अमेरिकी युवाहरू अब स्वतः सैन्य दर्ताको घेरामा, भियतनाम युद्धपछिको ठूलो परिवर्तनको तयारी



प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार

अमेरिकी युवाहरू अब स्वतः सैन्य दर्ताको घेरामा, भियतनाम युद्धपछिको ठूलो परिवर्तनको तयारी

अमेरिकामा युवा पुरुषहरूलाई सैन्य सेवा (ड्राफ्ट) का लागि योग्य उमेर पुग्नासाथ स्वतः दर्ता गर्ने नयाँ नियम प्रस्ताव गरिएको छ। सम्भवतः आगामी डिसेम्बरदेखि लागू हुन सक्ने यस नियमले दशकौँदेखि चल्दै आएको ‘स्वयं दर्ता प्रणाली’ को अन्त्य गर्नेछ।

सरकारी निकायद्वारा प्रस्तावित यस नियमअनुसार, अब १८ वर्ष पुगेपछि ३० दिनभित्र आफैँ दर्ता गर्नुपर्ने झन्झटिलो व्यवस्था हटाइनेछ। त्यसको सट्टा सम्बन्धित निकायले नै योग्यता पुगेका युवाहरूको विवरण स्वतः दर्ता गर्नेछ।

समर्थकहरूका अनुसार स्वतः दर्ता प्रणाली लागू भएमा सरकारले हरेक वर्ष दर्ताका लागि सम्झाउन वा ताकेता गर्न खर्च गर्ने करोडौँ डलर बचत हुनेछ। हाल अमेरिकामा १८ देखि २५ वर्ष उमेर समूहका पुरुषहरूका लागि सैन्य दर्ता अनिवार्य छ।

यो प्रस्ताव अहिले समीक्षाको प्रक्रियामा छ र यसको कार्यान्वयनअघि अन्तिम स्वीकृति आवश्यक हुनेछ। यद्यपि, यस कदमले भविष्यमा कुनै संकट वा युद्धको अवस्थामा ‘अनिवार्य सैन्य भर्ती’ (कन्स्क्रिप्सन) लागू हुन सक्ने भन्दै कतिपयमा चिन्ता पनि बढाएको छ।

अमेरिकामा अन्तिम पटक सन् १९७३ मा भियतनाम युद्धका क्रममा सैन्य ‘ड्राफ्ट’ लागू गरिएको थियो, जसको व्यापक विरोध भएको थियो। यो प्रस्ताव पेस गर्ने सरकारी निकाय ‘सेलेक्टिभ सर्भिस सिस्टम’ (एसएसएस) ले मार्च ३० मा सूचना तथा नियामक मामिला कार्यालयमा आफ्नो प्रतिवेदन बुझाएको जनाएको छ।

एसएसएसका अनुसार, नयाँ प्रणालीले दर्ताको जिम्मेवारी व्यक्तिबाट हटाएर सरकारी निकायमा सार्नेछ, जसले प्रक्रियालाई थप सरल र व्यवस्थित बनाउनेछ। हाल दर्ता नगर्नु कानुनी अपराध मानिन्छ, जसका लागि सैद्धान्तिक रूपमा पाँच वर्षसम्म जेल सजाय हुन सक्छ। यद्यपि, यस्तो सजाय विरलै दिइन्छ। तर, दर्ता नगरेका व्यक्तिहरू संघीय विद्यार्थी आर्थिक सहायता, सरकारी जागिर र नागरिकता प्राप्तिजस्ता सुविधाहरूबाट वञ्चित हुन सक्छन्।

धेरैजसो अमेरिकी राज्यहरूमा सवारी चालक अनुमतिपत्र (ड्राइभर लाइसेन्स) लिँदा नै स्वतः दर्ता हुने व्यवस्था छ। यद्यपि, सरकारी तथ्याङ्कअनुसार सन् २०२४ मा दर्ता दर घटेर ८१ प्रतिशतमा झरेको थियो। डिसेम्बरमा अमेरिकी कंग्रेसले ‘राष्ट्रिय रक्षा अधिकार ऐन’ अन्तर्गत यो व्यवस्था पारित गरेको थियो, जसले विश्वभर अमेरिकी सैन्य गतिविधिका लागि बजेट स्वीकृत गर्दछ।

इरानसँगको बढ्दो तनाव र सम्भावित संकटका कारण अमेरिका पुनः अनिवार्य सैन्य भर्तीको दिशामा जान लागेको आशंका कतिपयले गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले हालका लागि अनिवार्य भर्तीको कुनै योजना नभए पनि राष्ट्रपतिले सबै विकल्पहरू खुला राखेको बताएकी छन्।

अमेरिकाले आफ्नो इतिहासमा हालसम्म छ पटक युद्धकालीन सैन्य ड्राफ्ट लागू गरेको छ। भियतनाम युद्धका क्रममा मात्रै करिब १८ लाख अमेरिकीहरूलाई अनिवार्य रूपमा सेनामा भर्ती गरिएको थियो। सन् १९८० मा तत्कालीन राष्ट्रपति जिम्मी कार्टरले पुनः दर्ता प्रणाली सुरु गरेका थिए। एजेन्सीहरुको सहयोगमा





Source link

Leave a Comment