न्यूयोर्क टाइम्सको उत्कृष्ट सूचीमा न्यूयोर्कको ‘नेपाली भान्छा घर’



प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार

न्यूयोर्क टाइम्सको उत्कृष्ट सूचीमा न्यूयोर्कको ‘नेपाली भान्छा घर’

न्यूयोर्कको प्रख्यात सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ को सन् २०२६ का उत्कृष्ट १०० रेस्टुरेन्टको सूचीमा क्वीन्सको ज्याक्सन हाइट्सस्थित नेपाली भान्छा घर पर्न सफल भएको छ। यो ठूलो उपलब्धिसँगै रेस्टुरेन्टकी सञ्चालक यमुना श्रेष्ठको व्यावसायिक सफलता र उनले भोगेका आप्रवासन–सम्बन्धी कानुनी एवं आर्थिक संघर्षका कथाहरू फेरि चर्चाको केन्द्रमा आएका छन्।

ज्याक्सन हाइट्सको रोजभेल्ट एभेन्युमा सञ्चालित यो रेस्टुरेन्ट परम्परागत नेपाली घरेलु स्वाद, विशेष गरी म:म:का लागि निकै प्रख्यात छ। यो मान्यतालाई न्यूयोर्कमा नेपाली समुदायको पाक-पहिचान र आप्रवासी उद्यमीहरूको सामूहिक यात्राको एउटा ठूलो जितका रूपमा हेरिएको छ।

नेपाली भान्छा घर रेस्टुरेन्ट न्यूयोर्क सिटीको वार्षिक म:म: क्रलमा लगातार ५ पटक विजेता भइसकेको छ। यहाँको म:म:को प्रशंसा गर्दै न्यूयोर्क टाइम्स र ‘इटर’ ले समेत पटक-पटक रिभ्यु प्रकाशित गरेका छन्। म:म: क्रलमा पाएको उपाधि र मिडिया कभरेजले ग्राहक बढाउन ठूलो भूमिका खेलेको संचालक यमुना श्रेष्ठ बताउँछिन्।

विभिन्न सञ्चारमाध्यममा समाचार र रिभ्यु आएपछि ग्राहकको भीड अचानक बढेको अनुभव सुनाउँदै यमुनाले खसोखाससँग भनेकी थिइन्, “नेपाली समुदायबाहेक अन्य समुदायका ग्राहकहरू पनि अचानक बढे। हामी त कसरी यस्तो भीड भयो भनेर अचम्म पर्यौं। पछि बुझ्दा न्यूयोर्क टाइम्स र अन्य सञ्चारमाध्यममा हाम्रोबारे रिभ्यु आएको रहेछ।”

रेस्टुरेन्टमा सबैभन्दा बढी बिक्ने परिकार म:म: नै हो। ग्राहकहरूले रेस्टुरेन्टमै आएर झोल म:म: र स्टीम म:म: खाने मात्र नभई फ्रोजन म:म: समेत घर लैजाने गरेका छन्। साथै, रेस्टुरेन्टले उबर, ग्रबहब, डोरड्यास र सिमलेस जस्ता एपहरूबाट डेलिभरी सेवा पनि दिँदै आएको छ।

बिहान ८ बजेदेखि राती ११ बजेसम्म खुल्ने यस रेस्टुरेन्टमा यमुना बिहानैदेखि दौडधुप गरिरहेकी हुन्छिन्। जतिसुकै व्यस्त भए पनि ग्राहकको सेवामा उनी सधैं मुस्कुराइरहेकी भेटिन्छिन्। कोरोना महामारीपछि बिजनेस बढाउन मेनुमा केही खानाहरू थपिएका छन्।

अमेरिकी चर्चित सांसद एलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले समेत रेस्टुरेन्टको भ्रमण गरी श्रेष्ठको संघर्षको कथा सुनेकी थिइन् र आप्रवासी साना व्यवसायीका समस्याहरूका पक्षमा आवाज उठाउने प्रतिबद्धता जनाएकी थिइन्।

नेपालको स्याङ्जा वालिङमा फर्निचर उद्योग चलाउने र उद्योग वाणिज्य संघ स्याङ्जाको संस्थापक सदस्य समेत रहेकी यमुना सन् २००८ को अप्रिल ४ मा आँखाभरि सपना बोकेर अमेरिका आएकी थिइन्। अमेरिका आएपछि उनले झण्डै ७ वर्ष ‘लिभ-इन’ जागिर गरिन् र त्यहीँबाट कमाएको पैसाले सन् २०१५ मा भान्छा घर सुरु गरेकी थिइन्।





Source link

Leave a Comment