प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार

अमेरिकाले क्युबालाई आफ्नो राष्ट्रिय सुरक्षामाथिको खतरा भन्दै टिप्पणी गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबा अमेरिकी राष्ट्रिय सुरक्षाका लागि चुनौती भएको बताएका हुन्। उनले क्युबासँग शान्तिपूर्ण सहमति हुने सम्भावना “धेरै कम” रहेको समेत उल्लेख गरे।
अमेरिकाले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा दुईवटा विमान खसालिएको घटनामा अमेरिकी नागरिकको हत्या गरेको आरोपमा मुद्दा दायर गरेको भोलिपल्ट उनको यस्तो अभिव्यक्ति आएको हो। उक्त विमान दुर्घटनामा चार जनाको मृत्यु भएको थियो।
रुबियोले अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान नै रहेको बताए। तर, उनले वर्तमान क्युबाली नेतृत्वसँग सहमति सम्भव नदेखिएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देशको सुरक्षाका लागि आवश्यक कदम चाल्ने पूर्ण अधिकार रहेको चेतावनी दिए।
यता क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले भने रुबियोको आरोपलाई “झुट” भन्दै अस्वीकार गरेका छन्। क्युबाले कहिल्यै अमेरिकाको सुरक्षामा खतरा नपुर्याएको दाबी गर्दै उनले अमेरिकाले आफ्नो देशमाथि सैन्य आक्रमणको बहाना खोजिरहेको आरोप लगाए। रुबियोले क्युबालाई यस क्षेत्रकै प्रमुख आतंकवाद समर्थक राष्ट्रमध्ये एक भएको आरोप लगाए पनि क्युबाली पक्षले त्यसको कडा प्रतिवाद गरेको छ।
हाल क्युबा गम्भीर इन्धन सङ्कटबाट गुज्रिरहेको छ। अमेरिकी तेल नाकाबन्दीका कारण त्यहाँको अवस्था झन् बिग्रिएको बताइएको छ। देशभर लामो समयसम्म विद्युत् कटौती र खाद्यान्न अभाव चुलिएको छ। यद्यपि, रुबियोले अमेरिकाले प्रस्ताव गरेको १० करोड डलर बराबरको मानवीय सहायता क्युबाले स्वीकार गरिसकेको जानकारी पनि दिएका छन्।
राष्ट्रपति ट्रम्पले विगतदेखि नै क्युबामाथि दबाब बढाउने नीति लिँदै आएका छन्। उनले क्युबाको साम्यवादी (कम्युनिस्ट) शासन हटाउने विषयमा खुला रूपमै चर्चा गर्दै आएका छन्। हालै दर्ता गरिएको अभियोगमा राउल क्यास्ट्रोलाई सन् १९९६ मा “ब्रदर्स टु द रेस्क्यु” नामक समूहका दुई नागरिक विमान खसाल्न आदेश दिएको आरोप लगाइएको छ।
क्यास्ट्रोलाई अमेरिकामा कसरी ल्याइन्छ भनी सोधिएको प्रश्नमा विदेशमन्त्री रुबियोले, “यदि हामीले कुनै योजना बनाइरहेका छौँ भने त्यसबारे सञ्चारमाध्यमलाई किन बताउने?” भन्दै प्रतिक्रिया दिएका थिए। अमेरिकी कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लाञ्चले भने क्यास्ट्रो “स्वेच्छाले वा अन्य कुनै माध्यमबाट” अमेरिकामा उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्।
यसैबीच रुबियोले क्युबाली सैन्य समूहसँग सम्बन्धित एक उच्च अधिकारीकी दिदी एडिस लास्त्रेस मोरेरालाई फ्लोरिडाबाट पक्राउ गरिएको जानकारी दिएका छन्। उनीमाथि क्युबाको साम्यवादी शासनलाई सहयोग गरिरहेको आरोप अमेरिकाले लगाएको छ।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले क्युबालाई ‘असफल राष्ट्र’ को सङ्ज्ञा दिएका छन्। उनले क्युबाली–अमेरिकीहरू आफ्नो देश फर्केर क्युबालाई पुनः सफल बनाउन चाहेको समेत उल्लेख गरे।