इप्पान भेलाको निष्कर्ष : साधारणसभाबाट विधान पारित गरेर मात्रै निर्वाचन गर्ने


स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा व्यवसायीहरूले साधारणसभाबाट विधान संशोधन गरेर मात्रै निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। काठमाडौंमा आयोजित इप्पानको एक भेलामा उपस्थित सदस्यहरूले यस्तो निष्कर्ष निकालेका हुन्।

भेलामा प्रस्तुतीकरण गर्दै इप्पानका उपमहासचि प्रकाश दुलालले अहिले करिब ४३ सय मेगावाट जडित क्षमतामा ३६६२ मेगावाट अर्थात् ८५ प्रतिशत निजी क्षेत्रबाट विद्युत उत्पादन भइरहेको बताए। साथै, करिब ५८०० मे.वा. आयोजना निजी क्षेत्रले निर्माण गरिरहेको र करिब २१०० मे.वा. पिपिए गरेर निर्माणको तयारीमा रहेको जानकारी दिँदै उनले १० वर्षमा ३०००० मे.वा. बनाउन आयोजनाको अध्ययन सम्पन्न गरेर पिपिएका लागि आवेदन गरेका करिब १६००० मे.वा. आयोजनाको तत्काल पिपिए खुलाउन आवश्यक रहेको बताए।

दुलालले अहिले जलविद्युत तर्फ ३,७९७ क्षमताका १९० वटा आयोजना सञ्चालन, उत्पादन अनुमतिपत्र जारी १२१०३ मे.वा का २६२ वटा, उत्पादन अनुमतिपत्र आवेदन ९,०८८ मे.वा. का ५३ वटा, सर्भेक्षण अनुमतिपत्र जारी ११,००० मे.वा. का २४२ वटा र सर्भेक्षण अनुमतिपत्र आवेदन ७,७०६ मे.वा २३५ वटा गरी जम्मा ४३,६९४ मे.वा. ९८२ वटा आयोजना अगाडि बढाइ रहेको जानकारी दिए। उनका अनुसार सौर्य आयोजनातर्फ १५४ मे.वा.का २७ आयोजना सञ्चालन, उत्पादन अनुमतिपत्र जारी ५४ मे.वा का ९ वटा, उत्पादन अनुमतिपत्र आवेदन ७२ मे.वा. का ५ वटा, सर्भेक्षण अनुमतिपत्र जारी २००० मे.वा. का ८८ वटा र सर्भेक्षण अनुमतिपत्र आवेदन २०० मे.वा १७ वटा गरी जम्मा २४८० मे.वा. १४६ वटा आयोजना अगाडि बढाइरहेको भए पनि २१ औं वार्षिक साधारणसभामा ४५१ आयोजना इप्पानमा सदस्य रहेको २४ औं वार्षिक साधारणसभामा करिब ७०० आयोजना इप्पानमा सदस्य हुने अनुमान रहेको छ।

यस्तै, ११३६ आयोजना मध्ये करिब ७०० मात्रै आबद्धता हुनु आफैँमा इप्पानतर्फ सदस्यको आकर्षण कम रहेको बताउँदै सबैलाई इप्पानमा आबद्ध हुने वातावरण बनाउनु पर्ने उनले बताए।

उनले संस्थाको २१ औं वार्षिक साधारणसभाबाट नेतृत्व चयनसँग बनेको विधान संशोधन तथा पुनर्लेखन समितिले २३ औं वार्षिक साधारणसभामा पेस गरेर पारित भएको विधान संशोधनको प्रस्तव अनुसार लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न स्वत: अध्यक्ष हुन नहुने, एक कार्यकाल इप्पानमा काम गरेको व्यक्ति अध्यक्ष उठ्न पाउनुपर्ने र पदाधिकारी हुन इप्पानका कार्य गरेको नभइ खुला गरी समय सापेक्ष परिवर्तनशील नेतृत्व चयन हुनुपर्ने आवश्यकता औँल्याए। 

उनले अबको इप्पान एकताबद्ध, प्रभावकारी, पारदर्शी र संस्थागत सुशासन सँगै निर्णय कार्यान्वयन गर्ने जिम्मेवार हुनुपर्ने कुरामा जोड दिँदै करिब १०१ धितोपत्र बजारमा सूचीकृत भएको र करिब ५० कम्पनी आईपीओ निष्काशन प्रकृयमा रहेको बताउँदै सूचीकृत कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक प्रतिनिधि रहेको इप्पानमा सबैले जिम्मेवार र जावफदेही हुनुपर्ने कुरमा जोडदिए। उनका अनुसार अबको इप्पान लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयनसँगै सबैलाई अटाउने र सबैको सम्मान गर्ने, ऊर्जा क्षेत्रको समग्र प्रतिनिधित्व गर्न सक्षम रहने, सरकारलाई समाधानसहितको सुझाव दिन सक्ने हुनुपर्ने बताए।

कार्यक्रममा इप्पानका संस्थापक एवं पूर्व अध्यक्ष डा. सन्दीप शाहले २०५७ सालमा ४ वटा कम्पनीबाट सुरु भएको इप्पानको यात्रा आज ७०० कम्पनीको भरोसाको केन्द्र बन्दै गर्दा आफूलाई खुसी लागेको बताउँदै नेपालको जलविद्युत विकासमा अग्रणी भूमिका खेल्दै आएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले यतिबेला आफ्नो संस्थागत सुदृढीकरण र ऊर्जा विकासका रणनीतिक एजेन्डाहरूमा केन्द्रित भएर सरकारलाई दबाब दिन सक्ने हुन एकताबद्ध भएर विधानमा रहेको विवादलाई समाधान गर्दै लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा वरिष्ठ ऊर्जा उद्ययमी गुरुप्रसाद न्यौपानेले संस्थाको साधारणसभाले विधान पारित गरेर हाललाई निर्वाचन स्थगित गरेर सोको केही दिनपछि सबैलाई समेट्ने गरी निर्वाचन गरेर एकताबद्ध हुन सबैलाई आह्वान गर्दै उनले भने, ‘अहिले इप्पानमा काम गर्ने भन्दा गफ गर्ने बढी छन्। अब काम गर्नेहरू नेतृत्वमा आउने वातावरण बनाउन जरुरी छ।’ 

कार्यक्रममा ऊर्जा उद्यमी ई. विनोद देवकोटाले अघिल्लो निर्वाचनमा आफूले महासचिव पदमा उम्मेदवारी दिएर विधानका कारणले खारेजी भएको र सोही समयमा इप्पानका सल्लाहकार ई. भानुभक्त पोखरेलेको संयोजकत्वमा विधान संशोधन तथा पुनर्लेखन समिति बनेर उसले सबैको राय सुझावसहित २३ औं वार्षिक साधारणसभामा पेस गरेर सभाले पारित गरेको विधान कार्यान्वयन गरेर संस्थालाई एकताबद्ध बनाउन नेतृत्व समक्ष आग्रह गरे।  

कार्यक्रममा नेपाल ईन्जिनियरिङ्ग एसोसिएसनका अध्यक्ष तथा ऊर्जा उद्यमी ई. सुवास बराले भने, ‘आज इप्पानका एजेन्डा जलविद्युतमा लगानी गर्नेहरूको मात्र रहेन, यो देश र जनताको आवाज बनेको छ।’ ईन्जिनियरिङ्ग जनशक्त उपयोगको मुख्य क्षेत्र रहेको बताउँदै बदलिँदो परिस्थिति अनुसार सदस्यहरूले उठाएका कुराहरू समेटेर सबैलाई मान्य हुने गरी विधान संशोधन गरेर निर्वाचन गर्न सुझाव दिए।  

उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका दाबेदार उत्तम भ्लोनले संस्थाभित्र फुट हुनुभन्दा एकता हुनुपर्नेमा जोड दिए। लामाले भने, ‘इप्पानको बृहत्तर हित र सहमतिका लागि यदि कार्यसमितिले बलराम खतिवडाजीलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मान्छ भने म आफ्नो दाबी छोड्न तयार छु र सल्लाहकार बसेर सहयोग गर्नेछु।’ संस्थाभित्र फुट हुनुभन्दा मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताउँदै लामाले इप्पानलाई अब परम्परागत स्वरूपबाट रूपान्तरण गरी महासंघको ढाँचामा लैजानुपर्ने प्रस्ताव समेत गरे।

इप्पानको सल्लाहकार ई. लालकृष्ण के.सी. संस्थाको ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरमा अझ बलियो बनाउने आवश्यक प्रतिबद्धता व्यक्त गर्दै इप्पानको ब्रान्ड लोकप्रिय भइसकेको चर्चा गर्दै अब संस्थालाई यसको साख जोगाएर अगाडि बढ्न सबैलाई समेट्न विधान परिवर्तन गरेर नेतृत्व चयन गर्दै सदस्यहरूको एकतामा जोड दिए।  

वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले विधानलाई समयसापेक्ष परिमार्जन गरी संस्थालाई अझ गतिशील बनाउने बताए। वि.सं २०५७ मा स्थापना भएको इप्पानको विधान यसअघि २०६७, २०७६ र २०७८ सालमा परिमार्जन भइसकेको उल्लेख गर्दै डाँगीले भने, ‘अहिलेको बदलिँदो परिस्थिति र आवश्यकता अनुसार विधानलाई अझै परिष्कृत गर्दै लैजान कार्यसमितिले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको छ।’

इप्पानका अध्यक्ष कार्कीले सरकारको १०० बुँदे कार्यक्रममा ३० हजार मेगावाट बिजुली उत्पादन, पीपीए खुला गर्ने, र वान डोर पोजस्ता महत्वपूर्ण विषय पर्नु इप्पानको ठूलो सफलता भएको बताउँदै विवादहरूलाई छलफलको माध्यमबाट समाधान गरी निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।  

कार्यक्रमको अध्यक्षता गरेका इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले कार्यसमितिमा देखिएका विवादहरूलाई छलफलको माध्यमबाट समाधान गरी निष्कर्षमा पुर्‍याउने आफूले भूमिका खेले प्रतिबद्धता व्यक्त गरे। उनले आगामी नेतृत्व चयनका सन्दर्भमा सबै सदस्यहरूलाई एकजुट हुन अपिल गर्दै भने विधान संशोधनलाई जालझेल र चिटिङमुक्त बनाएर सबैले स्वागत गर्ने खालको डकुमेन्ट बनाउन सुझाव दिए। आचार्यले विधानलाई सबैले स्वीकार गर्ने साझा दस्ताबेजको रूपमा परिमार्जन गर्नुपर्ने बताए। आगामी साधारण सभामा लैजाने विधानमा कुनै जालझेल वा छलकपट हुन नहुने उनको भनाइ थियो।  

कार्यक्रमको सञ्चालन गरेका इप्पानका महासचिव बलराम खतिवडाले नेतृत्वमा नैतिकता हुनुपर्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताए। आफूहरूले नेतृत्वमा आउन नभएर बाहिर रहेका सक्षम साथीहरूलाई नेतृत्वमा ल्याउन आफूहरू सबैलाई खुला गरेर निर्वाचनमा जाने पक्षमा रहेको बताउँदै उनले आफू नेतृत्वमा आए दुई वर्षभन्दा बढी पदमा नबस्ने घोषणा गरेर त्यागको नयाँ संस्कार सुरुवात गर्ने घोषणा समेत गरे।  

कार्यक्रममा बौल्ने व्यक्तिहरूले लगानीकर्ताहरू संगठित नभए सरकारले बेवास्ता गर्ने चेतावनी दिएका छन्। बिमा प्रिमियम वृद्धि विरुद्धको आन्दोलनलाई उदाहरण दिँदै उनीहरूले भनेका छन्, ‘सरकार जुनसुकै आए पनि उसले हामीलाई रेड कार्पेट ओछ्याउँदैन, बरु काँडा बिछ्याउन सक्छ। यस्तो बेला हाम्रो संगठन बलियो भएन भने हामी केही गर्न सक्दैनौं। ’

उनीहरूले संस्थामा पद ओगट्नुभन्दा पनि सक्रियता ठूलो कुरा भएको बताउँदै चुनावभन्दा पनि सर्वसम्मतिलाई प्राथमिकता दिन सुझाव दिएका छन्। ‘सर्वसम्मत निर्णय गर्न समय लाग्छ भने बरु केही समय निर्वाचन पछाडि लैजानुस्, तर संस्थालाई विभाजन हुन नदिनुस्,’ उनीहरूले भनेका छन्। उनीहरूले  निर्वाचनभन्दा सर्वसम्मत निर्णयले संस्थालाई बलियो बनाउने सुझाव समेत दिएका छन्।

इप्पानको २४ औं वार्षिक साधारणसभाको अजेण्डामा रहेको विधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सोका सम्बन्धमा ऊर्जा उद्ययमीहरूसँग राय सुझाव लिएर आगामी निर्वाचनको रणनीति तय गर्ने मुखय उद्देश्यका साथ अगाडि बनाइएको भेलामा जलविद्युत् क्षेत्रसँग सम्बन्धित करिब ३५० निजी क्षेत्रका व्यवसायी एवं लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २४ जेष्ठ २०८३ ०८:२७ आइतबार





Source link

Leave a Comment