प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार

अमेरिकी अध्यागमन अदालत
ट्रम्प प्रशासनले यो साता ८० भन्दा बढी नयाँ अध्यागमन न्यायाधीशहरू नियुक्त गरेको छ। गैरकानुनी अध्यागमनविरुद्ध सरकारव्यापी कारबाहीलाई थप सशक्त बनाउन र देशनिकाला सम्बन्धी मुद्दाहरूलाई द्रुत गतिमा फर्स्यौट गर्ने उद्देश्यले यो कदम चालिएको डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले जानकारी दिएका छन्।
अध्यागमन अदालत प्रणाली हेर्ने डिपार्टमेन्ट अफ जस्टिसले ७७ जना स्थायी र ५ जना अस्थायी अध्यागमन न्यायाधीशहरूलाई शपथ गराएको हो, जसलाई अधिकारीहरूले मन्त्रालयको इतिहासमै सबैभन्दा ठूलो समूहका रूपमा वर्णन गरेका छन्।
यो नियुक्ति ट्रम्प प्रशासनद्वारा विगत एक वर्षमा देशैभरिका दर्जनौँ अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त गरेपछि भएको हो। राष्ट्रपति ट्रम्पले कार्यभार सम्हाल्दा न्याय मन्त्रालयमा ७०० भन्दा बढी अध्यागमन न्यायाधीशहरू थिए, तर यो वर्षको सुरुतिर यो सङ्ख्या घटेर ६०० भन्दा तल पुगेको थियो। नयाँ नियुक्तिका कारण अध्यागमन न्यायाधीशहरूको सङ्ख्या पुनः ७०० को हाराहारीमा पुग्ने न्याय मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
अध्यागमन न्यायाधीशहरूले सरकारले देशनिकाला गर्न खोजेका गैर-नागरिकहरूलाई अमेरिकाबाट हटाउने वा बस्न अनुमति दिने भन्नेबारे निर्णय गर्छन्। नाम न्यायाधीश भए तापनि उनीहरू स्वतन्त्र न्यायपालिकाको हिस्सा नभई न्याय मन्त्रालयका कर्मचारी हुन्, जसले अमेरिकाभरि दर्जनौँ अध्यागमन अदालत र एउटा पुनरावेदन अध्यागमन अदालत सञ्चालन गर्दछ।
कार्यपालिकाको हिस्सा भए तापनि उनीहरूबाट निष्पक्षताको अपेक्षा गरिन्छ। तर, ट्रम्प प्रशासनले सरकारी जागिरको विज्ञापनमा उनीहरूलाई सार्वजनिक रूपमै “देशनिकाला न्यायाधीश”भनेर उल्लेख गरेको थियो र “अपराधी अवैध विदेशीहरू” लाई न्यायको दायरामा ल्याउन आह्वान गरेको थियो।
आफ्नो आम देशनिकाला अभियानको हिस्सा स्वरूप ट्रम्प प्रशासनले देशको अध्यागमन अदालतहरूमा व्यापक हेरफेर गर्न खोजेको छ, किनभने अधिकांश अवस्थामा आप्रवासीहरूलाई देशनिकाला गर्नुअघि निष्कासनको आदेश जारी गर्नुपर्ने हुन्छ।
यसैक्रममा बाइडेन प्रशासनको पालामा नियुक्त भएका धेरै न्यायाधीशहरू सहित १०० भन्दा बढी अध्यागमन न्यायाधीशहरूलाई पदमुक्त गरिएको छ। बर्खास्त गरिएका केही न्यायाधीशहरूले आफूहरूले देशनिकालाको प्रक्रियालाई पर्याप्त मात्रामा अघि नबढाएको वा आप्रवासीहरूलाई सहयोग गरेको पृष्ठभूमि भएका कारण निकालिएको विश्वास व्यक्त गरेका छन्।
विगत एक वर्षमा न्याय मन्त्रालयले अध्यागमन न्यायाधीशहरूले कुन अवस्थामा असाइलम वा अन्य राहत दिन सक्ने र आइसको हिरासतमा रहेकाहरूलाई कुन अवस्थामा धरौटीमा रिहा गर्न सक्ने भन्ने विषयलाई कडा रूपमा सीमित गर्दै निर्देशिकाहरू जारी गरेको छ।
बुधबार वासिङ्टन डिसीमा नयाँ न्यायाधीशहरूलाई शपथ गराइएको हो। नयाँ नियुक्त भएका अधिकांश न्यायाधीशहरू यसअघि आइसका वकिल, सरकारी वकिल वा सेनामा अभियोजकका रूपमा कार्यरत थिए। न्याय मन्त्रालयका अनुसार अक्टोबर २०२५ देखि सुरु भएको आर्थिक वर्ष २०२६ मा मात्रै प्रशासनले १५३ जना स्थायी अध्यागमन न्यायाधीशहरू नियुक्त गरिसकेको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्यवाहक एटोर्नी जनरल टोड ब्लान्चले ट्रम्प प्रशासन अध्यागमन प्रणालीमा कानुनी शासन पुनर्स्थापित गर्न प्रतिबद्ध अध्यागमन न्यायाधीशहरूको टोली निर्माण गर्न लागेको बताए।
अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनका वरिष्ठ निर्देशक ग्रेग चेनले ट्रम्प प्रशासनले अध्यागमन न्यायाधीशहरूलाई निष्पक्ष निर्णायकका रूपमा नभई प्रवर्तनको औजारका रूपमा काम गर्न बाध्य पारेको आरोप लगाएका छन्। दक्षिणी सीमा पार गर्नेहरूको सङ्ख्या बढेसँगै अध्यागमन अदालतमा मुद्दाहरूको चाप निकै बढेको थियो। अधिकारीहरूका अनुसार जनवरी २०२५ देखि हालसम्म विचाराधीन मुद्दाहरूको सङ्ख्या ४० लाखबाट घटाएर करिब ३५ लाखमा झारिएको छ।