प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार

तस्बिरः योहान्स ब्लेन्के/अनस्प्लास
अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्डको सजाय पाएका एक कैदीको फाँसी अन्तिम समयमा एकाएक स्थगित गरिएको छ। चिकित्सक टोलीले घातक औषधि दिनका लागि आवश्यक ‘शिरा’ फेला पार्न नसकेपछि मृत्युदण्ड रोकिएको हो।
सन् १९९४ मा तीन जनाको अपहरण तथा हत्या अभियोगमा दोषी ठहरिएका टोनी क्यारुथर्सलाई बिहीबार मृत्युदण्ड दिने तयारी गरिएको थियो। तर, टेनेसी सुधार विभागले चिकित्सक टोलीले मुख्य सुईमार्फत औषधि प्रवाह गराउने एउटा शिरा फेला पारे पनि वैकल्पिक दोस्रो शिरा भेट्टाउन नसकेको जनाएको छ।
घातक सुईमार्फत मृत्युदण्ड दिनका लागि नियमअनुसार अर्को वैकल्पिक शिरा अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ। यो प्राविधिक समस्या आएपछि टेनेसीका गभर्नर बिल लीले क्यारुथर्सको मृत्युदण्ड एक वर्षका लागि स्थगित गर्ने घोषणा गरेका छन्।
सुधार विभागले जारी गरेको वक्तव्यमा मुख्य सुई जडान गरेपछि पनि टोलीले प्रक्रियाअनुसार अर्को उपयुक्त शिरा खोज्ने प्रयास जारी राखेको तर सफल हुन नसकेको उल्लेख गरिएको छ। वक्तव्यअनुसार चिकित्सक टोलीले केन्द्रीय लाइन जडान गर्ने प्रयास पनि गरेको थियो। तर, त्यो प्रक्रिया पनि असफल भएपछि अन्ततः मृत्युदण्ड कार्यान्वयन रोकिएको हो।
क्यारुथर्स सन् १९९६ मा मार्सेलोस एन्डरसन, उनकी आमा डेलोइस एन्डरसन र फ्रेडरिक टकरको अपहरण तथा हत्या अभियोगमा दोषी ठहर भएका थिए। ती तीनै जनालाई कुटपिट र गोली हानी हत्या गरिएको थियो भने उनीहरूलाई मेम्फिसस्थित एक कब्रिस्तानमा जिउँदै गाडिएको अभियोग लगाइएको थियो।
क्यारुथर्सको यो मुद्दाले अमेरिकाभरि नै ध्यानाकर्षण गरेको छ। अमेरिकी नागरिक स्वतन्त्रता सङ्घ लगायतका मानवअधिकार पक्षधरहरूले उनको मुद्दामा गम्भीर त्रुटि भएको दाबी गर्दै आएका छन्। एसीएलयूले क्यारुथर्सलाई आफ्नो मुद्दामा आफैँ बहस गर्न बाध्य पारिएको र पर्याप्त कानुनी सहायता नदिइएको आरोप लगाएको छ।
यता क्यारुथर्सले भने आफू निर्दोष रहेको दाबी निरन्तर गर्दै आएका छन्। उनको मृत्युदण्ड रोक्न र यस मुद्दामा आवश्यक औँठाछाप तथा डीएनए परीक्षण गराउन माग गर्दै एसीएलयूले १ लाख ३० हजारभन्दा बढी हस्ताक्षर समेत सङ्कलन गरेको थियो।