प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार

नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले बोस्टनमा कन्सुलर सेवा शिविर सञ्चालन गर्ने भएको छ। दूतावासले सार्वजनिक गरेको सूचना अनुसार शिविर मे २३ मा म्यासाचुसेट्सको ब्रेन्ट्रि स्थित पशुपतिनाथ बुद्ध टेम्पल एन्ड नेपाली कम्युनिटी सेन्टरमा हुनेछ।
शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। उक्त सेवा शिविरमा राहदानी नवीकरण, ट्राभल डकुमेन्ट, एनआरएन कार्ड र टुरिस्ट भिसासम्बन्धी सेवा उपलब्ध हुने सूचनामा उल्लेख छ।
दूतावासका अनुसार राहदानी नवीकरणका लागि सक्कल राहदानी, नागरिकताको सक्कल र स्पष्ट प्रतिलिपि, तथा नाम परिवर्तन वा विवाहसम्बन्धी आवश्यक कागजात आवश्यक पर्नेछ। यस्तै, एनआरएन कार्डका लागि सम्बन्धित प्रमाणहरू र ट्राभल डकुमेन्टका लागि राहदानीको प्रतिलिपि तथा दुई प्रति फोटो आवश्यक पर्नेछ।
राजस्व भुक्तानी ‘मनी अर्डर’ मार्फत मात्र गर्नुपर्ने सूचनामा उल्लेख छ। राहदानी नवीकरण, ट्राभल डकुमेन्ट, एनआरएन कार्ड र टुरिस्ट भिसाका लागि तोकिएको शुल्क समेत सार्वजनिक गरिएको छ।
दूतावासले बोस्टन क्षेत्रका नेपाली समुदायलाई सेवा लिन समयमै आवश्यक कागजातसहित उपस्थित हुन आग्रह गरेको छ। थप जानकारीका लागि न्यूयोर्कस्थित महावाणिज्यदूतावास र बोस्टनका सम्पर्क व्यक्तिहरूसँग समन्वय गर्न सकिने सूचनामा जनाइएको छ।