अमेरिकाद्वारा इरानमाथि पुनः आक्रमण सुरु



प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार

फाइल फोटो : एएफपी/रासस

अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेको छ। अमेरिकी सेनाले इरानका सैन्य ठेगानाहरूलाई लक्षित गरी नयाँ हवाई हमला गरेको हो।

अमेरिकी अधिकारीहरूका अनुसार होर्मुज जलमार्ग आसपासका सैन्य स्थलहरूलाई लक्षित गर्दै यो आक्रमण गरिएको हो। अमेरिकी सेना र व्यावसायिक जहाजहरूको सुरक्षामा खतरा उत्पन्न भइरहेका स्थानहरूमा हवाई हमला गरिएको अमेरिकी सेनाले दाबी गरेको छ।

अधिकारीहरूले बताएअनुसार अमेरिकाले खतरा मानिएका इरानका चारवटा आक्रमणकारी ड्रोनहरू पनि खसालेको छ।

अमेरिकी सेनाले बन्दर अब्बासस्थित इरानी ‘ग्राउन्ड कन्ट्रोल स्टेशन’ माथि पनि हमला गरेको जनाएको छ। उक्त केन्द्रबाट पाँचौँ ड्रोन उडाउने तयारी भइरहेको अमेरिकी दाबी छ।

अमेरिकी पक्षले यी कारबाहीहरू सीमित, पूर्ण रूपमा रक्षात्मक तथा युद्धविराम कायम राख्ने उद्देश्यले गरिएको जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान शान्तिवार्ताप्रति इमानदार नदेखिएको आरोप लगाएका थिए।

मन्त्रिपरिषद्को पछिल्लो बैठकका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले इरान “कमजोर अवस्थामा वार्ता गरिरहेको” बताएका थिए। उनले आफ्नो युद्ध रणनीतिमा नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले कुनै असर नपार्ने दाबी गरे।

बैठकमा ट्रम्पले भनेका थिए, “फेरि फर्केर युद्ध समाप्त गर्नुपर्ने हुन पनि सक्छ, नहुन पनि सक्छ।”

उक्त बैठकमा ट्रम्पले खाडी मुलुकहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन गरिएको ‘अब्राहम सम्झौता’ मा सहभागी हुन पनि आग्रह गरेका थिए।

इजरायलले गत २८ फेब्रुअरीमा अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरेको थियो। इजरायल अहिले लेबनानमा इरान समर्थित हिजबुल्लाहसँगको युद्धमा पनि संलग्न छ।





Source link

Leave a Comment

Translate »