News Summary
Generated by OK AI. Editorially reviewed.
- मेक्सिकन स्ट्राइकर राउल जिमिनेजले दक्षिण अफ्रिकाविरुद्ध फिफा विश्वकपको उद्घाटन खेलमा गोल गर्दै ३५ वर्षको उमेरमा पहिलो विश्वकप गोल गरे ।
- सन् २०२० मा खप्पर भाँचिने गम्भीर चोट व्यहोरेका जिमिनेजले विशेष सुरक्षात्मक हेडब्यान्ड लगाएर मैदान फर्कँदै ऐतिहासिक पुनरागमन गरे ।
- यो गोलसँगै उनी ४६ गोलसहित मेक्सिकोका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा उक्लिए ।
विश्वकपको उद्घाटन खेल चलिरहेको थियो । मेक्सिको सिटीको ऐतिहासिक एज्टेका स्टेडियममा ८० हजारभन्दा बढी समर्थकको गर्जन गुञ्जिरहेको थियो ।
घरेलु टोली मेक्सिको दक्षिण अफ्रिकाविरुद्ध १–० ले अगाडि थियो ।
खेलको ६७औँ मिनेटमा रोबर्टो अल्भाराडोले दायाँ किनाराबाट क्रस गरे । पेनाल्टी क्षेत्रमा राउल जिमिनेज उफ्रिए । उनको शक्तिशाली हेडर जालीभित्र पुग्यो ।
गोल । स्टेडियम विस्फोट भएझैँ गर्यो ।
तर, त्यसपछि देखिएको दृश्य केवल फुटबलको उत्सव थिएन । भावुक क्षण पनि बन्यो ।
जिमिनेजले दुवै हात फैलाए । आकाशतर्फ औँला उठाए । र, केही सेकेन्डमै उनका आँखा रसाए । टोलीका साथीहरू उनलाई अँगाल्न दौडिरहेका थिए, तर उनी भने भावनामा डुबेका थिए ।
भावुक हुँदै उनका आँखाबाट आँसु झर्न थाले ।
प्रतियोगिताको नवौँ मिनेटमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका जुलियन किन्योनेसले भने, …हामीले उनलाई विशेष रूपमा बधाई दियौं, किनभने उनले टोलीका लागि धेरै योगदान दिएका छन् । राष्ट्रिय टोलीको हिस्सा हुनु हाम्रो गर्व हो, र उनले राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या अझै बढाइरहेका छन् भन्ने कुरा साँच्चै अद्भुत छ ।’
पाँच वर्षअघि मृत्युको मुखबाट फर्किएका खेलाडीका लागि त्यो गोल एउटा साधारण गोल थिएन । त्यो जीवनले दिएको दोस्रो अवसरको प्रमाण थियो ।
आँसुमा मिसिएको सम्झना
गोल गरेपछि जिमिनेजले आकाशतर्फ हेरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई केही महिनाअघि निधन भएका उनका बुबाप्रतिको सम्मानका रूपमा व्याख्या गरे ।
स्पेनिस सञ्चारमाध्यमहरूले यसलाई विश्वकपको सबैभन्दा भावुक क्षणमध्ये एक भनेका छन् ।
विश्वकपअघि नै जिमिनेजले आफ्नो बुबाको निधनले आफूलाई गहिरो असर पारेको बताएका थिए ।
उनले एक अन्तर्वार्तामा बुबा आफूले हासिल गरेको सफलताप्रति गर्व गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैले, दक्षिण अफ्रिकाविरुद्धको गोल केवल मेक्सिकोको दोस्रो गोल थिएन । त्यो एउटा छोराले आफ्ना दिवंगत बुबालाई समर्पण गरेको क्षण पनि थियो ।
जब एक ठक्करले सबै कुरा बदलिदियो…………..
आज विश्वकपमा गोल गरिरहेका जिमिनेजलाई हेर्दा विश्वास गर्न गाह्रो लाग्छ, एक समय उनको जीवन नै जोखिममा परेको थियो ।
सन् २०२० को नोभेम्बर २९ मा इंग्लिस प्रिमियर लिगअन्तर्गत वल्भ्स र आर्सनलबीचको खेल चलिरहेको थियो । खेलको सुरुवाती मिनेटमै कर्नरको क्रममा जिमिनेज र आर्सनलका डिफेन्डर डेभिड लुइजबीच टाउको ठोक्कियो ।
ठक्कर अत्यन्त जोडको थियो ।
जिमिनेज मैदानमै बेहोस भए । चिकित्सकहरू तत्काल मैदानमा पुगे । उनलाई अक्सिजन दिइयो । स्टेडियमभरि सन्नाटा छायो । टेलिभिजन हेर्ने लाखौँ समर्थक स्तब्ध बने । कसैले पनि त्यो दृश्य सजिलै बिर्सन सकेनन् ।
पछि परीक्षण गर्दा उनको खप्पर भाँचिएको पुष्टि भयो । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । त्यतिबेला चिकित्सकहरूका लागि पहिलो प्राथमिकता फुटबल होइन, उनको जीवन बचाउनु थियो ।
उनको परिवार, साथीभाइ र समर्थकले त्यतिबेला एउटै प्रश्न गरिरहेका थिए, के राउल जिमिनेज फेरि सामान्य जीवनमा फर्किन सक्नेछन् ?
लामो पुनस्र्थापनाको कठिन यात्रा
शल्यक्रियापछि जिमिनेजले महिनौँ अस्पताल र पुनस्र्थापना केन्द्रमा बिताए ।
उनी लामो समयसम्म अन्य खेलाडीसँग प्रशिक्षण लिन पाएनन् । चिकित्सकहरूले अत्यन्त सावधानी अपनाउन सुझाव दिएका थिए । चोटको प्रभाव केवल शारीरिक थिएन, मानसिक रूपमा पनि त्यो समय चुनौतीपूर्ण थियो ।
एक स्ट्राइकरका लागि हेडिङ खेलको महत्वपूर्ण हिस्सा हो । तर टाउकोमै गम्भीर चोट भोगिसकेपछि फेरि त्यही परिस्थितिमा आत्मविश्वासका साथ उभिनु सजिलो थिएन ।
विश्व फुटबलमा धेरै खेलाडी यस्ता चोट निको पारेर फर्किएका छन्, तर जिमिनेजको अवस्था फरक थियो । उनको करियरमात्र होइन, जीवन नै जोखिममा परेको थियो ।
यही कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनको पुनरागमनलाई …फुटबलको सबैभन्दा प्रेरणादायी कमब्याकमध्ये एकÚ भनेर वर्णन गरेका छन् ।
हेडब्यान्डभित्र लुकेको संघर्ष
दुर्घटनापछि मैदानमा फर्किँदा जिमिनेजले विशेष सुरक्षात्मक हेडब्यान्ड लगाउन थाले । आज पनि उनी त्यही हेडब्यान्डसहित खेल्छन् ।
त्यो केवल सुरक्षा उपकरण मात्र होइन, उनले पार गरेको कठिन यात्राको सम्झना पनि हो । सन् २०२० को भीषण चोटपछि एक समय उनको फुटबल करियर नै समाप्त हुन सक्ने आशंका गरिएको थियो। फेरि व्यावसायिक फुटबल खेल्न सक्ने कि नसक्ने भन्ने प्रश्नसमेत उठेको थियो ।
तर आज विश्वकपको मञ्चमा उभिएका जिमिनेजले त्यो अनिश्चिततालाई पछाडि छोडिसकेका छन् । त्यसैले, उनको टाउकोमा बाँधिएको हेडब्यान्डले केवल चोटबाट सुरक्षा मात्र गर्दैन, जीवनको सबैभन्दा कठिन परीक्षामाथि प्राप्त गरेको विजयलाई पनि सम्झाइरहन्छ ।
वुल्भ्समा चम्किएको करियर
जिमिनेजको युरोपेली यात्रा निकै उतारचढावपूर्ण रह्यो ।
मेक्सिकोको क्लब अमेरिका हुँदै उनी एट्लेटिको म्याड्रिड पुगे । त्यहाँबाट बेन्फिकामा गए । तर उनको करियरले वास्तविक उचाइ भने वुल्भ्समा पुगेर लियो ।
सन् २०१८ मा वुल्भ्स पुगेपछि उनले लगातार गोल गर्न थाले । प्रिमियर लिगका डिफेन्डरहरूलाई समस्यामा पार्ने उनको क्षमता, हेडिङ र बल नियन्त्रणका कारण उनी टोलीका मुख्य खेलाडी बने ।
सन् २०१९–२० मा उनी करियरकै उत्कृष्ट लयमा थिए । त्यही समयमा आएको दुर्घटनाले उनको यात्रालाई रोकिदियो ।
विश्वकपमा विशेष क्षण
जिमिनेजले २०१४, २०१८ र २०२२ विश्वकप खेलेका थिए । तर ती विश्वकपहरूमा उनी प्रायः बेन्चबाट मैदान प्रवेश गर्ने खेलाडी थिए ।
वास्तवमा, दक्षिण अफ्रिकाविरुद्धको खेल नै उनको पहिलो विश्वकप सुरुआती खेल थियो । ३५ वर्षको उमेरमा आएर मात्र उनले पहिलो पटक पहिलो रोजाईँमा विश्वकपमा खेल्ने अवसर पाए ।
धेरै खेलाडीका लागि ३५ वर्ष करियरको अन्त्यतिरको समय मानिन्छ ।
तर जिमिनेजका लागि यही उमेरमा विश्वकपको सबैभन्दा विशेष क्षण आयो ।
इतिहासमा दर्ज भएको गोल
जिमिनेजका लागि दक्षिण अफ्रिकाविरुद्धको त्यो गोल केवल राष्ट्रिय टोलीका लागि गरेको ४६औँ गोल मात्र थिएन । २०१४, २०१८ र २०२२ का तीन विश्वकपमा गोल गर्न नसकेका उनले चौथो प्रयासमा विश्वकपको मञ्चमा पहिलो पटक जाली चुमाए ।
३५ वर्षको उमेरमा आएको त्यो गोलले वर्षौंको प्रतीक्षा अन्त्य ग¥यो ।
एक समय गम्भीर टाउको चोटका कारण करियर नै समाप्त हुन सक्ने अवस्थाबाट गुज्रिएका जिमिनेजका लागि त्यो क्षण व्यक्तिगत विजय पनि थियो । त्यसै, गोलसँगै उनी ४६ गोलसहित मेक्सिकोका सर्वाधिक गोलकर्ता सूचीमा संयुक्त दोस्रो स्थानमा पुगे ।
गोल गरेपछि भावुक बनेका जिमिनेजको तस्बिर र प्रतिक्रिया विश्वभरका सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित भए । मृत्युको मुखबाट फर्किएर विश्वकपमा पहिलो गोल गर्ने उनको यात्राले धेरै समर्थकलाई भावुक बनायो र उद्घाटन खेलको स्मरणीय क्षणमध्ये एकका रूपमा स्थान बनायो ।
मेक्सिकोको जितभन्दा बढी चर्चा जिमिनेजको
मेक्सिकोको जितभन्दा पनि धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जिमिनेजको व्यक्तिगत यात्रालाई प्राथमिकता दिए ।
बीबीसीले उनको गोललाई …एक समय असम्भवजस्तो देखिएको क्षण भनेर वर्णन गर्यो । विश्वकपमा गोल गरेपछि आँसु झारेका जिमिनेजको तस्बीर धेरै अन्तर्राष्ट्रिय पत्रपत्रिकाको मुख्य समाचार बन्यो ।
स्पेनिस पत्रिका एल पाइसले उनको गोललाई …फुटबलिङ रिडेम्प्सन अर्थात् फुटबलमार्फत पुनस्र्थापना प्राप्त गरेको क्षण भनेको छ ।
सामाजिक सञ्जालमा हजारौँ समर्थकले उनको संघर्षको चर्चा गर्दै उनलाई …साँचो लडाकुको संज्ञा दिएका छन् ।
अझै बाँकी छ यात्रा…….
दक्षिण अफ्रिकाविरुद्धको जितसँगै मेक्सिकोले घरेलु विश्वकपमा विजयी सुरुवात गरेको छ । टोलीको लक्ष्य अब समूह चरण पार गरेर धेरै टाढासम्म पुग्नेछ ।
जिमिनेजका लागि पनि यो अन्तिम अध्याय होइन । ३५ वर्षको उमेरमा उनी अझै राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक छन् ।
विश्वकपमा थप गोल गर्ने अवसर उनीसँग अझै छ ।
तर भविष्यमा जे भए पनि एज्टेका स्टेडियममा २०२६ जुन ११ मा भएको त्यो क्षण मेक्सिकन फुटबलको स्मृतिमा लामो समयसम्म जीवित रहनेछ ।
किनभने त्यो दिन राउल जिमिनेजले केवल गोल गरेका थिएनन् । उनले संसारलाई स्मरण गराएका थिए, कहिलेकाहीँ जीवनले सबै ढोका बन्द गरेजस्तो देखिए पनि, दृढता र विश्वासले एउटा नयाँ ढोका खोल्न सक्छ । र, त्यो ढोकाबाट छिरेपछि मानिस फेरि एकपटक इतिहास लेख्न सक्षम हुन्छ ।
