लन्डनमा नेपाली सांस्कृतिक केन्द्र स्थापना हुने, सन् २०२७ मा पहिलो आध्यात्मिक महोत्सव


पश्चिम लन्डनमा आइतबार आयोजित एक धार्मिक तथा सांस्कृतिक भेलाले पश्चिम लन्डनमा नेपाल कल्चरल सेन्टर स्थापना गर्ने निर्णय गरेको छ। भेलाले आगामी सन् २०२७ मा लन्डनमा पहिलो पटक आध्यात्मिक महोत्सव आयोजना गर्ने घोषणा समेत गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै धर्म दर्शन सांस्कृतिक केन्द्रका संस्थापक तथा अठार पुराणका ज्ञाता गुरु पण्डित कुबेर सुवेदीले बेलायतमा सनातन धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा प्रवर्द्धनका लागि पश्चिम लन्डनमा एक बहुउद्देश्यीय सांस्कृतिक तथा आध्यात्मिक केन्द्र आवश्यक रहेको बताए।

उनले मन्दिर निर्माण मात्र नभई सांस्कृतिक जागरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भगवानको दिव्य मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको स्थापना समुदायको साझा अभियान हुनुपर्ने बताए। ‘मन्दिर निजी होइन, सामुदायिक हुन्छ। सनातन धर्म र संस्कृतिको संरक्षण गर्नु सबैभन्दा ठुलो सम्पत्ति हो,’ उनले भने।

सुवेदीले आगामी एक वर्षभित्र बेलायतमा भव्य आध्यात्मिक महोत्सव आयोजना गर्ने योजना रहेको जानकारी दिँदै तन, मन र धनले सहयोग गर्न समुदायलाई आह्वान गरे। उनले धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिहरू एउटै स्थानबाट सञ्चालन गर्न सकिने बहुउद्देश्यीय भवन निर्माण गर्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्तो केन्द्र निर्माणको अभियान सामूहिक प्रयासबाट अवश्य सफल हुने विश्वास व्यक्त गरे।

‘यो कुनै एक व्यक्तिको परियोजना होइन, सम्पूर्ण समुदायको साझा सपना हो,’ उनले भने, ‘मन्दिर केवल पूजा गर्ने स्थान मात्र होइन, संस्कार, ज्ञान, सामाजिक एकता र सामुदायिक विकासको केन्द्र पनि हो।’

दुवाडीले केन्द्रलाई सुरुदेखि नै बहुउद्देश्यीय बनाउने सुझाव दिँदै त्यहाँ धार्मिक अनुष्ठान, व्रतबन्ध, पास्नी, विवाह तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिने बताए। नयाँ पुस्तालाई संस्कार, अनुशासन र सत्संगको शिक्षा दिन समेत यस्तो केन्द्र उपयोगी हुने उनको भनाइ थियो।

गुरु चिरञ्जीवी ढकालले समुदायको साथ र सहयोग प्राप्त भए पश्चिम लन्डनमा मन्दिर निर्माणको सपना अवश्य साकार हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्ष धार्मिक महोत्सव आयोजना गरेर अभियानलाई थप सशक्त बनाउनुपर्ने बताए।

त्यसैगरी पण्डित नीलहरि घिमिरेले ‘धर्मो रक्षति रक्षितः’ भन्ने वैदिक उक्ति उद्धृत गर्दै विदेशमा रहेका मन्दिरहरू विश्वविद्यालयसरह ज्ञान र संस्कृतिका केन्द्र हुने बताए। उनले मन्दिर कुनै एक व्यक्तिले नभई समाजले निर्माण गर्ने भएकाले सबै समुदाय एकजुट हुनुपर्नेमा जोड दिए। साथै, नियमित सत्संग सञ्चालन गर्दै अभियानलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिए।

कार्यक्रमका सभापति तथा धर्म दर्शन सांस्कृतिक केन्द्रका अध्यक्ष सहदेव गिरीले पश्चिम लन्डनमा मन्दिर तथा सांस्कृतिक केन्द्र निर्माणको अवधारणा पण्डित कुबेर सुवेदीको प्रेरणाबाट अघि बढाएको बताए। उनले पश्चिम लन्डनमा यस्तो केन्द्रको आवश्यकता लामो समयदेखि महसुस गरिएको उल्लेख गर्दै अभियान अब नरोकिने र मन्दिर अवश्य निर्माण हुने विश्वास व्यक्त गरे।

दक्षिणपूर्वी लन्डनको प्लमस्टेडस्थित पशुपतिनाथ मन्दिर स्थापना गर्दाको अनुभव साझा गर्दै गिरीले आर्थिक स्रोत जुटाउनु मात्र नभई समुदाय परिचालन, स्थानीय निकायका नियमको पालना र सबैको सहयोग प्राप्त गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए।

उनले प्रस्तावित केन्द्रमा पशुपतिनाथ, साई, बुद्ध तथा प्रणामी परम्पराका आध्यात्मिक गतिविधिका साथै पुस्तकालय र क्यान्टिनको व्यवस्था गर्ने परिकल्पना रहेको जानकारी दिए। संस्थाको प्रारम्भिक चरणमा सहभागी संस्थापक सदस्यहरूलाई विशेष सुविधा प्रदान गरिने पनि उनले बताए। गिरीले आफू दक्षिण पूर्वी लन्डनमा बसोबास गर्ने भएकाले समय दिन गाह्रो भएको बताउँदै सेन्टरको नयाँ संयोजकमा चिरन शर्मालाई प्रस्ताव पनि गरे।

कार्यक्रममा नेपाल कल्चरल सेन्टरका संस्थापक सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, केन्द्र स्थापना सम्बन्धी सात बुँदे घोषणापत्र वाचन गरी सुनाइएको थियो। बेलायतमै हुर्किरहेकी किशोरी तिया आचार्यले नयाँ बन्ने केन्द्रले वयस्क मात्रै होइन बालबालिका र युवाहरूका लागि पनि विभिन्न गतिविधि सञ्चालन गर्नु पर्ने सुझाव दिइन्।

भेलामा सहभागीहरूले पश्चिम लन्डनमा धार्मिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिहरू सञ्चालन गर्न सक्ने बहुउद्देश्यीय नेपाल कल्चरल सेन्टरको स्थापना समयको आवश्यकता भएको निष्कर्ष निकाल्दै अभियानलाई सफल बनाउन सबै नेपाली समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा मोर्गेज एडभाइजर ऋषि खनालले नेपाली सांस्कृतिक केन्द्रका लागि भवन खरिद गर्न विभिन्न मोडेलहरू प्रस्तुत गर्दै बढी भन्दा बढी सदस्यहरूले नियमित रूपमा मासिक सहयोग (डाइरेक्ट डेबिट) गरेमा भवन खरिद गर्न वित्तीय संस्थाबाट ऋण लिन सजिलो हुने सुझाव दिए।

कार्यक्रमको सञ्चालन चिरन शर्माले गरेका थिए भने सुजन पराजुलीले राष्ट्रिय गीत तथा भजन गाएर भक्तजनहरूलाई नचाएका थिए। भेलाले नेपाली कल्चर सेन्टर युकेको संयोजकको जिम्मा चिरन शर्मालाई दिएको छ।

भेलाले जारी गरेको लन्डन घोषणापत्रको पूर्ण पाठ:
बेलायतस्थित नेपाली समुदायमा नेपाली भाषा, भेषभूषा, धर्म तथा संस्कृतिको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धन गर्ने पवित्र उद्देश्यका साथ सनातन धार्मिक देवलहरू सहितको एक एकीकृत सांस्कृतिक केन्द्र स्थापना गर्ने महान् संकल्पसहित लन्डनस्थित स्ट्यान्डवेलमा एक बृहत् धार्मिक भेला भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, श्रद्धेय पण्डित कुवेर सुवेदीको प्रमुख आतिथ्यता तथा केन्द्रका अध्यक्ष सहदेव गिरीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा बेलायतस्थित आदरणीय धर्मगुरुहरू, सामाजिक अभियन्ताहरू, सञ्चारकर्मीहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

उक्त ऐतिहासिक भेलाबाट सर्वसम्मत रूपमा निम्न बमोजिमको घोषणापत्र जारी गरिन्छ:
१. पश्चिम लन्डनमा एक सुविधासम्पन्न सांस्कृतिक केन्द्र स्थापना गर्ने पवित्र उद्देश्यका साथ श्रद्धेय पण्डित कुवेर सुवेदीको विशेष पहल र अग्रसरतामा प्रारम्भ गरिएको ‘धर्म दर्शन कल्चर सेन्टर’ लाई परिमार्जन गरी अब उप्रान्त ‘नेपाली कल्चरल सेन्टर युके’ नामकरण गर्ने निर्णय गरिन्छ। साथै, यस पुण्य कार्यको आधारशिला स्थापना गर्नुहुने आदरणीय पण्डित कुवेर सुवेदीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै विशेष धन्यवाद ज्ञापन गरिन्छ।

२. पश्चिम लन्डनस्थित नेपाली समुदाय तथा भावी पुस्ताहरूका लागि नेपाली भाषा, कला, लिपि, संस्कृति एवं सनातन हिन्दु धार्मिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित ‘नेपाली कल्चरल सेन्टर युके’ को अभियानलाई सफल बनाउन बेलायतवासी सम्पूर्ण नेपाली समुदाय, संघसंस्था तथा शुभेच्छुकहरूलाई आर्थिक, भौतिक तथा नैतिक सहयोगका लागि हार्दिक अपिल गरिन्छ।

३. सनातन हिन्दु धर्मको प्रवर्द्धन तथा ‘नेपाली कल्चरल सेन्टर युके’ को स्थापना र दीर्घकालीन स्थायित्वका लागि आगामी एक वर्षभित्र बेलायतमा भव्य रूपमा ‘पहिलो बृहत् धार्मिक महोत्सव’ आयोजना गर्ने संकल्प गरिन्छ। उक्त महोत्सवलाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न संस्थाका संरक्षक आदरणीय चिरञ्जीवी ढकालको संयोजकत्वमा संस्थापक सदस्यहरू समेत समावेश रहने गरी ५१ सदस्यीय महोत्सव तयारी मूल समिति गठन गरिएको छ।

४. यो भेला युकेमा नेपाली भाषा, कला–संस्कृति तथा हिन्दु धर्मको प्रवर्द्धनलगायत समान सामाजिक, धार्मिक तथा सांस्कृतिक उद्देश्य र मूल्यमान्यता बोकेका विभिन्न संघसंस्थाहरू, धार्मिक समाजहरू तथा समुदायहरूबिच आपसी एकता, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ।

५. यस ऐतिहासिक धार्मिक भेलालाई सभ्य, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने साई परिवार हन्स्लो तथा फेल्थम, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडी, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू तथा सम्पूर्ण उपस्थित महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा साधुवाद ज्ञापन गरिन्छ।

६. ‘नेपाली कल्चर सेन्टर युके’ को दिगो विकास, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न संस्थाको सञ्चालन, आर्थिक व्यवस्थापन तथा निर्णय प्रक्रियालाई व्यवस्थित गर्न स्पष्ट विधान तयार गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गरिन्छ।

७. यो भेला भावी पुस्तालाई लक्षित गर्दै नेपाली भाषा शिक्षण, धार्मिक अध्ययन, सांस्कृतिक प्रशिक्षण तथा सामुदायिक कल्याणसम्बन्धी विविध कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न एक दीर्घकालीन योजना बनाई यस केन्द्रलाई एक जीवित सांस्कृतिक धरोहरका रूपमा विकास गर्ने प्रण गर्दछ।

प्रकाशित: १८ जेष्ठ २०८३ १०:४२ सोमबार





Source link

Leave a Comment