प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार

अमेरिका र युरोपमा आतंकवादी आक्रमणको योजना बनाएको आरोपमा इराकी मिलिसिया समूहका एक कमाण्डर पक्राउ परेका छन्।
अमेरिकी अधिकारीहरूका अनुसार ३२ वर्षीय मोहम्मद बाकेर साद दाउद अल-सादीले न्यूयोर्कस्थित सिनागोग (प्रार्थनास्थल) तथा क्यालिफोर्नियाको लस एन्जलस र एरिजोनाको स्कट्सडेलमा रहेका यहूदी संस्थाहरूमाथि आक्रमणको योजना बनाएका थिए।
अमेरिकी न्याय मन्त्रालयले अल-सादीमाथि आतंकवादसँग सम्बन्धित ६ वटा अभियोग दर्ता गरेको जनाएको छ। उनी इराकमा सक्रिय र अमेरिकाद्वारा विदेशी आतंकवादी संगठन घोषित “कताइब हिज्बुल्लाह” समूहका कमाण्डर भएको आरोप छ। उक्त समूहको इरानसँग निकट सम्बन्ध रहेको बताइन्छ।
इराकी नागरिक अल-सादीलाई टर्कीमा पक्राउ गरी एफबीआई को जिम्मा लगाइएको थियो। त्यसपछि उनलाई अमेरिका ल्याएर म्यानहटन संघीय अदालतमा उपस्थित गराइएको छ। अदालतले मुद्दाको सुनुवाइ नसकिउन्जेल उनलाई हिरासतमै राख्न आदेश दिएको छ।
अदालतमा पेश गरिएका कागजातअनुसार अल-सादीले इरान युद्ध र कासेम सुलेमानीको मृत्युको प्रतिशोधस्वरूप अमेरिकी तथा इजरायली हितमाथि आक्रमण गर्न अरूलाई उक्साउने र निर्देशन दिने काम गरेका थिए।
अभियोगपत्रमा गत मार्च ९ यता युरोपका विभिन्न शहरहरूमा भएका करिब १८ वटा तथा क्यानडामा भएका दुई वटा आक्रमणमा उनको संलग्नता रहेको उल्लेख छ।
बेल्जियम, नेदरल्यान्ड्स, बेलायत, फ्रान्स र जर्मनीका विभिन्न शहरहरूमा सभाघर (सिनागोग), यहूदी विद्यालय तथा अमेरिकी संस्थालाई लक्षित गर्दै विस्फोटन र आगजनीका घटनाहरू गराइएको बताइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार अल-सादीले अमेरिकाको एक प्रमुख सभाघरमा बम विस्फोट गराउने योजना बनाउँदै एक गोप्य एजेन्टसँग सम्पर्क गरेका थिए।
उनले लस एन्जलस र स्कट्सडेलस्थित यहूदी केन्द्रहरूको फोटो र नक्सासमेत उपलब्ध गराउँदै एकै समयमा तीन स्थानमा आगजनी गर्न सकिने सम्भावनाबारे छलफल गरेको आरोप छ।
यद्यपि, उनका वकिल एन्ड्रयू डालाकले भने अल-सादीमाथि राजनीतिक उद्देश्यले मुद्दा चलाइएको दाबी गरेका छन्। उनले आफ्नो क्लाइन्टलाई पक्राउ गर्ने र अमेरिका ल्याउने प्रक्रियामा कानुनी चुनौती दिने अवसर नदिइएको आरोप पनि लगाए।