News Summary
Generated by OK AI. Editorially reviewed.
- प्रारम्भिक बाल्यावस्थामा आमाबुबाको उचित अभिभावकत्वले बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासको महत्त्वपूर्ण आधार तय गर्छ ।
- पारिवारिक तनाव र डिजिटल लतका कारण अभिभावक र बालबालिकाबीच भावनात्मक दूरी बढ्दा उनीहरूमा मानसिक समस्याको जोखिम उच्च देखिएको छ ।
- भविष्यमा जिम्मेवार र संस्कारी सन्तान पाउन अभिभावकले बालबालिकालाई नियन्त्रण गर्नुको सट्टा पर्याप्त समय दिई मित्रवत् सम्बन्ध बनाउनु आवश्यक छ ।
हाम्रो संस्कारले सधैं बालबालिका गलत र आमाबुवा सही हुन्छन् भनेर सिकाउँदै आएको छ । हरेक परिवार, समाज वा चिया चौतारोमा प्राय: एउटै कुरा सुनिन्छ– सन्तानले आमा–बुवाको सम्मान गर्नुपर्छ, उनीहरू बुढेसकालको सहारा बन्नुपर्छ ।
यो कुरामा दुई मत छैन । तर प्रश्न उठ्छ– के आमा–बुवाले आफ्नो सन्तानप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गरिरहेका छन् त ? के हरेक बच्चाले आफ्नो बाल्यकालमा आवश्यक माया–ममता, आत्मीयता, सुरक्षा र भावनात्मक सहारा पाइरहेका छन् त ?
प्रारम्भिक बाल्यावस्था (गर्भावस्थादेखि ८ वर्षसम्म) मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । यस अवस्थामा बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकासको आधार बन्छ । यही अवस्थामा बालबालिकाले जस्तो अनुभव गर्छन् प्राय: भावी जीवन त्यस्तै व्यतित गर्छन् । शिशु गर्भमा रहँदा वा जन्मेपछि उचित स्याहार र सन्तुलित विकासको अवसर प्रदान गर्ने जिम्मेवारी आमाबाबुको हुन्छ । त्यसैले बालबालिकाको पहिलो पाठशाला उनीहरूको घर र पहिलो शिक्षक आफ्ना आमाबाबु हुन् ।
आमाबाबु, परिवार, आफन्त र समुदायमा बालबालिका हुर्किंदा संस्कार, संस्कृति, रहनसहन, सामाजिक मूल्य–मान्यतासँगै व्यावहारिक ज्ञान सिक्ने अवसर पाउँछन् । विशेषगरी छोराछोरीको आत्मविश्वास, आत्मसम्मान, संवेदनशिलता, व्यवहार र सम्बन्ध बुझ्ने क्षमतामा आमाको भूमिकालाई महत्वपूर्ण मानिन्छ ।
आमा केवल भान्से मात्रै होइनन् । उनी बच्चाको सुरक्षा कवच हुन् । नर्स हुन्, सुसारे हुन्, गाँस काटेर सास बचाउने साहस हुन् । धर्ती हुन्, जुन हुन्, शीतल हुन् । समग्रमा आमा सबथोक हुन् ।
यहाँ बालबालिकाका सन्दर्भमा आमाको आवश्यकता बढी उल्लेख भए पनि बाबुको भूमिका पनि कम महत्वपूर्ण छैन । बाबुले बच्चालाई अनुशासन, सुरक्षा, प्रेरणा र जिम्मेवारी सिकाउने महत्वपूर्ण भूमिका खेल्छन् । तर हाम्रो समाजमा स्वभावैले धेरै बाबुहरू भावनात्मक रूपमा बच्चासँग नजिक हुन सक्दैनन । उनीहरू कमाउने जिम्मेवारीमै सीमित हुन्छन् । फलस्वरूप बच्चाले बाबुसँग आफ्ना भावना खुलाएर भन्न सकेको कमै देखिन्छ ।
संसार देखाएपछि बाटो देखाउनु आमाबाबुको कर्तव्य हुन आउँछ । तर समाजमा कतिपय यस्ता आमाबाबु पनि देख्न सकिन्छ, जसले जन्म त दिएका छन् तर असल कर्म दिन सकिरहेका छैनन् ।
सबै बाबुआमा गलत हुन्छन् भनेर कल्पना गर्न सकिँदैन । तर समाजमा केही आमाबाबुका कारण कतिपय बालबालिका अलपत्र परेका छन् । मायाको भिख मागिरहेका छन् । कतिपय बालबालिका परिवारका अन्य सदस्यहरूको माया–ममतामा पालिएका भए पनि आमाको न्यानो काखको अभावमा संकुचित जीवन बिताइरहेका छन् । विवाहित जीवन सन्तान सुखपछि पूर्ण मानिन्छ । यो अवसर नपाउँदा हुने पीडा छुट्टै हुन्छ । यसलाई बोध गर्न नसक्दा कैयौं बालबालिका आमाबाबु जीवित छँदै बेसहारा बनेका छन्, टुहुरा बनेका छन् ।
समाजमा हामी यस्ता अभिभावक पनि देख्छौं जसले बच्चाहरूप्रति आर्थिक जिम्मेवारी पूरा गर्नु नै पर्याप्त ठान्छन् । उनीहरूको सोचाइ हुन्छ– राम्ररी पढाइदिएको छु, खान–लाउन दिएको छु, अब मेरो कर्तव्य पूरा भयो । तर बच्चाले महँगो विद्यालय, महँगा कपडा वा महँगा खेलौना मात्र खोज्दैनन् । उनीहरूले आफूलाई बुझ्ने मान्छे खोजिरहेका हुन्छन् र त्यो व्यक्ति प्राय: आमा हुन्छिन् ।
जब व्यक्ति असफल हुन्छ, दु:खमा पर्छ, डराउँछ, एक्लो महसुस गर्छ वा जीवनप्रति अन्योलमा पर्छ, उसले सबैभन्दा पहिले सम्झिने व्यक्ति पनि प्राय: आमा नै हुन्छिन् । यसरी हेर्दा हरेक बालबालिकाको संरक्षकको रोलमा आमा अग्रपंक्तिमा हुन्छिन् भने बाबुको रोल उनै मममतामयी आमालाई साहस दिने हुनुपर्छ ।
तर, विडम्बना, आज धेरै परिवारमा आर्थिक दबाब, वैदेशिक रोजगार, सम्बन्धविच्छेद, पारिवारिक तनाव वा अत्याधिक व्यस्त जीवनशैलीका कारण बच्चाहरू भावनात्मक रूपमा एक्लिँदै गएका छन् । अभिभावकले आफ्नो व्यक्तिगत निर्णय, सम्बन्ध वा महत्वाकांक्षाका कारण बच्चालाई एक्लो छोड्ने प्रवृत्तिले उनीहरूको जीवन पीडादायी बनेको हुन्छ ।
अरूको लाख आमाको काख । बच्चाको लागि आमाको काख जत्तिको सुखद ठाउँ कतै हुँदैन । बच्चाको कोमल मनले प्रश्न गरिरहने हुन्छ, उनीहरू हरेक कुरामा जिज्ञासु हुन्छन् । समय परिस्थितिले बालबालिका सबै कुरा व्यक्त गर्न नसक्लान् तर उनीहरूको अन्तरमनले आमाको साथ खोजिरहेको हुन्छ । आमाको स्पर्शमा उनीहरूले धेरै जवाफ पाइरहेका हुन्छन् । तर आफ्नो कोख भरेर जन्मिएको सन्तानप्रति कठोर आमाहरू पनि देखिन्छन् । अनि, सन्तानको भारी बोकाएर एक्लै छोेडिएका महिलाहरूले कैयौं कष्ट भोगेर हुर्काएका सन्तानप्रति आफ्नो वंशको अधिकार खोज्ने बाबुको पनि कमी छैन ।
सन्तानले भविष्यमा आफ्ना बाबुआमालाई सम्मान माया र साथ दिउन् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर सम्मान डर वा सामाजिक कर्तव्यबोधले होइन प्रेम, विश्वास र आत्मीयताले जन्मिनुपर्छ । बच्चालाई सहारा चाहिने बेला साथ दिन सकिएन भने भविष्यमा सम्बन्धको दूरी बढ्नु स्वाभाविक हो ।
जन्म दिएर सन्तानप्रति कर्तव्य विमुख बन्ने, पैसा, बैंस या अन्य बहानामा हुर्कंदै गरेका बच्चालाई स्कुले भवनमा कैद गरेर होस् या अन्यत्र छोडेर, आफूलाई स्वतन्त्र बनाउने अनि तिनै आमाबाबुले सन्तानबाट सुखको अपेक्षा गर्ने त्यस्तो कसरी सम्भव हुन सक्छ ? सम्बन्ध केवल जन्मद्वारा मात्रै स्थापित हुँदैन यो त व्यवहार, समय र ममताले बलियो बनाउँछ ।
बाबुआमा साथमा चाहिने बेला एक्लै छोड्ने अनि आफूलाई सहारा चाहिने बेला उनीहरूले एक्लै छोडिदिँदा दु:खमनाउ गर्ने छुट त्यस्ता बाबुआमालाई छैन । होइन भने बालबालिकालाई आमाबाबुको आत्मीय साथ चाहिने बेला जस्तोसुकै परिस्थितिमा पनि एक्लो पार्नु हुँदैन ।
आर्थिक उपार्जनका पाटा धेरै हुन सक्छन् । परिवार बालबच्चा साथमा रहेर कमाएको सानो रकममा परिवारको खुसी मिसिएको हुन्छ । यसले जीवनलाई सुखी बनाउन सक्छ । बालबच्चाकै लागि भनेर कलिला बालबच्चा छोडेर हिँड्नु कति सान्दर्भिक होला ? समय परिस्थितिले अप्ठ्यारो पार्ला तर सन्तानका लागि आफूसगै भएर दु:खसुख काट्दा उनीहरू झन् बुझ्ने बन्छन्, व्यावहारिक बन्छन् ।
आजभोलि धेरै बालबालिकाले आफ्ना पीडा, डर र सपना परिवारसँग नभई इन्टरनेटसँग बाँड्न थालेका छन् । यो अवस्था निकै खतरनाक हो । जब बालबालिकाले आफू ‘बोझ’ भएको महसुस गर्न थाल्छन् तब उनीहरूमा नकारात्मक सोचको विकास हुन थाल्छ । उनीहरू बाहिरी संसारमा माया खोज्न थाल्छन् । गलत संगतमा पर्न सक्छन् वा मानसिक रूपमा कमजोर बन्न सक्छन् । धेरै किशोर–किशोरीहरू डिप्रेसनमा पर्ने, आत्महत्याको सोच गर्ने र नसा वा असामाजिक गतिविधितर्फ जानुको एउटा कारण घरभित्रको भावनात्मक सम्बन्धको अभाव पनि हो ।
एक अध्ययनअनुसार कडा नियन्त्रणमा हुर्केका र बाल्यकालमा राम्रो अभिभावकत्व नपाएका बालबालिका अर्थात् बाल्यकालमा हुने उच्च तहको तनावको असर वयस्क हुँदा उच्च कोलस्ट्रोल, रक्तचाप र मधुमेहका रूपमा देखापर्छ । त्यस्ता बिरामीमा आत्मकरुणाको कमी देख्न सकिन्छ र उनीहरू अरूबाट मद्दत माग्न गाह्रो मान्छन् । सम्बन्धमा पनि उनीहरू सुरक्षित महसुस गर्दैनन् ।
मनोविज्ञानका विभिन्न अध्ययनअनुसार बच्चाको प्रारम्भिक उमेरमा प्राप्त माया, सुरक्षा र व्यवहारले उसको सम्पूर्ण भविष्य निर्धारण गर्न सक्छ । बच्चाले घरमै सिकेको व्यवहार, बोली, सम्बन्धको शैली र आत्मविश्वास पछि उसको व्यक्तित्वको आधार बन्छ ।
आजको बदलिँदो परिवेश हेर्दा सम्बन्धहरू भौतिक सुविधाले मात्रै टिकिरहेको जस्तो देखिन्छ । यहाँ कोही अभिभावक आफ्नो सन्तानको करिअर, कामकाजी जीवन र सम्बन्ध छनोटबारे अयथार्थवादी अपेक्षा राखेर नियन्त्रण गर्न खोज्छन् भने कोही अभिभावक आत्मकेन्द्रित हुन्छन् जसले प्राथमिकतामा सन्तानलाई नराखी आफूलाई राख्छन् ।
बाबुआमाले बालबालिकाप्रतिको दायित्व निभाउन नसक्दा वर्षेनी ठूलो संख्यामा बालबालिका अभिभावकविहीन बनेर सडकमा आउने, बेचबिखनमा पर्ने, बालयौन दुर्व्यवहारमा पर्ने, बाल मजदुरको रूपमा जोखीमपूर्ण काममा लाग्ने जस्ता कहालिलाग्दा तथ्याकंहरू छन् ।
घरमा झगडा, उपेक्षा, डर वा असुरक्षाको अनुभवमा हुर्किएका बालबालिकाभन्दा प्रेम, संवाद र विश्वासको वातावरणमा हुर्किएका बालबालिका भावनात्मक रूपमा बलिया, जिम्मेवार र संवेदनशील हुन्छन् ।
त्यसैले, जस्तोसुकै व्यस्त जीवनशैलीमा पनि केही समय बच्चासँग खुलेर कुरा गर्ने बानी बसाल्नुपर्छ । विषम परिस्थिति बाहेक बालबालिकालाई आमाबाबुको काखमा हुर्किने वातावरण बनाउनुपर्छ । उसको विद्यालय, साथी, डर, इच्छा र समस्या सुन्नुपर्छ । उनीहरूसँग भावनात्मक रूपमा उपलब्ध हुनुपर्छ । गल्तीमा कारण बुझ्ने प्रयास गर्नुपर्छ । ‘तिमी एक्लो छैनौ’ भन्ने अनुभूति दिलाउनुपर्छ ।
यसका लागि बालबालिकालाई पारिवारिक झगडाबाट जोगाउनुपर्छ । आमा–बुबाबीचको तनावको सबैभन्दा ठूलो असर बच्चामा पर्छ । सम्भव भएसम्म बच्चाको अगाडि एक अर्कामा अपमान, हिंसा वा झगडाको वातावरण बनाउनु हुँदैन । यसले बालबालिकामा नकारात्मक असर परिरहेको हुन्छ । आफ्ना बालबालिकालाई सही मार्ग प्रदान गर्ने जिम्मेवारी बाबु–आमाले संयुक्त लिनुपर्छ ।
बालबालिकालाई सम्मानजनक व्यवहार गर्नुपर्छ, उनीहरूलाई हिंसाको भयबाट टाढा राखी माया र हौसला दिनुपर्छ । तुलना होइन, क्षमता बुझेर प्रोत्साहन दिनुपर्छ । यदि परिस्थितिवश टाढा बस्नुपरे पनि बच्चासँग नियमित संवाद, भिडियो कल, माया र चासो निरन्तर हुनुपर्छ । ताकि दूरीले सम्बन्ध कमजोर नबनाओस् ।
बाबु–आमा दुवैले बच्चासँग मित्रवत सम्बन्ध बनाउन सक्नुपर्छ । बच्चालाई केवल नियन्त्रण होइन, संवाद चाहिन्छ । आदेश होइन, अपनत्व चाहिन्छ । आज एउटै छानामुनि बसेर पनि पारिवारिक सम्बन्धहरू भावनात्मक रूपमा टाढिँदै गएका छन् । अभिभावकमा सामाजिक सञ्जालको लत र बालबालिकामा डिजिटल लतका कारण एउटै घरभित्र संवाद हराउँदै गएको छ ।
बच्चालाई जन्म दिनु मात्रै अभिभावकत्व होइन, उसको मन बुझ्नु, आवश्यक्ता महसुस गर्नु र जीवनका हरेक मोडमा साथ दिनु नै वास्तविक अभिभावकत्व हो । विशेषगरी बढ्दो उमेरमा आमाबुबाको माया, संवाद र असल संस्कारले बच्चाको जीवनलाई सही दिशा दिन सक्छ ।
सन्तानले भविष्यमा आफ्ना बाबुआमालाई सम्मान माया र साथ दिउन् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर सम्मान डर वा सामाजिक कर्तव्यबोधले होइन प्रेम, विश्वास र आत्मीयताले जन्मिनुपर्छ । बच्चालाई सहारा चाहिने बेला साथ दिन सकिएन भने भविष्यमा सम्बन्धको दूरी बढ्नु स्वाभाविक हो । यदि भविष्यमा असल, जिम्मेवार र संस्कारी सन्तान चाहने हो भने आज स्वयं असल, जिम्मेवार र संवेदनशील अभिभावक बन्नैपर्छ ।
