बालेनको दम्भ र हठ, अनि सम्प्रभुताको प्रश्न


News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रधानमन्त्री शाहले संसद्‌मा “नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भनी दिएको अभिव्यक्ति विवादित बनेको छ ।
  • सभामुखले नियमावली विपरीत प्रधानमन्त्री शाहलाई रोस्ट्रममा बोल्ने समय दिएको भन्दै संसद्‌मा उनको कदमको आलोचना गरिएको छ ।
  • लेखकले प्रधानमन्त्री शाहको कूटनीतिक कमजोरी औंल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीसमक्ष उनको तत्काल राजीनामा माग गरेका छन् ।

केही साताअघिको प्रसङ्ग हो। साउथ एशियन युनिभर्सिटीबाट स्नातकोत्तर र विद्यावारिधि गरेर जानेहरूका लागि अनौपचारिक बिदाइ जमघट राखिएको थियो। देशमा होस् वा विदेशमा- नेपाली भेला भएपछि गफगाफ राजनीतितर्फ मोडिइहाल्छ। चर्चा चुच्चे नक्शाको थियो। भारतीय विदेश सचिवको नेपाल भ्रमण रद्द भएको बारे थियो।

एक नेपाली प्राध्यापकले स्वभावतः चासो राखे, ‘बालेनले किन भारतीय विदेश सचिवलाई भेट्न नखोजेको ? लेभल नमिलेर हो कि ? डिल गर्ने क्षमता नै नभएर ?’

उनकै सामुन्ने बसेको मैले फ्याट्ट भनिहालेछु, ‘क्षमता नभएर नि !’

छेउछाउमा बसेका बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक साथीहरूलाई मेरो कुरा चित्त बुझेन। उनीहरूले ‘दूतसँग होइन, मालिकसँगै डिल गर्ने’ भाष्य सुनाए। ठिक त्यसैगरी, जसरी २०६४ सालमा मतोन्मादमा सत्ताच्युत बनेपछि प्रचण्डले ‘मालिकसँगै वार्ता गर्ने’ भाषण गर्थे।

त्यसबेला जसलाई सेनापतिबाट हटाउँदा प्रचण्डको जागिर गएको थियो- उनैले पछि लेखे, ‘(आफ्नो पद जोगाउन) फोन गर्नुपर्ने ठाउँमा गरें।’ ती मालिक को थिए, जसले रुक्माङ्गद कटवालको पद जोगाए ?

उनलाई हटाउने प्रधानमन्त्रीको सिफारिस अस्वीकृत गर्न राष्ट्रपति डा. रामवरण यादवलाई सुझाए ? कटवाल वा यादव, दुवैले ती मालिकबारे सार्वजनिक रूपमा केही बताएको पङ्क्तिकारलाई याद छैन।

प्रचण्डलाई मालिकबारे पक्कै थाहा होला। थाहा नभएको भए उनले त्यसबेला ‘मालिकसँग मात्र वार्ता हुने’ भाषण गर्दैनथे। प्रचण्ड पनि अहिलेसम्म चुप छन्। हुन त गिरिजाप्रसाद कोइराला राजा ज्ञानेन्द्रलाई इङ्गित गर्दै बारम्बार ‘ग्रान्ड डिजाइन’ भनिरहन्थे। त्यो ‘ग्रान्ड डिजाइन’ खोलिदिने चेतावनी दिन्थे।

सञ्चारकर्मीसँगका केही सामूहिक भेटघाटका क्रममा विराटनगरस्थित कोइराला निवासको बार्दलीमा पङ्क्तिकारले ‘गिरिजाबाबु, तपाईंले भन्ने गरेको ग्रान्ड डिजाइनबारे बताइदिनुस् न’ भनी प्रश्न गर्ने मौका पाएको थियो। उनले ‘समय आएपछि सबै खुल्ने’ बताएका थिए। तर, त्यो समय कहिल्यै आएन।

गिरिजाप्रसाद अहिले हामीमाझ छैनन्। कटवाल प्रकरणका ‘मालिक’ बारे त्यस्तो अवस्था नआउला र चाँडै त्यसका साक्षीहरूले ‘आँखीदेखा हाल’ साझा गर्लान् भन्ने अपेक्षा गरौं।

विषय बालेनको थियो- प्रसङ्ग मालिकतर्फ मोडियो। सार्वभौम जनताले अधिकाधिक विश्वास गरेको, मतोन्माद उबेलाका प्रचण्डको भन्दा उपल्लो स्तरको भएको, सञ्जालको जञ्जालमा स्वस्तिवाचक, स्तुतिप्रचारक र महिमागानकको महामण्डल भएको अनि सार्वभौम संसद्‌प्रति अटेरी गर्न सक्ने आँट भएको अहिलेका प्रधानमन्त्री त आफैं ‘मालिक’ हुन्। त्यसैले पङ्क्तिकारलाई विश्वास छ- उनका कोही मालिक छन्, न मान्यता वा मूल्य नै।

‘जहाँ म उभिन्छु, त्यहींबाट पङ्क्ति शुरु हुन्छ’ को शैलीमा रोस्ट्रममा उभिएका प्रधानमन्त्रीको सङ्केत र भावभङ्गी हेरेर सभामुखले नियमावलीको खिल्ली उडाउँदै ‘हस् मालिक’ शैलीमा सांसदहरूलाई आदेश दिए।

अनौपचारिक रूपमा सामाजिक सञ्जालभरि ‘अराजक’ कहलाएका हर्क साम्पाङ केही दिनअघि भन्दैथिए- ‘सभाको हेडमास्टर त सभामुख हो। प्रधानमन्त्री पनि विद्यार्थी हो।’ तर आइतबार सदनमा उल्टो दृश्य देखियो। प्रधानमन्त्री हेडमास्टर बने- पहिले क्लास मनिटरले केही भन्न खोजे झैं कुर्सीबाट उठे।

नियमावली विपरीत सभामुखले पनि समय र रोस्ट्रम दिए। ‘जहाँ म उभिन्छु, त्यहींबाट पङ्क्ति शुरु हुन्छ’ को शैलीमा रोस्ट्रममा उभिएका प्रधानमन्त्रीको सङ्केत र भावभङ्गी हेरेर सभामुखले नियमावलीको खिल्ली उडाउँदै ‘हस् मालिक’ शैलीमा सांसदहरूलाई आदेश दिए।

बालेनले प्रधानमन्त्री बनेको दिन कार्यपालिकाको र पद्धति अवज्ञा गर्दै प्रधानन्यायाधीश सिफारिस गरेको दिन न्यायपालिकाको अधिपति बनेको भावभङ्गीगत घोषणापत्र लेखेका थिए। नीति तथा कार्यक्रममा राष्ट्राध्यक्षको सम्बोधन बङ्क गरेर व्यवस्थापिकाको मालिक बनेको अल्पाख्यान लेखेका उनले आइतबार डीपी अर्यालको ‘सभामुख’ आचरणको फाइदा उठाउँदै नियमावलीको खिल्ली उडाउन सफल भए। अब उनी सरकाराधिपति, सर्वोच्चाधिपति र संसदाधिपति पनि भए।

लोकतन्त्रका तीनै खम्बाको ‘मालिक’ बनेको अनुभूति भएरै होला, बालेन्द्रलाई वैधानिक र मान्यतागत मूल्यप्रति न मतलब छ, न तिनलाई आत्मसात् गर्ने आकाङ्क्षा नै। उनको सिल्लडपनालाई ‘सोई ढोले सोई’ गरिदिने साइबर समर्थकहरू छँदै छन्।

तिनै साइबर समर्थकको बलमा प्रधानमन्त्री भएका बालेनलाई मालिक बनेको भ्रमले लुई चौधौं झैं ‘म नै राज्य हुँ’ (यसबारे इतिहासकार बीच एकमत छैन) भन्ने भएको छ। जब ‘म नै सर्वेसर्वा हुँ, मैले बोलेपछि कसैले केही गर्न सक्दैन’ भन्ने भ्रमको स्थितिमा जो कोही पुग्छ, उसले न अरूका राय लिन्छ, न सुन्छ। न कसैलाई बुझ्ने कोसिस गर्छ, न आफूले बुझाउनुपर्छ भन्ने ठान्छ।

आइतबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेर उभिंदै गर्दा विपक्षी दलका सांसदहरूले गरेको नियमापत्तिप्रति बालेन्द्रको मन्द दाह्रा किटाइले त्यसैको पुष्ट्याइँ गरिरहेको थियो। उनको भावभङ्गीले बताइरहेको थियो- ‘चुप लाग केटाकेटी हो ! तिमीहरू धेरै करायौ- ल ल्याओ तिमीहरूका प्रश्न, म कसरी देखाइदिन्छु।’

सायद उनको उद्देश्य थियो- छोटाछोटा उत्तर दिएर टाटो लगाउने। अकस्मात् समय मागेर सांसदहरूलाई ‘तिमीहरूसँग प्रश्नै रहेनछ त !’ भनेर देखाइदिने।

अरूलाई देखाइदिन उनकै कारिन्दा जसरी प्रस्तुत भएका सभामुखको मिलीभगतमा झेली गरी रोस्ट्रम पुगेका बालेन्द्रले अरूलाई त कति ‘देखाइदिन’ सके, त्यसको मूल्याङ्कन हुँदै गर्ला, तर आफू भने नराम्ररी नाङ्गिए। उनी आफू मात्र नाङ्गिएनन्, देशलाई नै गहिरो भूराजनीतिक विडम्बनातर्फ धकेल्ने अभिव्यक्ति दिए।

संसारमा कुनै पनि देशको सरकार प्रमुखले नगरेको, नगर्ने र गर्न नहुने काम गरे। विश्वको आधुनिक इतिहासमा र विशेषगरी दोस्रो विश्वयुद्धपछि कुनै पनि देशको सरकार प्रमुखले अर्काको देशको भूमि ‘हामीले मिचेका छौं’ भनेर भनेको छैन र भन्ने पनि छैनन्।

बहादुर बालेन्द्रले रोस्ट्रममा उभिएर सहजै बोलिदिए- ‘… नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। …हाम्ले मिचेका छौं, उहाँहरूले मिच्नुभएको छ…।’

उनको अभिव्यक्ति रास्वपाका सांसदहरूलाई आपत्तिजनक लागेन। कतिले त ढ्यापढ्याप गरेरै समर्थन जनाए। विपक्षी दलकै सांसदले पनि तुरुन्तै कडा आपत्ति प्रकट गरेको देखिएन। पछि एकाध आपत्ति दर्ज भए, जुन बेला बालेन संसद्‌मा गयल भइसकेका थिए।

कुनै पनि सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले सदनमा उभिएर, न बैठकमा बसेर वा अनौपचारिक रूपमै पनि ‘अर्को देशको भूमि हामीले मिचेका छौं’ भन्दैन। कूटनीतिको कखरा नै नजानेको मान्छेले पनि यति ठूलो गल्ती गर्दैन। उनको अभिव्यक्तिले विवाद ल्याएपछि समर्थकहरू, परराष्ट्र मामिलामा कलम चलाउने आफूलाई दिग्गज ठान्ने कतिपय पत्रकारहरू र कैयौं बुद्धिजीवी भनिएकाहरूले त्यसमा रप्फु भरिरहेका छन्।

कतिपयले बालेन्द्रको ‘मनसाय सफा रहेको, ओठ चिप्लिएको’ अभिव्यक्ति दिइरहेका छन्। तर, कुनै पनि प्रधानमन्त्रीले देशको भौगोलिक अखण्डता, सम्प्रभुता र स्वाभिमानका विषयमा यसरी हलुका टिप्पणी गर्दैन। लोकतन्त्रका तीनै खम्बाको नियन्त्रण आफूमा मात्र छ भन्ने ठानी समग्र देश आफ्नै स्वामित्वको जग्गाको टुक्रा मानेर कुनै शासकले त्यस्तो भन्छ भने पनि ऊ शासक कहलाउन, न शासकको सम्मान पाउन लायक हुन्छ।

रप्फु भर्नेहरूले र परराष्ट्र मन्त्रालयले समेत प्रधानमन्त्रीको मनसाय ‘क्रसबोर्डर अकुपेसन’ लाई उल्लेख गर्नु थियो भनेका छन्। ‘क्रसबोर्डर अकुपेसन’ भनेको त सीमापार वा सीमा वारपार भोगचलन न हो, कुनै देशले अर्को देशको भूमि मिचेको होइन। बालेन्द्रले त सीधै ‘भूमि मिचेको’ भनेका छन्। जसले ‘क्रसबोर्डर अकुपेसन’ र भूमि मिचेको विषयवस्तुलाई घोलमाल गरिरहेका छन्- कि उनीहरूले ‘क्रसबोर्डर अकुपेसन’ र ‘बोर्डर इन्क्रोचमेन्ट’ को भेद बुझेका छैनन् वा स्वार्थवश बालेन्द्रको बचाउ गरिरहेका छन्।

बालेनको दम्भ र हठ, अनि सम्प्रभुताको प्रश्न

कुनै पनि देशले सीमा मिच्नु भनेको सैन्य शक्तिको उपस्थितिमा अर्को देशको भूमि कब्जा गर्नु हो। यो सामान्यज्ञानको विषय हो। यसका निम्ति कसैले भूराजनीतिको विज्ञ भइरहनुपर्दैन। सीमा वारपार भोगचलन भनेको जहिले पनि नागरिक तहमा हुन्छ। त्यो खुला सीमा भएका संसारका जुनसुकै स्थानमा देखिने, भेटिने र पाइने प्रवृत्ति हो।

खुला सीमा नभएका कैयौं देश बीचका सीमा क्षेत्रमा पनि त्यस्तो अवस्था रहेका छन्। नेपाल र भारतका हकमा त्यस्तो छ भनेर दुवै देशले स्वीकारेका छन्। द्विपक्षीय वार्तामा ती विषयमा छलफल हुने गर्छन्।

जसरी प्रधानमन्त्रीले सीधै ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भने, त्यसको अर्थ ‘क्रसबोर्डर अकुपेसन’ हुँदैन। त्यसको अर्थ हुन्छ- ‘हामीले पनि कालापानीमा भारतले सैन्य क्याम्प राखेर हाम्रो भूमि मिचे जस्तै भारतको भूमि कब्जा गरेका छौं।’ र, त्यसरी अर्काको देशको भूमि कब्जा गर्ने देशको सरकार प्रमुखले कहिल्यै ‘हामीले अर्काको भूमि मिचेका छौं’ भन्दैन। हालैका घटनाहरू हेरे पनि हुन्छ। न पुटिनले ‘युक्रेनको भूमि मिचेका छौं’ भनेका छन्, न नेतन्याहूले ‘प्यालेस्टाइनको भूमि मिच्यौं’ भनेका छन्।

ती अवस्थामा कि सरकार प्रमुखहरूले आफ्नो गुमेको भूभाग फिर्ता ल्याएको दाबी गरेका छन् वा त्यही भूभाग वा देशका मानिसलाई स्वतन्त्रता वा प्रजातन्त्रका लागि सघाएको भनेका छन्। कसैले ‘मैले अर्काको देशको भूमि मिचेको छु’ भन्नु भनेको उत्तर-वेस्टफेलियन राज्य संरचनामा युद्धको निम्ता दिनु जस्तो हो। बालेनले एकतर्फ मित्रवत् ‘टेबल टक’ भनिरहेका थिए र अर्कोतर्फ ‘हामीले पनि भारतको भूमि मिचेका छौं’ भनिरहेका थिए।

उनले रोस्ट्रममा बोलिरहँदा यो समेत ख्याल गरेनन् कि भारतले कहिल्यै ‘हामीले नेपालको भूमि मिचेका छौं’ भनेर स्वीकारेको छैन। नेपाल र भारत दुवैले भन्दै र मान्दै आएको औपचारिक अडान भनेको ‘हामीबीच सीमाबारे एकमत हुन नसकेका विषयहरू छन्, वार्ताका माध्यमबाट तिनको समाधान गर्छौं’ भन्ने हो।

कैयौं दिन संसद्‌मा उपस्थित नभएर बैठकमा झुल्किएका बालेनमा अकस्मात् किन बोल्ने भूत चढ्यो ? बोल्नै थियो भने नियमावलीमै व्यवस्था भएअनुसार बोल्ने चाहना राखेर पूर्वनिर्धारित रूपमा प्रश्न लिएर तिनलाई लिखित रूपमै सम्बोधन किन गरेनन् ? सीमा समस्या बारे सोधिएका प्रश्नको उत्तर उनको स्वतःस्फूर्त थियो वा नियतवश भन्ने प्रश्नका उत्तर आगामी दिनले देखाउलान्। तर उनले संसद्‌को रोस्ट्रममा उभिएर जुन ‘ब्लन्डर’ बदमासी गरे, त्यसको परिणाम दूरगामी हुनेछ र त्यो नेपालको सार्वभौमसत्तासँग सीधै जोडिएको छ।

विधि, पद्धति र संसद्‌को खिल्ली उडाउँदै आफूलाई सर्वाधिपति ठान्ने प्रधानमन्त्री बालेनको दम्भ र उनको ब्लन्डरलाई सामान्यीकरण गर्ने अन्धभक्तहरूको भीडले देशलाई कता डोहोर्‍याउँदै छ?

नवपुस्ताको आन्दोलनको बलमा भएको चुनावमा अधिकाधिक मत पाएर बनेको रास्वपा सरकारले खाली गराएका सयौं राजनीतिक नियुक्तिका पद पाइने लोभमा हो कि वा किन हो, धेरै गन्यमान्य ठानिएकाहरूले पनि देशको सम्प्रभुतासँग जोडिएको बालेनको अभिव्यक्तिलाई सामान्यीकरण गरिरहेका छन्। आफ्नो उग्रकालमा माओवादीले भन्ने गरेको ‘क्रमभङ्गताको उपक्रम’ जस्ता सबै परम्परा तोड्ने बालेनका ‘बदमासी’ लाई बेवास्ता र सामान्यीकरण गर्नु अझ घातक विषय हो। तर त्यसको पङ्क्तिमा घागडान विद्वान् भनिएका कथित गन्यमान्यहरू उभिएको देखिनु उदेकलाग्दो विषय हो।

आइतबारको संसदीय शृङ्खला र त्यसमा रप्फु भर्ने विद्वत् उपकृत्यले जसरी बालेनले आफ्नो कालो चस्माले आफूबाहेक सारा संसारलाई कालो देखिरहेका छन्, त्यसैगरी ज्ञानी भनिएका अज्ञानी र अल्पज्ञानी अनि पठित भनिएका अपठितहरूले बालेन्द्रलाई ‘सेभियर’ ठानिरहेका छन् भन्ने स्पष्ट पारेको छ।

यस्तो बेलामा भूराजनीति र कूटनीतिक परीक्षामा नाङ्गिएका बालेन्द्र दोषी हुन् कि ‘महाराजको पोशाक कति राम्रो’ भन्दै उनलाई नाङ्गै घुमाउने साइबर समर्थक र ‘युफोरिक’, आत्मश्लाघी, ‘नार्सिसिस्ट’ उच्चमध्यम वर्गीय स्वस्तिवाचक मुख्याभियुक्त हुन् भन्ने खुट्याउन कठिन छ।

मुख्याभियुक्त जोसुकै भए पनि आइतबारको कचहरीले बालेन्द्रको जलप उतारिदिएको छ। अनि, काँचुली निस्केपछि उनका मुख्यत: पाँच विशेषता उजागर भएका छन् :

एक, बालेन आफूलाई सर्वाधिपति ठान्छन् र अरू सबै दास हुन् भन्ने मान्छन्।

दुई, उनी विधि, पद्धति र मान्यता पछ्याउन चाहँदैनन् र त्यही हठमा अडिग छन्।

तीन, उनको हठलाई ‘इन्डोर्स’ र ‘लेजिटिमाइज’ गरिदिने दल, दलका दास जस्तै कारिन्दा, अन्धभक्त साइबर समर्थक अनि ‘भ्यालिडेट’ गरिदिने छद्म विद्वान् प्रशस्त छन्, त्यसैले उनी उत्तेजित हुन्छन्।

चार, भूराजनीतिक संवेदनशीलता, कूटनीति, परराष्ट्र सम्बन्ध, नेपालको भौगोलिक अखण्डता र सम्प्रभुताप्रति उनी अल्पबुद्धि अनि असंवेदनशील छन्।

पाँच, उनमा नागरिक, राज्य र मतदाताप्रति दायित्वबोध होइन कि सर्वाधिकारपति बनिसकेको अनि सबैलाई ‘देखाइदिने’ दम्भानुभूति छ।

यिनै विलक्षण प्रतिभाका कारण बालेन्द्र शाह देशको प्रधानमन्त्री त के, सामान्यभन्दा सामान्य सार्वजनिक पदधारण गर्न समेत अनुपयुक्त पात्र हुन्। त्यसैले रास्वपाले जनमतको कदर गर्दै उनलाई तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गराउनुपर्छ र अर्को उपयुक्त पात्रलाई प्रधानमन्त्री बनाउनुपर्छ।

उपयुक्त पात्र छैन भने उनैलाई सांसद पदबाट राजीनामा गर्न लगाई, उपयुक्त पात्रलाई उपचुनावबाट संसद् प्रवेश गराई त्यो व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ। त्यसो हुन सकेन भने बालेन्द्र शाहको लम्बिंदो प्रधानमन्त्री कार्यकाल नेपाल र नेपालीका लागि रणबहादुर शाह शासनकालको दोस्रो अध्याय हुनेछ।





Source link

Leave a Comment