प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार
फोटो : एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले प्रस्ताव गरेको १ अर्ब ८० करोड डलरको “राजनीतिक प्रतिशोध विरुद्ध कोष” का कारण सिनेटमा रिपब्लिकन पार्टीको आप्रवासन नियन्त्रणसम्बन्धी प्रमुख विधेयक पारित गर्ने योजना प्रभावित भएको छ।
सिनेटरहरू मेमोरियल डे को बिदाका लागि वासिङ्टनबाट बाहिरिँदै गर्दा रिपब्लिकन सांसदहरूले न्याय मन्त्रालयले अचानक उक्त कोष घोषणा गरेको भन्दै आफूहरू अचम्ममा परेको प्रतिक्रिया दिएका छन्। उक्त कोषलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा अहिले पार्टीभित्रै तीव्र मतभेद देखिएको छ।
यो विवाद यति गम्भीर बनेको छ कि रिपब्लिकनहरूबीच व्यापक आप्रवासन सुरक्षा प्याकेज पारित गर्न आवश्यक ५० मत जुटाउन समेत कठिन हुने अवस्था सिर्जना भएको बताइएको छ। उक्त विधेयकले अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) र सीमा सुरक्षाका लागि अर्बौँ डलर उपलब्ध गराउने योजना समेटेको छ।
राष्ट्रपति ट्रम्पले उक्त विधेयक जुन १ भित्र आफ्नो टेबुलमा पुग्नुपर्ने माग गरेका थिए। तर, अहिले रिपब्लिकन सांसदहरूले त्यो समयसीमा पूरा गर्न नसक्ने लगभग निश्चित भएको छ।
यो घटनालाई ट्रम्पविरुद्ध रिपब्लिकन पार्टीभित्रै बढ्दो असन्तुष्टिको अर्को उदाहरणका रूपमा हेरिएको छ। ट्रम्पले अमेरिकी सिक्रेट सर्भिस र ह्वाइट हाउसको पूर्वी भागमा निर्माण हुने सभा कक्षको सुरक्षाका लागि छुट्टै १ अर्ब डलर माग गरेका थिए। तर, त्यो प्रस्ताव पनि पार्टीभित्रकै विरोधका कारण हटाइने सम्भावना रहेको बताइएको छ।
ह्वाइट हाउसले ट्रम्पका प्राथमिकताहरू पारित गराउन सांसदहरूमाथि तीव्र दबाब दिएको थियो। कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लाञ्चलाई मिनेसोटामा हुने पत्रकार सम्मेलनबाटै फिर्ता बोलाएर सिनेटमा कोषको पक्षमा समर्थन जुटाउन पठाइएको थियो।
तर, ब्लाञ्चले सिनेटमा रिपब्लिकन सांसदहरूको तीव्र असन्तुष्टि सामना गर्नुपऱ्यो। ट्रम्पले हालै आफ्नै पार्टीका केही सिनेटरविरुद्ध सार्वजनिक रूपमा समर्थन फिर्ता लिएका कारण पनि पार्टीभित्र तनाव बढेको बताइएको छ।
सिनेटका बहुमत नेता जोन थ्युनले राजनीतिले अहिलेको अवस्थालाई प्रभावित पारेको स्वीकार गरेका छन्। ट्रम्पले लुइजियानाका सिनेटर बिल क्यासिडी र टेक्सासका जोन कोर्निनविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएपछि पार्टीभित्रको आन्तरिक तनाव थप चर्किएको थियो।
यसैबिच न्याय मन्त्रालयभित्र पनि असन्तुष्टि बढेको बताइएको छ। केही अधिकारीहरूले यो योजना सिधै ह्वाइट हाउसबाट आएको विश्वास गरेका छन्। उनीहरूले यस योजनाको सम्पूर्ण आलोचनाको दोष ब्लाञ्चमाथि मात्र थोपारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
सिनेटको बजेट समितिकी प्रमुख रिपब्लिकन सिनेटर सुसन कोलिन्सले उक्त कोषलाई समर्थन नगर्ने स्पष्ट पारेकी छन्। उनले जनवरी ६ को क्यापिटल हिल भिडन्तमा प्रहरीमाथि हिंसा गर्ने व्यक्तिहरूलाई कानुनी खर्च फिर्ता दिन नहुने तर्क गरेकी छन्।
नर्थ क्यारोलिनाका रिपब्लिकन सिनेटर थोम टिलिसले पनि यदि उक्त कोष विधेयकमा समावेश गरिए आफूले आप्रवासन विधेयककै विरुद्धमा मतदान गर्ने चेतावनी दिएका छन्। उनले अदालतबाट दोषी ठहर भएका व्यक्तिहरूलाई क्षतिपूर्ति दिनु पूर्ण रूपमा मूर्खतापूर्ण भएको टिप्पणी गरे।
न्याय मन्त्रालयले उक्त कोषलाई “जवाफदेहितासम्बन्धी प्रयास” का रूपमा प्रस्तुत गर्दै कस-कसले क्षतिपूर्ति पाउन सक्छन् भन्ने विवरण पनि सार्वजनिक गरेको थियो। तर, त्यसले रिपब्लिकन सांसदहरूको चिन्ता कम गर्न सकेन। अर्कातर्फ, डेमोक्र्याट सांसदहरूले भने रिपब्लिकन पार्टीभित्रको यो विभाजनलाई राजनीतिक रूपमा उपयोग गर्ने तयारी गरेका छन्।
यस विषयमा प्रतिनिधि सभाका सभामुख माइक जोनसनले भने विवादास्पद १ अर्ब ८० करोड डलरको कोष हटाउनुपर्छ कि पर्दैन भन्नेबारे कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।