गोर्खाली नेपाली रेस्टुरेन्ट : न्युयोर्कमा नेपाली स्वादको अडिग यात्रा



प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहिबार

गोर्खाली नेपाली रेस्टुरेन्ट : न्युयोर्कमा नेपाली स्वादको अडिग यात्रा

न्युयोर्कजस्तो व्यस्त र प्रतिस्पर्धात्मक सहरमा एउटा रेस्टुरेन्ट खोल्नु मात्र पनि ठूलो चुनौती हो । त्यसमा पनि नयाँ आप्रवासी समुदायले आफ्नो देशको परम्परागत स्वादलाई जोगाउँदै व्यवसाय सुरु गर्नु झन् कठिन हुन्छ । तर, यस्तै चुनौतीपूर्ण परिस्थितिबीच नेपाली उद्यमीको साहस, परिश्रम र अठोटको उदाहरण बनेको छ– गोर्खाली नेपाली रेस्टुरेन्ट । क्विन्सको ज्याक्सन हाइट्समा स्थापित यो रेस्टुरेन्ट केवल खानपानको व्यवसाय मात्र होइन, परदेशमा नेपाली स्वाद, संस्कृति र पहिचान जोगाउने प्रयासको जीवित कथा पनि हो ।

न्युयोर्क सहर विश्वका सबैभन्दा बहुसांस्कृतिक सहरमध्ये एक हो । यहाँ संसारभरका समुदायले आफ्नो संस्कृति, भाषा र खानपानमार्फत सहरलाई अझ जीवन्त बनाएका छन् । यही विविधताको बीचमा नेपाली समुदायले पनि आफ्नो छुट्टै पहिचान बनाएको छ । विशेषगरी क्विन्सको ज्याक्सन हाइट्स क्षेत्र नेपाली व्यवसाय, संस्कृति र खानपानको केन्द्रका रूपमा परिचित हुँदै गएको छ । यसै क्षेत्रमा स्थापित गोर्खाली नेपाली रेस्टुरेन्ट नेपाली स्वादलाई अन्तर्राष्ट्रिय सहरमा स्थापित गर्ने प्रयासको एक प्रेरणादायी उदाहरण बनेको छ ।

गोर्खाली नेपाली रेस्टुरेन्ट क्विन्सको ज्याक्सन हाइट्सस्थित रुजवेल्ट एभेन्यूमा अवस्थित छ । जहाँ नेपाली तथा दक्षिण एसियाली समुदायको बाक्लो बसोबास छ । यहाँ आउने ग्राहकले नेपाली खानाको वास्तविक स्वाद अनुभव गर्न सक्छन् । मोमो, दालभात, सेकुवा, थुक्पा, चाउमिनजस्ता परिकार यस रेस्टुरेन्टका प्रमुख आकर्षण हुन् । रेस्टुरेन्टले नेपाली खानाको मौलिक स्वाद र मसला जोगाउँदै अन्तर्राष्ट्रिय सहरका ग्राहकलाई हिमाली संस्कृतिको स्वाद चखाउने प्रयास गरिरहेको छ ।

गोर्खाली रेस्टुरेन्टको यात्रा केवल व्यापारिक प्रयास मात्र होइन, संघर्ष र धैर्यको कथा पनि हो । रेस्टुरेन्ट सञ्चालक ज्ञानु थापा मगर स्याङ्जा नेपालमा जन्मिएकी हुन् । उनी सन् २०१३ मा चार सन्तानसहित अमेरिका आइपुगेकी थिइन् । नयाँ देशमा जीवन सुरु गर्ने क्रममा उनले ठूलो व्यक्तिगत पीडा पनि भोग्नुप¥यो । अमेरिका आएको मात्र सात महिनापछि उनका श्रीमान्को निधन भयो । त्यसपछि चार साना बालबालिकाको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो ।

परिवारको मुख्य अभिभावक गुमाएपछि जीवन झन् कठिन बन्यो । तर, ज्ञानु थापा मगरले हार मानिनन् । सन्तानको भविष्यका लागि उनले संघर्षलाई नै जीवनको बाटो बनाइन् । उनले विभिन्न रेस्टुरेन्टमा काम गरिन्– कहिले भान्सामा त कहिले सेवा क्षेत्रमा । रेस्टुरेन्ट मात्र होइन, अन्य विभिन्न काम गर्दै उनले परिवारलाई अगाडि बढाइन् । चार साना बच्चाको पालनपोषण, उनीहरूको पढाइ र घरपरिवारको जिम्मेवारी एक्लै सम्हाल्दै उनले जीवनको कठिन चरण पार गरिन् ।

गोर्खाली नेपाली रेस्टुरेन्ट : न्युयोर्कमा नेपाली स्वादको अडिग यात्रा

यसै अनुभव र संघर्षले उनलाई रेस्टुरेन्ट व्यवसायतर्फ अघि बढ्ने प्रेरणा दियो । त्यसपछि उनले क्विन्सको ज्याक्सन हाइट्समा गोर्खाली नेपाली रेस्टुरेन्ट सुरु गर्ने निर्णय गरिन् । सन् २०१८ को डिसेम्बरमा उनले रेस्टुरेन्ट खोल्ने उद्देश्यले स्थान भाडामा लिइन् । योजनाअनुसार सन् २०१९ मै रेस्टुरेन्ट सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर, निर्माण कार्य ढिलो हुनु र ग्यास जडानसम्बन्धी समस्या उत्पन्न हुनुका कारण रेस्टुरेन्ट खोल्न एक वर्षभन्दा बढी समय लाग्यो । यस अवधिमा व्यवसाय सञ्चालन नगरीकनै उनले भाडा तिर्नुपरेको थियो ।

अन्ततः सन् २०२० को फेब्रुअरीमा रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आयो । तर, केही हप्तामै विश्वव्यापी कोरोना महामारी सुरु भयो । न्युयोर्कका अधिकांश व्यवसायजस्तै गोर्खाली पनि दुई महिनासम्म पूर्णरूपमा बन्द हुन बाध्य भयो । नयाँ व्यवसाय भएकाले सरकारी राहत कार्यक्रमका लागि आवश्यक कागजात र व्यावसायिक इतिहास नभएकाले रेस्टुरेन्टले धेरै अनुदान तथा सहायता प्राप्त गर्न सकेन ।

विभिन्न कारणले एकदमै ढिलो रेस्टुरेन्ट सञ्चालनमा आयो । तर, दुर्भाग्यवश कोरोना महामारीले केही समय फेरि रेस्टुरेन्ट बन्द गर्ने अवस्था आयो । महामारीको कठिन समयमा पनि रेस्टुरेन्ट बन्द नगरी अघि बढ्ने निर्णय गरिएको थियो । आउटडोर डाइनिङ सुरु गर्नुका साथै अनलाइन अर्डर सेवा जस्तै– डेलिभरी एपमार्फत सञ्चालन गरियो । यसले व्यवसायलाई पुनः चलायमान बनाउन सहयोग ग¥यो । पछि मदिरा बिक्रीको अनुमति पाएपछि सप्ताहन्तमा संगीत कार्यक्रमजस्ता गतिविधि पनि आयोजना हुन थाले । जसले ग्राहकको आकर्षण बढायो । आज गोर्खाली रेस्टुरेन्ट केवल खाना खाने ठाउँ मात्र होइन, नेपाली समुदायका लागि भेटघाट गर्ने स्थान पनि बनेको छ । यहाँ नेपाली स्वादसँगै नेपाली आतिथ्य र संस्कृतिको अनुभूति गर्न पाइन्छ ।

न्युयोर्कको क्विन्स क्षेत्रमा अहिले करिब तीन दर्जनजति नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये गोर्खालीले आफ्नै पहिचान बनाएको छ । यसको मेनुमा परम्परागत नेपाली खानाका साथै विभिन्न स्वादका मोमो, थाली, थुक्पा र सेकुवाजस्ता परिकार विशेष लोकप्रिय छन् । धेरै ग्राहकले यहाँको स्वादलाई नेपालकै झल्को दिने बताउने गरेका छन् ।

रेस्टुरेन्टको वातावरण पनि नेपाली संस्कृतिलाई झल्काउने किसिमले सजाइएको छ । जसले विदेशी ग्राहकलाई पनि नेपालप्रति जिज्ञासा र आकर्षण बढाउँछ । यसरी गोर्खाली रेस्टुरेन्टले नेपाली खानपानलाई विश्वकै ठूलो महानगरमध्ये एक न्युयोर्कमा चिनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

आज गोर्खाली नेपाली रेस्टुरेन्ट केवल एउटा सानो व्यवसाय मात्र होइन, आप्रवासी नेपालीको साहस, संघर्ष र आत्मविश्वासको प्रतीक बनेको छ । चुनौतीपूर्ण परिस्थितिबाट अघि बढ्दै यसले आफ्नो स्थान स्थापित गरेको छ । यसै यात्रालाई अगाडि बढाउँदै ज्ञानु थापा मगरले सन् २०२३ मा ब्रुकलिनको विलियम्सबर्ग क्षेत्रमा गोर्खाली ब्रुकलिन नामक अर्को रेस्टुरेन्ट पनि सुरु गरेकी छन् । जसले नेपाली स्वादलाई न्युयोर्कको अर्को महत्त्वपूर्ण क्षेत्रमा पु¥याएको छ ।

आफ्नो सफलताको श्रेय दिँदै थापा भन्छिन्, ‘नेपाली समुदायबाट पाएको माया, साथ र समर्थनकै कारण आज म यहाँसम्म आइपुगेकी हुँ । यही साथले मलाई अझ अघि बढ्न हिम्मत दिएको छ ।’

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)





Source link

Leave a Comment