प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार

अमेरिकी होमल्याण्ड सेक्युरिटीले सञ्चालन गरेको देशव्यापी अध्यागमन कारबाहीका क्रममा पक्राउ परेका सात नेपाली नागरिकलाई “खराबमध्येका अति खराब” अपराधीको सूचीमा राखेको छ। ट्रम्प प्रशासनको निर्देशनअनुसार गम्भीर र हिंसात्मक अपराधमा संलग्न गैरनागरिकहरूलाई प्राथमिकताका साथ देशनिकाला गर्ने उद्देश्यले यो कदम चालिएको हो। होमल्याण्ड सेक्युरिटीले राष्ट्रपति ट्रम्पको वाचा अनुरूप देशका लागि खतरा मानिएका र गम्भीर अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई लक्षित गर्दै सामूहिक देशनिकाला प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेको छ ।
आइसका अधिकारीहरूले गम्भीर अपराधमा दोषी ठहर भएका गैरनागरिकहरूलाई देशनिकाला गर्ने होमल्याण्ड सेक्युरिटीको निर्देशिकाअनुसार यी पक्राउ गरेका हुन् ।
होमल्याण्ड सेक्युरिटीको वेबसाइटमा उल्लेख छ, “होमल्याण्ड सेक्युरिटीले आइसद्वारा पक्राउ गरिएका ‘खराबमध्येका अति खराब’ आपराधिक विदेशीहरूलाई सार्वजनिक गरिरहेको छ। होमल्याण्ड सेक्युरिटीको नेतृत्वमा कर्मचारीहरूले राष्ट्रपति ट्रम्पको वाचा पूरा गर्दै ‘खराबमध्येका अति खराब’ बाट सुरु गरी सामूहिक देशनिकाला कार्य अगाडि बढाइरहेका छन्” ।
होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको सूचीमा विभिन्न राज्यबाट पक्राउ परेका सात नेपाली छन्, जो यौन शोषण, ठगी, लागुऔषध ओसारपसार र हिंसात्मक आक्रमणजस्ता गम्भीर अपराधमा संलग्न रहेको उल्लेख गरिएको छ। सूचीमा टेक्सस, न्यूयोर्क, कोलोराडो र एरिजोनालगायत विभिन्न राज्यमा आपराधिक गतिविधिमा संलग्न नेपाली नागरिकहरूको नाम समावेश छ ।
सूचीमा परेकामध्ये टेकन कँडेल नाबालिगको यौन शोषण र बन्धक बनाएको अभियोगमा कोलोराडोमा दोषी ठहर भएका छन्। अनिल पन्थ सञ्चारमाध्यममार्फत नाबालिगलाई लोभ्याएको अभियोगमा डल्लासमा दोषी ठहर भएका छन्। सयनम घिमिरे यौन दुर्व्यवहारको अभियोगमा न्यूयोर्कमा दोषी ठहर भएका छन् ।
सन्तोष दर्जी खतरनाक लागुऔषध, परिचय चोरी र सवारीसाधन चोरीको अभियोगमा एरिजोनामा दोषी ठहर भएका छन्। नबिन शाह ठगी, कुटपिट र चोरीको अभियोगमा टेक्ससमा दोषी ठहर भएका छन्। रातुल सिंह डकैतीको अभियोगमा डल्लासमा दोषी ठहर भएका छन्। रिकेश थापा ‘वायर फ्रड’ अर्थात् विद्युतीय ठगीको अभियोगमा लुजियानामा दोषी ठहर भएका छन् ।
पछिल्लो समय अमेरिकामा नेपालीहरूलाई देशनिकाला गर्ने दरमा उल्लेख्य वृद्धि भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता ८०० भन्दा बढी नेपालीलाई अमेरिकाबाट फिर्ता पठाइसकिएको छ। विशेषगरी सन् २०२६ को सुरुवाती महिनाहरूमा यो प्रक्रिया झनै तीव्र बनेको छ ।
गत अप्रिल ७ मा मात्रै ४८ जना नेपाली पुरुषलाई चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको थियो। तीमध्ये दुई जना ‘ग्रिन कार्ड’ वाहकसमेत थिए। अध्यागमन विभागका अनुसार ४८ मध्ये २३ जनासँग वैध यात्रा कागजात थिएन। ग्रिन कार्ड वाहकमध्ये एक जना मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा पक्राउ परेका थिए भने अर्काको कारण खुलाइएको छैन ।
सन् २०२६ को तथ्याङ्क अनुसार अध्यागमन विभागले पहिलो दुई महिनामै २३१ नेपालीलाई देशनिकाला गरिसकेको छ। फेब्रुअरीमा १३० जना, जसमा १२४ पुरुष र ६ महिला थिए, देशनिकाला गरिएका थिए। तीमध्ये ९५ जना चार्टर्ड विमानमार्फत पठाइएका थिए। जनवरीमा १०१ जना देशनिकाला गरिएका थिए, जसमा ८० जना एउटै चार्टर्ड विमानबाट पठाइएका थिए ।
यसअघि सन् २०२५ को डिसेम्बरमा ९५ र नोभेम्बरमा ८० जना नेपाली देशनिकाला भएका थिए। सोही वर्षको सुरुवाती महिनाहरूमा भने संख्या निकै कम थियो—जनवरीमा मात्र ६ जना। तर वर्षको अन्त्यसम्ममा यो संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ ।