प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार

Photo: John Cardamone / Unsplash
यसै वर्षको सुरुतिर सान डिएगो अध्यागमन अदालतको सङ्घीय भवनबाट हटाइएका र जरिवाना सुनाइएका स्वयंसेवकहरू गत बुधबार आफ्नै मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित भएका छन्।
मानिसहरूलाई एक किसिमले थुन्ने, दुर्व्यवहार गर्ने-अपहरण गर्ने जस्ता कार्य भइरहेका छन् र यी कुराहरूको अभिलेख राख्नु हाम्रा लागि निकै महत्त्वपूर्ण छ, स्वयंसेवक रोबर्ट कोभेलम्यानले भने।
कोभेलम्यान ती दर्जनौँ स्वयंसेवकहरूमध्ये एक हुन्, जसले महिनौँदेखि अध्यागमन अदालतमा मानिसहरूलाई उनीहरूको सुनुवाइको समयमा सहयोग गरिरहेका थिए। सामान्यतया, यी स्वयंसेवकहरू अदालतको गल्लीमा उभिएर आप्रवासीहरूलाई साथ दिने गर्छन् भने केहीले उनीहरूका लागि प्रार्थना समेत गर्छन्।
गत फेब्रुअरीको अन्त्यतिर, भवनको सुरक्षाको जिम्मेवारी पाएको सङ्घीय सुरक्षा सेवाले हामीलाई अबदेखि त्यहाँ बस्न नमिल्ने जानकारी गराएको थियो,” कोभेलम्यानले बताए।
कोभेलम्यानका अनुसार सङ्घीय एजेन्टहरूले उनीहरूलाई त्यहाँबाट हटाउनु र जरिवाना गर्नुको स्पष्ट कारण दिन सकेका थिएनन्। त्यहाँ राखिएका सङ्केत वा नियमहरू पालना नगरेको आरोपमा उनी र अन्य ६ जना स्वयंसेवकहरूलाई सङ्घीय जरिवानाको पुर्जी थमाइएको थियो।
त्यो पुर्जीमा कुनै ठोस कारण खुलाइएको थिएन, कोभेलम्यानले थपे, त्यसमा केवल हामीले नियम पालना नगरेको उल्लेख थियो र २५० डलर जरिवाना तथा ३० डलर सेवा शुल्क तिरेर मुद्दा सुल्झाउने विकल्प दिइएको थियो।
कोभेलम्यान र अन्य स्वयंसेवकहरू बुधबार बिहान अदालत पुगेका थिए, तर सङ्घीय सरकारी वकिलहरू आवश्यक तयारीका साथ उपस्थित नभएका कारण उक्त सुनुवाइलाई आगामी बुधबारका लागि सारिएको छ।
६० दिन बितिसक्दा पनि जरिवाना रकम नतिरी अदालतमा कानुनी लडाइँ लड्ने निर्णय गर्नेहरूमा कोभेलम्यान पनि एक हुन्। उनले आफूहरूमाथि लगाइएका सम्पूर्ण आरोपहरू खारेज हुनुपर्ने माग गरेका छन्।
अमेरिकी बासिन्दाका रूपमा हामीसँग कानुनी तथा संवैधानिक अधिकारहरू छन्। सरकारले त्यो भवनभित्र के गरिरहेको छ भन्ने कुराको निगरानी राख्न र साक्षी बस्न पाउनु हाम्रो कानुनी अधिकारभित्रै पर्छ र यसले हामी सही छौँ भन्ने कुरा स्पष्ट पार्छ।”
गत फेब्रुअरीमा जरिवाना गरिए तापनि यी स्वयंसेवकहरू पुनः अदालतका गल्लीहरूमा फर्किएर मानिसहरूलाई सहयोग गर्न र अदालती प्रक्रियाको साक्षी बन्न सक्रिय भइरहेका छन्।
एक स्वयंसेवकले सान डिएगोका क्याथोलिक बिसप माइकल फामले सङ्घीय सुरक्षा सेवासँग भेट गरेपछि सरकारी अधिकारीहरूको व्यवहार र वातावरणमा केही परिवर्तन आएको बताए।
“हामीले तुरुन्तै वा छोटो समयमै सबै कुरा सुधार्न नसके पनि, भविष्यका पिँढीका लागि त्यहाँ के भइरहेको छ भन्ने कुराको अभिलेख भने पक्कै राख्नेछौँ,” कोभेलम्यानले भने।
कोभेलम्यानले यस मुद्दाको अन्तिम फैसला के आउनेछ भनेर उत्सुकताका साथ पर्खिरहेको बताएका छन्।
