अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। क्यालिफोर्निया राज्यको सान डिएगोस्थित एक मस्जिदमा भएको गोलीकाण्डमा तीन जनाको ज्यान गएको हो। यस घटनामा दुई जना किशोरको संलग्नता रहेको अधिकारीहरूले अनुमान गरेका छन्।
घरबाट भागेका तथा आत्महत्याको आशङ्का गरिएका एक किशोरबारे आएको सूचनामाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उक्त घटना भएको हो।
स्थानीय समयअनुसार बिहान ११ बजेर ४३ मिनेटमा सान डिएगो इस्लामिक केन्द्रमा गोली चलेको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। त्यहाँ भवनको अगाडि गोली लागेका तीन जनाको शव फेला परेको थियो।
केही समयपछि नजिकैको एक गाडीबाट बगैँचा कामदारमाथि पनि गोली चलाइएको अर्को सूचना प्रहरीले प्राप्त गर्यो। दोस्रो घटनास्थलमा पुगेपछि प्रहरीले १७ र १८ वर्षका दुई संदिग्धलाई आत्महत्या गरेको अवस्थामा मृत फेला पारेको जनाएको छ।
मृतकमध्ये एक जना मस्जिदका सुरक्षा गार्ड पनि थिए। अधिकारीहरूका अनुसार उनले साहसिक रूपमा थप मानिसको ज्यान जोगाउने प्रयास गरेका थिए।
सङ्घीय अनुसन्धान निकाय (एफबीआई) ले यस घटनालाई घृणाजन्य अपराध (हेट क्राइम) का रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। एक संदिग्धकी आमाले फेला पारेको नोटमा घृणात्मक अभिव्यक्ति र कट्टर विचार भेटिएको बताइएको छ।
सान डिएगोका प्रहरी प्रमुख स्कट वालले पत्रकार सम्मेलनमा प्रहरी घटनास्थल पुग्दा तीन जनाको शव बाहिर देखिएको जानकारी दिए। उनले प्रहरीका तर्फबाट कुनै गोली नचलाइएको र घटनास्थलमा तत्काल कुनै आक्रमणकारी नदेखिएको बताए।
आक्रमण हुनुभन्दा अघि बिहान ९ बजेर ४२ मिनेटमा एक संदिग्धकी आमाले प्रहरीलाई फोन गरी आफ्नो छोरा घरबाट बन्दुक र गाडी लिएर निस्किएको जानकारी दिएकी थिइन्। ती युवक अर्का एक साथीसहित सैनिक शैलीको पोसाकमा रहेको बताइएको थियो।
प्रहरीका अनुसार ती किशोरले छोडेर गएको नोटमा सामान्य घृणात्मक अभिव्यक्ति उल्लेख गरिएको थियो। तर, मस्जिद वा कुनै विशेष व्यक्तिलाई लक्षित गरी स्पष्ट धम्की भने नभेटिएको अधिकारीहरूले जनाएका छन्।
घटना हुँदा मस्जिद परिसरमा बालबालिका पनि उपस्थित थिए। उक्त केन्द्रअन्तर्गत रहेको अल रासिद विद्यालयमा धार्मिक तथा भाषा कक्षा सञ्चालन हुँदै आएको छ। प्रत्यक्षदर्शीले करिब ३० राउन्ड गोली चलेको आवाज सुनेको बताएका छन्।
इस्लामिक केन्द्रका निर्देशक इमाम ताहा हस्सानेले “पूजास्थललाई निशाना बनाइनु अत्यन्त आक्रोशपूर्ण घटना” भएको बताएका छन्। उनले मस्जिद “पूजाको घर हो, युद्धस्थल होइन” भनेका छन्।
यो घटना मुस्लिम समुदायले आफ्नो महत्त्वपूर्ण पर्व इद अल-अधा मनाउने तयारी गरिरहेका बेला भएको हो।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै धार्मिक समुदायमाथि हुने हिंसा र आतङ्क सहन नसकिने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई भयानक घटना भन्दै प्रशासनले गम्भीर रूपमा अनुसन्धान गर्ने बताएका छन्।