अमेरिकामा प्रहरीका निगरानी क्यामरामा आइसको गैरकानुनी पहुँच



प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार

black and silver camera on black stand

फोटो: कूल फोटो

अमेरिकाका स्थानीय प्रहरी निकायहरूले सडकमा जडान गरेका ‘अटोमेटेड लाइसेन्स प्लेट रिडर’  क्यामराहरूको डेटा व्यापक रूपमा दुरुपयोग भइरहेको खुलासा भएको छ। स्थानीय स्तरमा अपराध नियन्त्रणका लागि भन्दै सर्वसाधारणको निगरानी गर्न राखिएका यी उच्च प्रविधियुक्त क्यामराहरूको डेटा संघीय अध्यागमन निकाय आइस सँग सम्झौता भएका अन्य राज्यका प्रहरी र विभिन्न एजेन्सीहरूले गैरकानूनी रूपमा प्रयोग गरिरहेको पाइएको हो।

ओहायो राज्यका केटरिङ, मियामी टाउनसिप, टिप सिटी लगायतका क्षेत्रमा राखिएका फ्लक प्रविधिका क्यामराहरूको अडिट रेकर्ड हेर्दा दैनिक हजारौँ पटक सर्वसाधारणका सवारी साधनको डेटा सर्च गर्ने गरिएको पाइएको छ। यसरी सर्च गरिएका कतिपय रेकर्डहरूमा सिधै “अध्यागमन” वा “सिभिल/प्रशासनिक अध्यागमन” उल्लेख गरिएको छ।

स्थानीय प्रहरी प्रमुखहरूले यो डेटा बाहिरका एजेन्सीहरूलाई बाँड्न नमिल्ने दाबी गरे पनि सफ्टवेयर नेटवर्कको कमजोरीका कारण अमेरिकाभरका हजारौँ प्रहरी कार्यालयहरूले ओहायोका नागरिकको दैनिक आवतजावतको विवरण माथि पहुँच बनाइरहेका छन्।

नियम अनुसार कुनै पनि सवारी साधनको नम्बर प्लेट सर्च गर्दा प्रहरी अधिकारीले स्पष्ट र वैध कानुनी कारण खुलाउनुपर्छ। तर, अडिट लगहरूमा अनुसन्धान, अन्य, सूचना  वा केही अस्पष्ट कोड नम्बरहरू मात्र राखेर लाखौँ पटक सर्च गरिएको फेला परेको छ।

अमेरिकी नागरिक स्वतन्त्रता सङ्घ का वरिष्ठ नीति विश्लेषक जे स्ट्यान्लीका अनुसार कतिपय अडिट लगमा प्रहरीहरूले “हा-हा-हा”सम्म लेखेर सर्च गरेको पाइएको छ, जसले यो प्रणालीमाथि कुनै पनि उच्च अधिकारीको निगरानी वा जवाफदेहिता नरहेको प्रमाणित गर्छ।

यस प्रविधिको दुरुपयोग भएको थाहा पाएपछि डेटन सहर प्रशासनले आफ्ना सबै निश्चित स्थानमा राखिएका एएलपीआर क्यामराहरूको प्रयोग तत्कालका लागि अनिश्चितकालका लागि निलम्बन गरेको छ। यता, केटरिङ प्रहरीले पनि चौतर्फी दबाबपछि मे ४ देखि लागू हुने गरी बाहिरी एजेन्सीहरूले अध्यागमन प्रयोजनका लागि मात्र आफ्नो डेटा सिधै सर्च गर्न नपाउने गरी प्रणालीमा परिवर्तन गरेको दाबी गरेको छ।

 ग्रिन काउन्टी र मोन्टगोमरी काउन्टीका शेरिफ कार्यालयहरूको आइससँग आप्रवासी देश निकाला गर्ने वा पक्राउ गर्ने कुनै औपचारिक सम्झौता छैन। तैपनि उनीहरूले केटरिङ र टिप सिटीको डेटा प्रयोग गरी अध्यागमन अनुसन्धान गरिरहेका छन्। ग्रिन काउन्टीका शेरिफ स्कट एङ्गरले संघीय एजेन्टहरूलाई सहयोग नगर्दा समाज असुरक्षित हुने तर्क गर्दै अनौपचारिक रूपमै भए पनि आफूहरूले विवरण साझा गरिरहेको स्वीकार गरेका छन्।

त्यस्तै, टिप सिटीको एएलपीआर डेटा जनवरी र मार्च महिनामा मात्रै बाहिरी राज्यका (टेक्सास, फ्लोरिडा, अलाबामा, लुइसियानामा प्रहरीहरूले लाखौँ पटक सर्च गरेका छन्। तीमध्ये ४० प्रतिशतभन्दा बढी एजेन्सीहरू ‘आइस’ सँग प्रत्यक्ष सम्झौतामा रहेका निकाय हुन्।

यसले गर्दा ओहायोमा बसोबास गर्ने कागजपत्रविहीन आप्रवासीहरू स्थानीय प्रहरीको क्यामराकै कारण चौतर्फी निगरानी र जोखिममा परेका छन्। अधिकारवादी संस्थाहरूले प्रहरीको यस्तो स्वेच्छाचारी निगरानी रोक्न कडा कानुन र बलियो निर्देशिकाको माग गरेका छन्।





Source link

Leave a Comment

Translate »