प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्पपछि जनरल सान्तोस सिटीमा क्षतिग्रस्त भवन। भूकम्पको कारण यस भवनमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। तस्बिर : एडविन एस्पेजो/एएफपी/रासस
फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको तटीय क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार भूकम्प नेपाली समय अनुसार सोमबार बिहान ३:२२ बजे गएको हो।
भूकम्प लगत्तै फिलिपिन्स, इन्डोनेसिया, जापान र अस्ट्रेलियामा सुनामीको चेतावनी जारी गरिएको थियो, यद्यपि केही घण्टापछि उक्त चेतावनी फिर्ता लिइयो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र तस्बिरहरूमा भवनहरू भत्किएका दृश्यहरू देखिन्छन्। एक भिडियोमा चर्चित फास्टफुड रेस्टुरेन्ट ‘जोलीबी’ पूर्ण रूपमा ध्वस्त भएको देखिन्छ। भूकम्पका कारण कतिपय क्षेत्रमा पहिरो समेत गएको छ।
विभिन्न प्रान्तमा गरी १०० भन्दा बढी मानिस घाइते भएका छन् भने झन्डै दुई दर्जन व्यक्ति बेपत्ता छन्। अधिकारीहरूका अनुसार सुरक्षित स्थानतर्फ १०,००० भन्दा बढी बासिन्दालाई स्थानान्तरण गरिएको छ। मिन्डानाओ फिलिपिन्सको क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले दोस्रो ठूलो टापु हो, जहाँ करिब २ करोड ६० लाख मानिस बसोबास गर्छन्।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले विभिन्न स्थानीय निकायबाट प्राप्त विवरणहरूको प्रमाणीकरण गरिरहेको र आगामी केही दिनमा आधिकारिक तथ्याङ्क सार्वजनिक गर्ने जनाएको छ।
भूकम्पको केन्द्रविन्दुबाट करिब २० किलोमिटर टाढा रहेको तटीय प्रान्त सारङ्गानीमा मात्रै १७ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांशको पहिरोमा पुरिएर ज्यान गएको हो। भूकम्पका कारण सारङ्गानीमा विद्युत र सञ्चार सेवा अवरुद्ध भए पनि पछि पुनः सुचारु गरिएको थियो।
केन्द्रविन्दुको सबैभन्दा नजिक रहेको जनरल सान्तोस सहरमा १० जनाको मृत्यु भएको नागरिक रक्षा कार्यालयले जनाएको छ। त्यहाँ अझै २२ जना बेपत्ता छन्। बक्सिङ च्याम्पियन तथा राजनीतिज्ञ म्यानी पाक्वाओको गृहनगरका रूपमा चिनिने जनरल सान्तोसलाई फिलिपिन्सको ‘टुना माछाको राजधानी’ पनि भनिन्छ।
भूकम्पबाट साउथ कोटाबाटो र सुल्तान कुदरात प्रान्त पनि नराम्ररी प्रभावित भएका छन्।
फिलिपिन्सका राष्ट्रपति फेर्डिनान्ड मार्कोस जुनियरले एक विज्ञप्ति जारी गर्दै सरकारी निकायहरूले उद्धार र राहत कार्यमा समन्वय गरिरहेको बताएका छन्। उनले भनेका छन्,केन्द्रीय सरकार क्रियाशील छ र हामी मिन्डानाओलाई यो संकटमा एक्लो छोड्ने छैनौँ।
नयाँ शैक्षिक सत्रको पहिलो दिनमै भूकम्प गएकाले राष्ट्रपति मार्कोसले प्रभावित क्षेत्रका विद्यालयहरू बन्द गर्न आदेश दिएका छन्। दाभाओ अक्सिडेन्टल प्रान्तको एक प्राथमिक विद्यालयले पोस्ट गरेको भिडियोमा त्रसित विद्यार्थीहरू भुइँमा बसिरहेको र उनीहरूको पछाडि रहेको एउटा टिनको छाप्रो भत्किएको देखिन्छ। यद्यपि, विद्यालय प्रशासनले कोही पनि घाइते नभएको स्पष्ट पारेको छ।
मुख्य भूकम्पपछि १.३ देखि ६.७ म्याग्निच्युडका १३० भन्दा बढी परकम्पहरू महसुस गरिएको छ।
प्रशान्त महासागरीय रिङ अफ फायरमा अवस्थित भएकाले फिलिपिन्समा भूकम्पको जोखिम उच्च रहन्छ। यहाँ धेरैजसो परकम्पहरू सामान्य हुने भए तापनि केही भूकम्प भने विनाशकारी सावित भएका छन्। गत सेप्टेम्बरमा मध्य विसायास क्षेत्रमा गएको ६.९ म्याग्निच्युडको भूकम्पमा परी ७० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए।
सोमबार बिहान भूकम्प गएको केही समयपछि जापानी अधिकारीहरूले आफ्नो तटीय क्षेत्रमा १ मिटर सम्मको सुनामीको छाल आउन सक्ने चेतावनी दिएका थिए। पछि जापानको दक्षिणी प्रान्त ओकिनावामा केही सेन्टिमिटर र दुर्गम ओगासावारा टापुमा २० सेन्टिमिटर अग्लो छाल मापन गरिएको थियो। इन्डोनेसिया, पलाउ र फिलिपिन्सका तटीय क्षेत्रमा पनि केही सेन्टिमिटरदेखि १.४ मिटरसम्मको सुनामी छाल रेकर्ड गरिएको छ।
