केनेडी सेन्टरबाट ट्रम्पको नाम हटाउन अमेरिकी अदालतको आदेश



प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार

केनेडी सेन्टरबाट ट्रम्पको नाम हटाउन अमेरिकी अदालतको आदेश

अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम राजधानी वासिङ्टनस्थित “जोन एफ. केनेडी मेमोरियल सेन्टर फर द परफर्मिङ आर्ट्स” को आधिकारिक नामबाट हटाउन आदेश दिएको छ।

सङ्घीय न्यायाधीशले जारी गरेको आदेशमा संसद्को स्वीकृतिबिना केन्द्रको नाम परिवर्तन गर्न नमिल्ने ठहर गरिएको छ। प्रस्तावित मर्मत तथा पुनःनिर्माणका लागि केन्द्रलाई अस्थायी रूपमा बन्द गर्ने निर्णयलाई पनि अदालतले रोक लगाएको छ।

अदालतले ट्रम्पको नाम केन्द्रको शीर्षक, भवनमा राखिएका नामावली, विद्युतीय माध्यमका सामग्री तथा अन्य सबै आधिकारिक अभिलेखबाट १४ दिनभित्र हटाउन निर्देशन दिएको छ।

केन्द्रका प्रवक्ताले अदालतको निर्णयविरुद्ध माथिल्लो अदालतमा जाने बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत संसद्‌सँग सहकार्य गरेर केन्द्रको व्यवस्थापन पुनः संसद्को नियन्त्रणमा ल्याउने प्रयास गर्ने बताएका छन्।

उनले आफूलाई संस्थालाई भौतिक, आर्थिक र कलात्मक रूपमा पुनर्जीवित गर्ने स्वतन्त्रता नदिइए त्यसमा निरन्तर संलग्न रहने इच्छा नरहेको उल्लेख गरेका छन्।

गत वर्ष ट्रम्पले केन्द्रको सञ्चालक समितिमा व्यापक परिवर्तन गर्दै केही सदस्य हटाएका थिए। त्यसपछि उनी स्वयं पनि समितिमा आबद्ध भएका थिए र पछि केन्द्रको अध्यक्ष चयन भएका थिए।

गत पुसमा सञ्चालक समितिले संस्थाको नाम परिवर्तन गरी ट्रम्प र राष्ट्रपति जोन एफ. केनेडी दुवैको नाम समेट्ने निर्णय गरेको थियो। त्यसलगत्तै भवनको अगाडिको भागमा ट्रम्पको पूरा नाम राखिएको बोर्ड जडान गरिएको थियो।

यस वर्ष फागुनमा ट्रम्पले अमेरिकाको २५० औँ स्थापना दिवसको सम्मानमा आगामी असार २० गतेदेखि सुरु हुने मर्मत कार्यका लागि केन्द्रलाई दुई वर्ष बन्द गर्ने घोषणा गरेका थिए।

यस निर्णयविरुद्ध ओहायो राज्यकी सांसद जोयस बिट्टी तथा केही पूर्व सञ्चालकहरूले अदालतमा मुद्दा दायर गरेका थिए। उनीहरूले आफूहरूलाई केन्द्रको निर्णय प्रक्रियाबाट अन्यायपूर्ण रूपमा हटाइएको आरोप लगाएका थिए।

अदालतको निर्णयपछि बिट्टीले केनेडी केन्द्र अमेरिकी जनताको साझा सम्पत्ति भएको र कुनै एक व्यक्तिको निजी प्रतिष्ठा बढाउने माध्यम बन्न नसक्ने बताएकी छन्।

यता केन्द्रका अधिकारीहरूले भने अदालतको निर्णय पुनरावलोकनका लागि अपिल गर्ने बताएका छन्। उनीहरूका अनुसार केन्द्रलाई तत्काल मर्मत तथा पुनःस्थापनाको आवश्यकता छ। त्यसका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको छ।

न्यायाधीश क्रिस्टोफर कुपरले आफ्नो विस्तृत निर्णयमा केन्द्र स्थापना गर्ने कानुनले यसको नाम राष्ट्रपति जोन एफ. केनेडीको स्मृतिमा राखिएको स्पष्ट गरेको उल्लेख गरेका छन्। उनले संसद्ले दिएको नाम परिवर्तन गर्ने अधिकार पनि संसद्कै रहेको बताएका छन्।

अदालतको आदेशसँगै अब केन्द्रको आधिकारिक नाम पुनः “जोन एफ. केनेडी मेमोरियल सेन्टर फर द परफर्मिङ आर्ट्स” कायम हुने भएको छ। यो केन्द्र सन् १९६३ मा हत्या गरिएका राष्ट्रपति जोन एफ. केनेडीको सम्झनामा सन् १९७१ मा स्थापना गरिएको थियो।





Source link

Leave a Comment