नेपाल–अमेरिका सम्बन्ध भिसा नीतिसँग जोडिँदैन: शरदराज आरण, कार्यवाहक राजदूत (अन्तर्वार्ता)



प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार

नेपाल–अमेरिका सम्बन्ध भिसा नीतिसँग जोडिँदैन: शरदराज आरण, कार्यवाहक राजदूत (अन्तर्वार्ता)

नेपालमा भाद्र २३ र २४ गतेको राजनीतिक परिवर्तनपश्चात् गठित सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएसँगै हाल कैयन् नेपाली नियोगहरू कार्यवाहकको भरमा मात्र चलिरहेका छन्। मुलुकमा सम्पन्न निर्वाचनपछि बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ र यतिबेला सबैको नजर विभिन्न देशमा नियुक्त हुने आगामी राजदूतहरूमा केन्द्रित छ। विशेषगरी अमेरिका जस्ता शक्ति राष्ट्रहरूमा नेपालको प्रतिनिधित्व कसले गर्ला भन्ने चासो सर्वत्र छ।

पछिल्लो समय अमेरिकाबाट नेपालीहरूको डिपोर्टमा वृद्धि, टीपीएस खारेजी, नेपालीहरूलाई अमेरिकाको आप्रवासी भिसा स्थगन, नेपालीहरूलाई गैरआप्रवासी भिसामा कडाइ र धरौटीको नियम, नेपालीहरू अमेरिकामा वैध तरिकाले जाने मुख्य माध्यम डाइभर्सिटी भिसा स्थगन, कैयन् नेपाली सामानमा दिँदै आएको कर छुट खारेज लगायतले नेपालका तर्फबाट अमेरिकासँगको कूटनीतिक पहलमाथि नै केही गम्भीर प्रश्नहरू उब्जाएका छन्। के नेपालका कूटनीतिक प्रयासहरू कमजोर भएका हुन्? यसै सन्दर्भमा केन्द्रित रहेर अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणसँग गरिएको कुराकानीको सम्पादित अंश।

अमेरिकाले नेपालप्रति अपनाएका कडा अध्यागमन नीतिले दुई देशबीचको कूटनीतिक सम्बन्धमा कुनै फरक पार्दैन?

यो कुराहरू नेपाल र अमेरिकासँगको सम्बन्धसँग जोडिँदैनन्। भिसाको सन्दर्भमा विगतमा जारी भएका भिसाहरू, त्यो भिसा पाउने व्यक्तिहरू, तिनीहरूले भिसा कानुन पालना गरे वा नगरेको विषय आउँछ। यदि भिसा नियमको उल्लङ्घन अत्यधिक भएमा त्यसलाई सुधार्नका लागि केही न केही तरिकाले नियन्त्रण गर्नुपर्छ। अहिले अमेरिकाले गरेको त्यही मात्र हो। हामीले हिजोको दिनमा कस्तो तरिकाले भिसा प्रयोग गर्‍यौं, आज हामीले त्यसैको परिणाम देखेका हौं। जस्तै नेपाल मात्र नभई नेपालसहित ७५ देशहरूमा अमेरिकाले भिजिटर भिसामा धरौटी लगाएको छ। यी सबै देशहरू भिसा सम्बन्धी नियमहरू अत्यधिक उल्लङ्घन गर्ने राष्ट्रहरूमा पर्छन्। जसलाई केही समययता स्क्रिनिङ गरिँदै छ। यो कुरालाई नेपाल र अमेरिकाको सम्बन्धसँग जोडेर हेर्न मिल्दैन।

हामीले अमेरिका–नेपाल सम्बन्ध पुनर्विचार गर्नु भन्दा पनि भिसा वाहकहरूले आफ्नो आचरण सुधारमा बढी जोड दिन जरुरी छ। यहाँ आउने मानिसहरू धेरैले अध्यागमन लाभ दाबी गर्ने, ओभरस्टे गर्ने, एसाइलम दाबी गर्ने, मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुन आउने र यतै बस्ने गर्दा भिसाको प्रावधानअनुसार आफ्नो स्टाटस ख्याल नगरी गल्ती गर्दै जाँदा आजको अवस्था आएको हो। हामीले अमेरिकी भिसाको प्रावधान पूर्ण रूपमा पालना गर्नुपर्छ। हामीले कुनै धोखाधडी गर्नु हुँदैन, कुनै विवरण झुटो बनाउनु हुँदैन। यो सन्देश दिन अहिलेको समयमा झन् आवश्यक छ। भिसा कुन उद्देश्यका लागि लिएको हो, प्रयोग पनि त्यही अनुसार गर्नुपर्छ। यसमा नेपाल–अमेरिका सम्बन्धलाई अर्को कुनै तरिकाले सोच्नुपर्ने छैन। भिसाको प्रावधान अलग कुरा हो।

अहिले नेपालमा नयाँ सरकार बनेको छ, राजदूत नियुक्त गर्न बाँकी छ। कार्यवाहक राजदूतका रूपमा तपाईंले त्यहाँ काम गरिरहनुभएको छ, अमेरिका–नेपाल कूटनीतिमा कसरी अगाडि बढ्छ?

यो अहिले जस्तै बढ्दै जानेछ। हामी नेपालको राष्ट्रिय हितलाई प्रवर्द्धन गर्दैछौं। जब हामी नेपालको राष्ट्रिय हित भन्छौं, के–कस्ता कुराहरू प्रवर्द्धन गरिन्छन्? हामीले यहाँको सरकारमा, यहाँको संसदमा, यहाँका अन्य सरोकारवालाहरूमा पनि राष्ट्रिय हितलाई नै प्रवर्द्धन गर्ने हो। नेपाल र अमेरिकाको सम्बन्ध झन्डै ७८ वर्षदेखि चल्दै आएको छ, यो धेरै ऐतिहासिक छ। साथै अमेरिका नेपाललाई सहायता दिने पहिलो देश हो। मलेरिया जस्ता ठूला रोगहरू पनि अमेरिकाको सहयोगले समाधान भएका हुन्। हालकै कुरा गर्ने हो भने पनि धेरै देशमा एमसीसी परियोजनाको ग्रान्ट कटौती हुँदा पनि हाम्रो चलिरहेको छ, जसले आगामी दिनमा विद्युत् र सडकमा राम्रो उपलब्धि हासिल गर्नेछ। साथै अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देशमध्ये एक हो। अमेरिकाले हामीलाई देखाउने सहानुभूति, यसले जारी गर्ने नीतिहरूबाट सबै कुराको धेरै अर्थ हुन्छ। त्यो अर्थमा यी सबै क्रियाकलापहरू नेपालको राष्ट्रिय हित र नेपाल तथा नेपालीहरूको अधिकारलाई प्रवर्द्धन गर्न निर्देशित छन्। आगामी दिनहरूमा पनि यसैगरी अगाडि बढ्नेछ भन्ने मलाई लाग्छ।

नेपालमा अमेरिकी पर्यटकहरूको संख्या बढेको छ। तर एउटा डाटाअनुसार यसमा नेपाली अमेरिकनकै संख्या धेरै छ। अमेरिकी पर्यटकको संख्या अझ बढाउन वाशिङटन डिसीमा रहेको नेपाली दूतावासको भूमिका के छ?

दूतावासले यहाँका सबैलाई सन्देश दिँदैछ, “नेपालमा के–के छ? नेपालमा जानै पर्ने किन?” अर्को सन्देश हो, “नेपाल सुरक्षित छ र नेपाल स्थिर छ।” नेपाल आजको दिनमा अझ बढी जानै पर्ने प्रकारको वातावरण बनेको छ। यो सबै बुझ्न पनि नेपाल जानै पर्छ। त्यसैले दूतावासले यो अवसर नगुमाउनका लागि कूटनीतिक रूपमा कदम चाल्दैछ र त्यसपछि अन्य तरिकाहरूमा पनि अगाडि बढिरहेको छ। हामी यो लबिङ गर्दैछौं। अब हाम्रो देशको सबै वातावरण राम्रो दिशामा गइरहेको छ। यसले धेरै सकारात्मक वातावरण सिर्जना गर्छ र यो संलग्नता नेपालसँगका सबै कुराहरूमा बढ्छ, चाहे व्यापार होस्, पर्यटन होस्, लगानी होस्, आईटी प्रवर्द्धन होस्, चाहे जनता–जनता बीचको सम्बन्ध होस्—सबै ठाउँमा हिजोका दिनहरूमा भन्दा बढी प्रभावकारी बन्दै जानेछ।

डिसीमा रहेको नेपाली दूतावासबाट क्यापिटल हिल र ह्वाइट हाउसको दूरी सम्बन्धको हिसाबले कति नजिक छ?

विगत पाँच महिनामा मैले छ जना अमेरिकी सांसदहरूसँग भेटेको छु। उनीहरूले नै संसदमा नेपालसँग सम्बन्धित नीति र रणनीति बनाउँछन्।

कार्यकारी राजदूतको हैसियतले मैले यो पाँच महिनाको अवधिमा छ जना सांसदहरूसँग भेट्न सम्भव हुनुबाट दूरी बुझ्न सकिन्छ। हामी भावनात्मक रूपमा नजिक छौं। हामी भौतिक रूपमा पनि टाढा छैनौं, किनकि अमेरिका नेपालका लागि राम्रो आकाशे छिमेकी हो। चीन र भारत जमिनबाट जति महत्त्वपूर्ण र रणनीतिक छन्, अमेरिका पनि त्यत्तिकै नजिक र रणनीतिक छ। त्यसैले हामी सबै क्षेत्रहरूमा र सबै कुरामा नजिक छौं।

वाशिङटन डिसीबाट नेपाल हेर्दा नेपाल र अमेरिकाको सम्बन्ध कस्तो देखिन्छ?

धेरै राम्रो छ। म भन्न चाहन्छु कि यो अमेरिका र नेपालबीचको धेरै ऐतिहासिक सम्बन्ध हो—राजनीतिक रूपमा र जनता–जनता स्तरमा। नेपाल र अमेरिकाबीचको सम्बन्ध दुवै स्तरमा अत्यन्त गहिरो र नजिकको छ। र नेपालप्रतिको अमेरिकाको दृष्टिकोण पनि अत्यन्त सकारात्मक छ।

४४ देशहरूमा सुरु गरिएका एमसीसी परियोजनाहरू नेपालसहित विभिन्न देशहरूमा जारी छन्। क्रस–बोर्डर ट्रान्समिसन लाइन नबनाई बिजुली बेच्न सकिँदैन। त्यसैले, यदि क्रस–बोर्डर ट्रान्समिसन लाइन समयमै पूरा गर्न सकियो भने, नेपालले बिजुली निर्यात गर्न सक्छ र आफ्नो आर्थिक लचकता बढाउन सक्छ, जुन अमेरिकी सरकारको सकारात्मक विचार हो। यस्तो अवस्थामा नेपाल र अमेरिकाको सम्बन्ध राम्रो छ र यो सम्बन्ध झन् राम्रो बन्दै जानेछ।

नेपाल र अमेरिकाको सम्बन्ध धेरै ऐतिहासिक, धेरै नजिकको, धेरै सहयोगी छ, र अमेरिकाले नेपालप्रति धेरै सकारात्मक दृष्टिकोण देखाएको छ। नेपाल र अमेरिकाबीच यी संलग्नताहरू बढेका छन्, जुन राम्रो कुरा हुन्।

अमेरिकाले नेपाललाई गरेको सहयोगवापत नेपालले अमेरिकालाई ठ्याक्कै के दिन सक्छ?

अमेरिकामा नेपाली डायस्पोराले अमेरिकाको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान दिएको छ। हामी नेपालीहरू शान्तिप्रिय मानिसहरू पनि हौं। नेपालीहरूको यहाँ सामाजिक–आर्थिक विकासमा ठूलो योगदान छ। यहाँ कुनै क्षेत्र छैन जहाँ नेपालीहरू संलग्न छैनन्। हामी सन्देश पठाउँदैछौं कि नेपाली डायस्पोराको ठूलो योगदान छ, जसलाई उनीहरूले पनि उच्च मूल्यांकन गर्छन्। यसको मतलब नेपालले पनि अमेरिकालाई योगदान दिइरहेको छ।

नेपाली डायस्पोराका लागि तपाईंको सुझाव के हो?

हामीले दिने सन्देश के हो भने तपाईं जहाँ गए पनि नेपाली नै हुनुहुन्छ। त्यसैले तपाईंको योगदान अमेरिकामा मात्र होइन, नेपालमा पनि हुनुपर्छ। भोलि केही भयो भने जाने ठाउँ, रहने ठाउँ नेपाल हो। अर्को, नेपाल सरकारले तपाईंलाई—नेपालमा बस्ने नेपालीहरूलाई—एकअर्कासँग जोड्न सक्ने वातावरण सिर्जना गर्नेछ। त्यसैले अब तपाईंको फोकस अमेरिकामा मात्र होइन, नेपालमा पनि हुनुपर्छ। हामी उनीहरूलाई प्रोत्साहित गर्दैछौं कि तपाईंको संलग्नता नेपालको सामाजिक–आर्थिक विकासमा सबै क्षेत्रमा बढ्नुपर्छ।

दोस्रो कुरा, तपाईं जुनसुकै देशमा बस्नुहुन्छ—चाहे त्यो तपाईंको होस्ट देश होस् वा मातृभूमि—दुवै ठाउँका कानुनहरू पूर्ण रूपमा पालना गर्नुपर्छ। प्रचलित कानुनहरू पूर्ण रूपमा पालना गर्नुपर्छ। यो हामी नेपालीहरूले सभ्य नागरिकको पहिचान दिन गर्नुपर्ने हो। त्यसैले हामी दोस्रो सन्देश दिन्छौं कि हामी कुनै अवैध गतिविधिमा संलग्न हुनु हुँदैन।

तेस्रो, व्यक्तिको पहिचान उनीहरूको संस्कृतिसँग जोडिएको हुन्छ। हाम्रो नेपाली संस्कृतिमा धेरै राम्रा कुराहरू छन्। तपाईंले अमेरिकामा पनि त्यसलाई प्रवर्द्धन गर्न जारी राख्नुपर्छ। त्यसका लागि हामीले जस्तो संघर्ष गर्नुपर्छ, त्यो गर्नेछौं। त्यसैगरी, तपाईंले यहाँ अमेरिकी समाजमा बढी संलग्न हुनुपर्छ, जसले जनता–जनता सम्बन्ध र सहयोग बढाउन मद्दत गर्नेछ। अर्को शब्दमा, हामी डायस्पोरालाई सकारात्मक तरिकाले प्रोत्साहित गर्दैछौं।





Source link

Leave a Comment