सोमनाथ घिमिरे भन्छन्: “वास्तवमा यो रूपान्तरण, अर्थात् परिवर्तनकै लागि मैले उम्मेदवारी दिएको हुँ। मेरो निर्वाचन क्षेत्र ३० अन्तर्गत पर्ने उडसाइड र आसपासका क्षेत्रका हाम्रा निम्न तथा मध्यमवर्गीय बासिन्दाहरू—जसलाई हामी श्रमजीवी परिवारहरू भन्छौँ—तिनीहरूको उत्थानका लागि अल्बानीबाट आवश्यक स्रोत–साधनहरू ल्याउनु मेरो मुख्य प्रतिबद्धता रहनेछ।”
आधा दर्जनभन्दा बढी भाषा बोल्न सक्ने क्षमता र सन् २०२० को जनगणनामा काम गरेको अनुभवलाई उनले आफ्नो सबल पक्ष मानेका छन्। विविधतायुक्त मतदातामाझ भाषिक पहुँच सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको बताउँदै उनले थपे: “राज्यको मूल प्रवाहमा पछाडि परेका अल्पसङ्ख्यक समुदायहरूमा नेपाली समुदाय पनि पर्दछ। त्यसैले मैले खेल्ने मुख्य भूमिका भनेकै भाषिक पहुँच सुनिश्चित गर्नु हो। अब आउने सन् २०३० को जनगणनामा हाम्रो नेपाली समुदायको सही र पूर्ण गणना होस् र कसैको पनि न्यून–गणना नहोस् भन्ने उद्देश्यले नेपाली भाषामै विशेष पुस्तिका वा सामग्रीहरू प्रकाशन गर्ने मेरो सोच छ।”
आवास नीतिका सन्दर्भमा आफ्नो दृष्टिकोण प्रस्ट पार्दै घिमिरेले खराब घरबेटीहरूका विरुद्ध कडा कदम चाल्ने र भाडावालको अधिकारका लागि लड्ने बताए। साथै असल घरबेटी र भाडावालबीच सन्तुलित सम्बन्ध कायम गर्ने र ‘धनी घरबेटीहरू अझ धनी हुँदै जाने’ प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यस्तरमा नियमन आवश्यक रहेको उनको धारणा छ।
शिक्षा र युवालक्षित कार्यक्रमका लागि अल्बानीबाट विशेष बजेट ल्याउने योजना सुनाउँदै उनले भने: “दक्षिण एसियाली विद्यार्थीहरू अध्ययन गर्ने विद्यालयहरूमा समान पहुँच सुनिश्चित गर्न प्राथमिकताका साथ बजेट ल्याइनेछ। युवाहरूमा बढ्दो मानसिक स्वास्थ्य सङ्कट समाधानका लागि प्रत्येक सार्वजनिक उच्च विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी आधा वा एक घण्टाको छुट्टै कक्षा सञ्चालन गर्ने र विशेषज्ञहरू मार्फत अभिमुखीकरण गराउने मेरो योजना छ।”
कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा रहेर ज्यान जोखिममा राखी काम गरेको अनुभवले स्वास्थ्य सेवा सुधारमा मद्दत पुग्ने उनी बताउँछन्। एल्महर्स्ट अस्पताल जस्ता सरकारी अस्पतालहरूमा आपत्कालीन अवस्थामा भोग्नुपर्ने लामो पर्खाइलाई व्यवस्थित गर्न बैंकिङ प्रणाली जस्तै ‘लाइन व्यवस्थापन प्रणाली’ लागू गर्ने प्रस्ताव उनले अघि सारेका छन्। सार्वजनिक सुरक्षाका लागि उनले प्रहरी, समुदायका नेता, र निर्वाचित प्रतिनिधि सम्मिलित ‘सार्वजनिक सुरक्षाका लागि त्रिकोण’ अवधारणा अघि सारेका छन्, जसले मासिक बैठक बसी अपराध नियन्त्रणको रणनीति बनाउनेछ।
प्रतिस्पर्धीहरू शम्सुल हक र प्याट्रिक मार्टिनेज भन्दा आफ्नो उम्मेदवारी किन बलियो छ भन्नेबारे घिमिरे भन्छन्: “मैले आफ्नो उम्मेदवारी उनीहरूभन्दा अघि नै घोषणा गरेको थिएँ। अरू प्रतिस्पर्धीहरूले पछि अवसर देखेर प्रवेश गर्नुभएको हो। कोरोना महामारीका बेला मैले अग्रपङ्क्तिमा रहेर समुदायको सेवा गर्दा अरू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न उठ्छ।”
मतदाताको उपस्थिति बढाउन ११ वटा सवारीसाधनमार्फत निःशुल्क यातायातको व्यवस्था गरिएको जानकारी दिँदै घिमिरेले मतदान प्रजातन्त्रको सबैभन्दा बलियो आधार भएकाले सबैलाई सहभागी हुन आह्वान गरे। निर्वाचित भएपछि पनि जनतासँग निरन्तर जोडिरहने र प्रत्येक साताको अन्त्यमा आफ्नो क्षेत्रमा बसेर प्रत्यक्ष संवाद गर्ने वाचा उनले गरे। नेपाली समुदायबाट सुरुमा ४०-४५ प्रतिशत समर्थन रहेकोमा अहिले त्यो बढेर ६०-६५ प्रतिशत पुगेको र बाँकीले पनि अप्रत्यक्ष साथ दिइरहेको उनले बताए।
निर्विरोध प्राइमरी पार गर्दै सराहना श्रेष्ठ
अर्कोतर्फ, सराहना श्रेष्ठ न्यूयोर्क स्टेट एसेम्बली डिस्ट्रिक्ट १०३ बाट पुनः निर्वाचनमा प्रतिस्पर्धा गर्दैछिन्। सन् २०२२ को नोभेम्बरमा निर्वाचित भई जनवरी १, २०२३ देखि कार्यभार सम्हालेकी श्रेष्ठ हाल बहालवाला का रूपमा आफ्नो कार्यकाललाई निरन्तरता दिने चुनावी मैदानमा छिन्। उनको हालको कार्यकाल जनवरी १, २०२७ मा समाप्त हुँदैछ।
यस निर्वाचनमा डेमोक्रेटिक पार्टी र वर्किङ फेमिलिज पार्टी दुवैको बलियो समर्थन प्राप्त गरेकी श्रेष्ठका लागि जुन २३, २०२६ का लागि तय भएको प्राइमरी निर्वाचन निर्विरोध भएका कारण रद्द भइसकेको छ।
नेपालको काठमाडौँमा जन्मिएकी श्रेष्ठ हाल न्यूयोर्कको इसोपसमा बस्छिन्। कम्प्युटर ग्राफिक्सको अध्ययन गरेकी उनले लामो समय ग्राफिक्स डिजाइनरका रूपमा व्यावसायिक अनुभव सँगालेकी छन्। अमेरिकाको राजनीतिक परिदृश्यमा उनी एक प्रखर प्रगतिशील नेतृका रूपमा स्थापित छिन्। उनी ‘डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिका’ को मिड-हडसन भ्याली च्याप्टरका लागि अलस्टर काउन्टीको को-चेयर र राज्यव्यापी ‘पब्लिक पावर एनवाई’ गठबन्धनको प्रमुख अभियानकर्ताका रूपमा सक्रिय रहँदै मूलधारको राजनीतिमा प्रवेश गरेकी हुन्।
एसेम्बली मेम्बरका रूपमा श्रेष्ठले सन् २०२३ देखि २०२६ को कार्यकालमा न्यूयोर्क राज्यका अत्यन्त महत्त्वपूर्ण संसदीय समितिहरूमा रहेर काम गरिरहेकी छन्। उनी एजिङ (ज्येष्ठ नागरिक) कमिटी, इनर्जी (ऊर्जा) कमिटी, लोकल गभर्नमेन्टस् (स्थानीय सरकार) कमिटी, टुरिजम, पार्क्स, आर्ट्स एन्ड स्पोर्ट्स डेभलपमेन्ट कमिटी, र ट्रान्सपोर्टेशन (यातायात) कमिटीमा सक्रिय छिन्।
नीति निर्माण तहमा श्रेष्ठको सक्रियता उदाहरणीय मानिन्छ। हालैका महिनाहरूमा उनले राज्य विधान सभामा धेरै जनपक्षीय र दूरगामी विधेयकहरू दर्ता र अगाडि बढाएकी छन् । उनले ‘रेस्पोन्सिबल डाटा सेन्टर डेभलपमेन्ट एक्ट’ मार्फत डाटा सेन्टरहरूको ऊर्जा दक्षता र पर्यावरणमा पर्ने प्रभावको नियमन गर्ने विधेयक ल्याएकी छन्। साथै, इलेक्ट्रिक ग्रिड उपयोगिता मेट्रिक्स र उन्नत प्रसारण प्रविधि सम्बन्धी विधेयक अघि सारेकी छन्।
उनले एआई प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण नियमनको पहल गर्दै समाचार माध्यममा जेनेरेटिभ एआईको प्रयोग पारदर्शी बनाउन र नाबालकहरूका लागि असुरक्षित एआईहरूलाई प्रतिबन्ध लगाउने विधेयक दर्ता गराएकी छन्। अस्थायी आवासमा बस्नेहरूका लागि नि:शुल्क वाइफाइ र इन्टरनेट पहुँच सुनिश्चित गर्ने, उपभोक्ता र रोजगार संरक्षणका लागि ‘डिस्क्रिमिनेटोरी प्राइसिङ एक्ट’ र विद्यालयका पुस्तकालयहरूमा पुस्तकहरूमाथि हुने प्रतिबन्ध विरुद्ध “फ्रीडम टु रीड एक्ट” जस्ता विधेयकहरू उनले प्रायोजन गरेकी छन्।
जलवायु न्याय, कामदार वर्गको अधिकार, लैंगिक समानता र उपभोक्ता हितका मुद्दामा स्पष्ट धारणा राख्ने श्रेष्ठको नीति निर्माण र समुदायसँगको प्रत्यक्ष संलग्नतालाई न्यूयोर्कको राजनीतिमा निकै उल्लेखनीय मानिन्छ।
नेपाली अमेरिकन समुदायले यी उम्मेदवारहरूलाई व्यापक समर्थन गरिरहेको छ। अमेरिकामा नेपाली मूलका मानिसहरूको जनसंख्या तीव्र रूपमा बढे पनि राजनीतिक प्रतिनिधित्व अझै सीमित छ। यस्ता उम्मेदवारहरूको उदयले समुदायको आवाज राज्यस्तरमा अझ प्रभावकारी रूपमा पुर्याउने अपेक्षा गरिएको छ।
