News Summary
Generated by OK AI. Editorially reviewed.
- कोरी बस्टार्ड संसारकै सबैभन्दा भारी भए पनि उडान भर्न सक्ने चरा हो, यसको तौल १८ देखि २० केजीसम्म पुग्छ।
- कोरी बस्टार्ड जमिनमै वासस्थान गर्छ र आवश्यक पर्दा शक्तिशाली दौड र लात हान्न सक्छ।
- मानव गतिविधिका कारण कोरी बस्टार्डको प्राकृतिक बासस्थान घट्दै गएको छ र यो संकटमा परेको छ।
अफ्रिकाको विशाल सवाना क्षेत्र अनेकौं अनौठा र शक्तिशाली जीवहरूको थलो हो । सिंह, चितुवा, हात्ती र गैँडाजस्ता जनावरहरू सधैं मानिसहरूको ध्यानको केन्द्रमा पर्छन् । तर त्यही विशाल मैदानमा एउटा यस्तो चरा पनि बाँचिरहेको छ, जसले आफ्नो असाधारण विशेषताका बाबजुद धेरै कम चर्चा पाएको छ । त्यो चरा हो –कोरी बस्टार्ड ।
कोरी बस्टार्ड संसारकै सबैभन्दा वजनदार भए पनि उडान भर्न सक्ने चरामध्ये एक हो । विशाल शरीर, शक्तिशाली खुट्टा, फराकिलो पखेटा र आकर्षक प्रजनन प्रदर्शनले यसलाई प्रकृतिको अद्भूत सिर्जनामध्ये एक मानिन्छ ।
हेर्दा शान्त र सुस्त देखिने यो चराले आवश्यक पर्दा शक्तिशाली दौड लगाउन सक्छ । खतरनाक लात हान्न सक्छ र आकाशमा उडेर आफूलाई बचाउन सक्छ । यसको जीवनशैली, व्यवहार र संघर्षले वैज्ञानिकहरूलाई समेत आकर्षित गर्ने गरेको छ ।
कोरी बस्टार्डका केही रोचक कुरा
१. भारी तौल भए पनि आकाशमाथि उड्न सक्ने चरा
कोरी बस्टार्डलाई संसारकै गह्रौ शरीर भए पनि उडान भर्न सक्ने चरा मानिन्छ । एउटा वयस्क भालेको तौल १८ देखि २० केजीसम्म पुग्न सक्छ । यति धेरै तौल भएका कारण यसको उडान सामान्य चराझैं सजिलो हुँदैन ।
उचाइ करिब एक मिटरभन्दा बढी हुन्छ भने पखेटाको फैलावट ७ देखि ९ फिटसम्म पुग्न सक्छ । विशाल शरीरका कारण यो प्रायः जमिनमै हिँडेर आफ्नो जीवन बिताउँछ ।
उड्नुपर्दा यसले पहिले केही दूरी दौडिन्छ अनि मात्र आफ्नो भारी शरीरलाई हावामा उठाउँछ । उडानका लागि धेरै ऊर्जा आवश्यक पर्ने भएकाले यो चरा सामान्य अवस्थामा उड्न रुचाउँदैन ।
यद्यपि, एकपटक उडान भरेपछि भने यसले निकै मजबुत र स्थिर उडान गर्न सक्छ । शिकारी जनावरबाट बच्न वा खतरा टार्न उडान यसको महत्वपूर्ण माध्यम हो ।
यसको भारी शरीर र बलियो खुट्टाले यसलाई जमिनमा अत्यन्त शक्तिशाली बनाएको छ । यही कारणले गर्दा धेरै शिकारी जनावरसमेत यसलाई सजिलै आक्रमण गर्न डराउँछन् ।
२. जमिनमै वासस्थान
कोरी बस्टार्डको जीवनशैली अन्य चराभन्दा निकै फरक हुन्छ । अधिकांश चराहरू रुखमा बस्ने वा लामो समय आकाशमा उड्ने गर्छन्, तर कोरी बस्टार्ड भने जमिनमै बस्न रुचाउँछ ।
यो खुला घाँसे मैदान, सुक्खा सवाना र झाडी भएको क्षेत्रमा पाइन्छ । यसले जमिनमा हिँड्दै खाना खोज्ने गर्छ । यसको चाल सामान्यतया धेरै ढिलो हुन्छ । यो आरामसँग मैदानमा हिँड्दै आफ्नो वरिपरि सतर्क दृष्टि राख्छ । तर खतरा महसुस भयो भने अचानक छिटो दौडन सक्छ । यसका खुट्टा अत्यन्त बलियो हुन्छन् । आवश्यक पर्दा यसले तगडासँग लात हान्न सक्छ, जसले शिकारीलाई समेत चोट लाग्न सक्छ ।
कोरी बस्टार्ड प्रायः सानो समूहमा बस्ने गर्छन् । एउटा समूहमा ५–६ वटा चरा हुन सक्छन् । कहिलेकाहीँ भने ३०–४० वटासम्मको ठूलो समूह पनि देख्न सकिन्छ । यसरी समूहमा बस्दा खतरा चाँडै थाहा पाउन सजिलो हुन्छ र शिकारीबाट बच्ने सम्भावना बढ्छ ।
३. सर्वाहारी चरा
कोरी बस्टार्ड खानाको मामिलामा निकै अवसरवादी चरा हो । यसको मुख्य आहारमा कीराफट्याङ्ग्रा, दीमक, फट्याङ्ग्रा, गोब्रे कीरा, क्याटरपिलर, छेपारो र साना सर्प पर्छन् ।
कहिलेकाहीँ यसले साना जनावर वा मरेका जनावरको मासु पनि खान सक्छ । यसले बीउ, घाँस, वनस्पति र रुखको खोटो पनि खान्छ । यही कारणले अफ्रिकी भाषामा यसलाई ‘गम पिकक’ भनेर समेत चिनिन्छ ।
यसले आफ्नो बलियो चुच्चो प्रयोग गरेर जमिनमा खाना खोज्ने गर्छ । खुला मैदानमा हिँड्दै यसले साना जीवहरू सजिलै समात्न सक्छ । सुख्खा मौसममा समेत यसले उपलब्ध स्रोतबाट आफ्नो आहार पूरा गर्न सक्छ । यसको यस्तो स्वभावले कोरी बस्टार्डलाई अफ्रिकाको कठोर वातावरणमा सफलतापूर्वक बाँच्न मद्दत गरेको छ ।
४. प्रेम प्रदर्शन, अत्यन्त आकर्षक
प्रजनन मौसममा भालेको व्यवहार पूर्ण रूपमा बदलिन्छ । यस समयमा यसले पोथीलाई आकर्षित गर्न भव्य प्रदर्शन गर्छ । आफ्नो घाँटी फुलाएर ठूलो हावाले भरिएको थैलीजस्तो बनाउँछ । त्यसपछि टाउकोको कल्की ठाडो पार्छ, पुच्छर फुलाउँछ र शरीरका प्वाँखहरू फैलाउँछ ।

यसरी सजिएपछि यो गर्वका साथ मैदानमा हिँड्छ र गहिरो आवाज निकाल्छ । यसको आवाज निकै कम फ्रिक्वेन्सीको हुन्छ, जसलाई मानिसले सजिलै नसुन्न सक्छन् । तर यो आवाज लगभग एक किलोमिटर टाढासम्म पुग्न सक्छ ।
यो प्रदर्शन कहिलेकाहीँ एक घण्टासम्म चल्न सक्छ । आफ्नो आकार, शक्ति र आकर्षण देखाएर पोथीलाई प्रभावित गर्न खोज्छ । चराहरूको संसारमा यस्तो नाच र प्रदर्शन अत्यन्त रोचक मानिन्छ ।
५. बच्चा हुर्काउने जिम्मा आमाको
प्रजननपछि भालेको भूमिका लगभग समाप्त हुन्छ । बच्चा हुर्काउने सम्पूर्ण जिम्मेवारी पोथीले एक्लैले वहन गर्छे । पोथीले जमिनमा सानो खाल्डो बनाएर गुँड तयार गर्छे । गुँड प्रायः घाँस, झाडी वा सानो रुखको छेउमा लुकाइएको हुन्छ, ताकि शिकारीले सजिलै भेट्न नसकोस् ।
अण्डाबाट बच्चा निस्किएपछि आमाले उनीहरूलाई खाना खोज्न सिकाउँछे र सधैं सुरक्षा दिन्छे । सानो चल्ला अत्यन्त कमजोर हुने भएकाले धेरै बच्चाहरू पहिलो वर्षमै विभिन्न शिकारीको शिकार बन्ने गर्छन् ।
खतरा महसुस हुँदा आमाले गुर्राउने, भुक्ने वा अन्य डर लाग्दा आवाज निकालेर सत्रुलाई तर्साउने प्रयास गर्छे । यसरी आमाले अत्यन्त कठिन परिस्थितिमा आफ्ना बच्चाहरूलाई बचाएर हुर्काउँछे ।
६. आवाज निकै फरक निकाल्ने खुबी
धेरै मानिसले चराहरूलाई केवल चिरबिर गर्ने जीवका रूपमा बुझ्छन् । तर कोरी बस्टार्डको आवाज भने अत्यन्त फरक र अनौठो हुन्छ । यसले गुर्राउने, भुक्ने, घुक्र्याउने र हाछ्युँजस्ता आवाज निकाल्न सक्छ । विशेष गरी प्रजनन मौसममा भाले चराले गहिरो गर्जनजस्तो आवाज निकाल्छ ।

यो आवाज निकै कम फ्रिक्वेन्सीको हुने भएकाले मानिसलाई स्पष्ट नसुनिन सक्छ । तर अन्य कोरी बस्टार्डहरूले यसलाई धेरै टाढाबाट समेत सुन्न सक्छन् । यी आवाजहरू केवल सञ्चारका लागि मात्र होइन, खतरा जनाउन, साथी बोलाउन र आफ्नो क्षेत्र देखाउन पनि प्रयोग गरिन्छ ।
आमाले बच्चालाई बोलाउन वा खतरा संकेत गर्न फरक प्रकारका आवाज निकाल्छे ।
७. बलियो र साहसी प्राणी
हेर्दा शान्त देखिने कोरी बस्टार्ड आवश्यक पर्दा निकै आक्रामक बन्न सक्छ । बलियो शरीर र खुट्टाले यसलाई शक्तिशाली बनाएको छ । यो चरा अन्य चरासँग झगडा गर्न पनि पछि पर्दैन । विशेषगरी भालेहरू बीच शक्ति प्रदर्शनका लागि लडाइँ हुने गर्छ ।

झगडाका क्रममा उनीहरूले एकअर्कालाई धकेल्ने, पखेटा फट्कार्ने र लात हान्ने गर्छन् । कहिलेकाहीँ यी चराहरू अन्य ठूलो चरासँग पनि झगडा गरेको देखिएको छ । यद्यपि धेरैजसो अवस्थामा कमजोर चरा पछि हट्छ र गम्भीर चोटपटक कमै हुन्छ ।
८. वाइल्डबिस्टसँग अनौठो सम्बन्ध
कोरी बस्टार्ड कहिलेकाहीँ ब्लु वाइल्डबिस्टको बथान पछ्याउँदै हिँड्ने गर्छ । जब वाइल्डबिस्टहरू घाँसे मैदानमा हिँड्छन्, उनीहरूको खुट्टाले घाँसभित्र लुकेका कीरा र साना जनावर बाहिर निस्कन्छन् ।
कोरी बस्टार्डले यही मौकाको फाइदा उठाएर ती जीवहरूलाई सजिलै समातेर खान्छ । यसरी कुनै मेहनत नगरी खाना पाउने भएकाले यो सम्बन्ध कोरी बस्टार्डका लागि निकै फाइदाजनक हुन्छ । प्रकृतिमा यस्ता सहकार्यहरू सामान्य भए पनि हेर्दा निकै रोचक लाग्छ ।
यसले विभिन्न जीवहरूले एकअर्कासँग कसरी तालमेल मिलाएर बाँचिरहेका हुन्छन् भन्ने देखाउँछ ।
९. ठूलो शत्रु बिजुलीका तार
आधुनिक विकासले कोरी बस्टार्डका लागि नयाँ खतरा सिर्जना गरेको छ । विशेषगरी बिजुलीका तारहरू यसका लागि ठूलो समस्या बनेका छन् । उड्दा अगाडिको दृश्य राम्रोसँग नदेख्ने भएकाले यी चराहरू उच्च भोल्टेजका तारमा ठोक्किने गर्छन् ।

दक्षिण अफ्रिकामा हरेक वर्ष हजारौं बस्टार्ड यसरी मर्ने गरेको अध्ययनले देखाएको छ । वैज्ञानिकहरूका अनुसार बिजुलीका पोल फरक शैलीमा राखे यस्तो दुर्घटना धेरै कम गर्न सकिन्छ । तर विकासका क्रममा वन्यजन्तुको सुरक्षामा पर्याप्त ध्यान नदिँदा समस्या बढिरहेको छ ।
१०. मानव गतिविधिका कारण अस्तित्व संकटमा
मानव गतिविधिका कारण कोरी बस्टार्ड आज संकटको नजिक रहेको प्रजातिमा पर्छ । मासुका लागि शिकार, अवैध रूपमा पाल्तु चराका रूपमा राख्नु र खेती विस्तार, सडक निर्माण र बस्ती विस्तारका कारण यसको प्राकृतिक बासस्थान घट्दै गएको छ ।
केही स्थानमा परम्परागत औषधिमा प्रयोगका लागि यसको हत्या गरिन्छ ।
पछिल्ला ५० वर्षमा पूर्वी अफ्रिकामा यसको बसोबास क्षेत्र करिब २० प्रतिशतले घटेको मानिन्छ ।

