प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार

,ओहायोको टोलेडोमा एक उत्सवस्थल नजिक भएको गोलीकाण्डको घटनास्थलमा खटिएका प्रहरी अधिकारीहरू।photo:WTVG/ AP/रासस
अमेरिकाको ओहियो राज्यस्थित टोलेडोमा सञ्चालित ‘ओल्ड वेस्ट एन्ड फेस्टिभल’ नजिकै भएको गोलीकाण्डमा कम्तीमा १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले शनिबार बताएका छन्।
टोलेडो प्रहरीका डिप्टी चीफ जो हेफर्नानले शनिबार राति आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार त्यहाँ दुई जना बन्दुकधारीहरू थिए, जसले सम्भवतः एक-अर्कामाथि गोली चलाइरहेका थिए। तीमध्ये कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन्।
टोलेडोका मेयर वेड काप्सुकिविचले दिएको जानकारी अनुसार गोली लागेका सबै जना जीवित रहने अपेक्षा गरिएको छ। प्रहरीले अनुसन्धान जारी राखेकाले सर्वसाधारणलाई उक्त क्षेत्रमा नजान आग्रह गरेको छ। घटना स्थलमा अझै पनि ठूलो संख्यामा प्रहरी अधिकारीहरू तैनाथ छन्।
अमेरिकी नौसेनामा सेवा गरिसकेका र चिकित्सा क्षेत्रको तालिम प्राप्त केभिन बेरीले असोसिएटेड प्रेस लाई बताए अनुसार, उनी आफ्ना साथीहरूसँग बगैँचामा प्रत्यक्ष संगीत सुनिरहेका बेला अचानक गोली चलेको आवाज सुनियो। आवाज सुन्नासाथ सबै जना भुइँमा सुते,”उनले भने। उनले टाउको उठाएर हेर्दा आफूभन्दा ५० फिटभन्दा कम दुरीमा एउटा बन्दुक भुइँमा फालिएको देखे र फेस्टिभलमा खटिएका प्रहरीहरू तुरुन्तै घटनास्थलतर्फ दौडिए। बेरीले आफैं कम्तीमा पाँच जनालाई गोली लागेको अवस्थामा देखेका थिए।
यो गोलीकाण्डले एउटा सामुदायिक उत्सवलाई अमेरिकामा बारम्बार दोहोरिने सार्वजनिक हिंसाको अर्को दुखद कडीमा परिणत गरिदिएको छ। ओहियोका गभर्नर माइक डेवाइनले ‘एक्स’ मा लेखेका छन्, “गर्मीयामका उत्सवहरू परिवारहरूका लागि हिंसाको डरविना सँगै समय बिताउने सुरक्षित ठाउँ हुनुपर्छ। कानुन कार्यान्वयन गर्ने निकायहरूले यस निरर्थक अपराधमा संलग्न संदिग्धहरूलाई पत्ता लगाउनेछन् भन्नेमा हामी विश्वस्त छौं।”
गन भायोलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा भएका कम्तीमा १७० वटा आम गोलीकाण्ड मध्येको एक हो। यस संस्थाले चार वा सोभन्दा बढी मानिसलाई गोली लागेको घटनालाई ‘मास सुटिङ’ मान्ने गरेको छ।
ओल्ड वेस्ट एन्ड फेस्टिभल अमेरिकाकै सबैभन्दा ठूलो भिक्टोरियन शैलीका घरहरू भएको ऐतिहासिक क्षेत्रमा आयोजना हुने दुई दिने वार्षिक उत्सव हो।
