समयको गतिसँगै साँझ छिप्पिँदै थियो । सूर्यविनायकको त्यो शान्त ‘निष्ठा छेँ’भित्र बाहिरको कोलाहल निथ्रक्क भिजेर मौन भइसकेको थियो । दिनभरिको हिँडाइ र कामको थकाइले शरीर गल्दै गइरहेको थियो । मन कता–कता तातो गाँस र बासको ओत खोजिरहेको थियो । तर, ठ्याक्कै त्यही समयमा एउटा यस्तो आत्मीय संवादको ढोका खुल्यो, जसले थकावटलाई ऊर्जामा र भोकलाई तृप्तिमा बदलिदियो।
मेरो अगाडि हुनुहुन्थ्यो– नेपाली साहित्य र संस्कृतिका देदीप्यमान नक्षत्र, वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगः । उहाँको व्यक्तित्वमा एउटा अनौठो गुरुत्व छ, जसले शब्दको खेती गर्ने जोकोहीलाई आफूतिर तानिहाल्छ। म, उहाँकै पदचापलाई पछ्याउँदै अक्षरको संसारमा बामे सर्ने एउटा सर्जक, उहाँका हरेक शब्दलाई मानसपटलमा संकलन गरिरहेको थिएँ।
त्यो साँझ उहाँ बोलिरहनुभएको थियो, एउटा सिंगो युगको जीवन्त इतिहास उघारिरहनुभएको थियो । उहाँले आफ्ना गुरु महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समलाई पटक–पटक सम्झनुभयो । महाकविको त्यो अगाध पाण्डित्य र सरल व्यक्तित्वको चर्चा गर्दा तेजेश्वरबाबुका आँखाहरूमा एउटा छुट्टै चमक देखिन्थ्यो । लाग्थ्यो– देवकोटाका वाणी र अक्षरहरू उहाँको कण्ठबाट अहिले पनि जीवन्त भएर झरिरहेका छन्।
संवादको त्यान्द्रो तन्किँदै जाँदा चित्तधर हृदयको साधना, मदनमणि दीक्षितको वैचारिक गहिराइ र शताब्दी पुरुष सत्यमोहन जोशीको सांस्कृतिक निष्ठाका पत्रहरू एक–एक गर्दै खुल्न थाले। राष्ट्रकवि माधवप्रसाद घिमिरेको छन्दमय जीवनदेखि कमलमणि दीक्षित, जनकलाल शर्मा, वरिष्ठ सर्जकहरू चित्तरञ्जन नेपाली, कृष्णचन्द्रसिंह प्रधानसम्मको मित्रवत सम्बन्धले उहाँलाई कसरी तिखारेको थियो भन्ने कुरा सुन्दा मलाई लाग्यो– म कुनै कोठामा होइन, नेपाली वाङ्मयको एउटा विशाल संग्रहालयमा उभिएको छु।
उहाँले भन्दै जानुभयो– ‘सर्जकले आफूलाई मात्र हेरेर पुग्दैन, उसले त अरूको अस्तित्वमा पनि आफ्नो प्रतिविम्ब खोज्नुपर्छ।’
साँझ गहिरिँदै गयो, बाहिर अँध्यारोले साम्राज्य जमाइसकेको थियो तर ‘निष्ठा छेँ’ को त्यो एउटा कुना भने ज्ञान र संस्मरणको प्रकाशले जगमगाइरहेको थियो। आफ्नो बारेमा भन्दा बढी अरूको व्यक्तित्व र योगदानको चर्चा गर्ने उहाँको त्यो विशाल हृदय देख्दा मेरो मन श्रद्धाले झुकेको थियो। एउटा अग्रजले आफ्ना अनुजलाई दिने सबैभन्दा ठुलो उपहार सायद यही ‘अनुभवको पुस्तान्तरण’ नै रहेछ।
समयको नदी अविरल बगिरहन्छ तर कतिपय व्यक्तित्वहरू त्यो प्रवाहमा पनि एउटा दरिलो खम्बा बनेर उभिइरहँदा रहेछन् । ९२ वर्षको उमेर– यो केवल एउटा संख्या मात्र होइन, अनुभवको सगरमाथा हो। तेजेश्वरबाबु ग्वंगःलाई देख्दा लाग्छ, उमेरले उहाँको शरीरलाई छोए पनि उहाँभित्रको ‘सर्जक’लाई भने अझ तन्नेरी बनाउँदै लगेको छ। उहाँको जोस, जाँगर र लेखनप्रतिको भोक देख्दा आजका युवा लेखकहरू पनि एकपटक झस्किएर आफ्नो कलम नियाल्न बाध्य हुन्छन्।
उहाँका अक्षर मसीका थोपा होइनन्, ती त कलात्मक बान्कीमा बुनिएका भावनाका तन्तुहरू हुन्। उहाँको कलम कहिले वैयक्तिक अनुभूतिको उडानमा बादलझैं तैरिन्छ, त कहिले हाम्रो सांस्कृतिक गरिमाको गौरवगाथा गाउँदै धर्तीमा ओर्लिन्छ। यो उमेरमा उहाँले लेख्नुहुने हरेक शब्दका पंक्ति हाम्रा लागि एउटा उपलब्धिमूलक ‘आशीर्वचन’ बनेको हुन्छ। उहाँका शब्दहरूमा विगतको इतिहास, वर्तमानको यथार्थ र भविष्यको मार्गचित्र एकसाथ प्रतिविम्बित हुन्छन्। उहाँलाई पढ्नु भनेको जीवनको लामो अनुभव र विचारको गहिरो सागरमा डुबुल्की मार्नु हो, जहाँबाट पाठक सधैं एउटा सकारात्मक ऊर्जा र गतिशील मन लिएर निस्कन्छ।
त्यो साँझको संवादमा उहाँले मेरा आँखामा हेर्दै भन्नुभयो– ‘तपाईंको लेखाइ मलाई मनपर्छ । म अरूका रचना पनि पढ्छु। यसरी पढ्दा नयाँ कुरा लेख्ने ऊर्जा र अनुभव सँगाल्न पाइन्छ। वास्तवमा लेख्नु भनेको कुनै यात्रा गर्नु वा कुनै कृति पढ्दा प्राप्त हुने आत्मिक प्राप्ति नै हो।’
सिद्धहस्त अग्रजको मुखबाट आफ्ना लागि यस्तो स्वीकारोक्ति सुन्दा मभित्र एउटा छुट्टै कम्पन पैदा भयो। उहाँसँगको मेरो सम्बन्ध एउटा भेटमा मात्र सीमित छैन। मेरो निबन्ध ‘अर्धकदको अवसान’ मधुपर्कमा प्रकाशित हुँदा उहाँले त्यसैको चर्चामा एउटा छुट्टै निबन्ध नै लेखिदिनुभयो। पछि जब मेरो सोही शीर्षकको निबन्ध संग्रह प्रकाशित भयो, उहाँले त्यसमा जुन सारगर्भित मन्तव्य लेखिदिनुभयो, त्यो मेरो साहित्यिक जीवनको एउटा अमूल्य निधि बनेको छ।
उहाँको सक्रियता र स्नेहको त झन् कुरै बेग्लै छ। कुनै पत्रिकामा मेरो रचना छापिएको छ भने उहाँ पढेर तुरुन्तै फोन गरिहाल्नुहुन्छ । उहाँका फोनका घन्टीहरू मेरा लागि प्रोत्साहनका संगीत हुन्। उहाँले गर्नुभएको तारिफले मेरो मन हर्षले विभोर हुन्छ तर मलाई त्यो हर्षले अहंकारी बनाउँदैन। उहाँका ती स्नेही शब्दले मलाई अझ जिम्मेवार बनाउँछन्। उहाँले मेरा कमजोरी सुधार्न र नयाँ विषयमा कलम चलाउन जुन ऊर्जा दिनुहुन्छ, त्यसैले मलाई अर्को नयाँ निबन्ध सिर्जना गर्न पलेटी कसेर बसाउँछ।
साहित्यको आकाशमा केही यस्ता नक्षत्र हुन्छन्, जसको चमक उमेरको साँझमा झन् गाढा र उज्यालो हुँदै जान्छ। तेजेश्वरबाबु ग्वंगः मेरा लागि त्यस्तै एउटा प्रकाशपुञ्ज हुनुहुन्छ। मेरो निबन्ध सङ्ग्र्रह ‘सुन्दरीचोक’ माथि उहाँले लेखिदिनुभएको सुन्दर समीक्षात्मक निबन्ध मेरो सिर्जनात्मक यात्राको एउटा महत्त्वपूर्ण मानक बनिसकेको छ। ९२ वर्षको यो वयमा पनि उहाँको पढ्ने भोक र लेख्ने प्यास फिटिक्कै मेटिएको छैन । उहाँसँगको प्रत्येक भेट मेरा लागि सधैं एउटा नवीन सिर्जनाको खजाना उघारिएझैं हुने गर्छ।
त्यो दिन ‘साहित्यपोस्ट’ को साहित्यिक भेटघाटको कार्यक्रम सकिँदा दिन ढल्किँदै थियो। मेरो मनमा एउटै हुटहुटी थियो– मेरो भर्खरै प्रकाशित नयाँ निबन्ध कृति ‘इन्द्रेणी सौन्दर्य’ जतिसक्दो चाँडो उहाँको हातमा सुम्पिनु। रातको शून्यता भित्रिँदै गर्दा म अचानक सूर्यविनायकस्थित उहाँको निवास पुगेँ र ढोका ढकढक्याएँ । यति ढिलो र पूर्वसूचना बिना टुप्लुक्क मलाई ढोकामा देख्दा उहाँ अचम्मित हुनु स्वाभाविक थियो तर त्यो आश्चर्यलाई क्षणभरमै उहाँको अनुहारमा फैलिएको एउटा आत्मीय र उज्यालो मुस्कानले विस्थापित गरिदियो। त्यो एउटै मुस्कान मेरा लागि संसारकै ठुलो पुरस्कार थियो।
पछिल्ला केही वर्षदेखि शारीरिक अशक्तताका कारण उहाँको हिँड्डुल कोठाको चौघेराभित्रै खुम्चिएको छ । तर अचम्म ! उहाँका खुट्टा थामिए पनि उहाँको लेखनको गतिले भने निरन्तर फड्को मारिरहेकै छ । शरीर एउटा कुर्सी वा ओछ्यानमा सीमित भए पनि उहाँको विचारको उडानले सिंगो ब्रह्माण्ड नापिरहेको भान हुन्छ ।
मैले सप्रेम ‘इन्द्रेणी सौन्दर्य’ उहाँको हातमा अर्पण गरेँ। उहाँले किताबलाई सुमसुम्याउँदा मलाई लाग्यो– मेरो शब्द–साधनाले एउटा पवित्र मन्दिरमा प्रसाद चढाउने सौभाग्य पाएको छ। उहाँका काँपिरहेका तर स्नेही हातहरूले मेरो शिरमा दिएको त्यो अदृश्य आशीर्वाद नै मेरो आगामी साहित्यिक यात्राको ऊर्जा हो। म उहाँप्रति कृतकृत्य भएँ।
सूर्यविनायकको त्यो ‘निष्ठा छेँ’बाट फर्किंदै गर्दा तेजेश्वरबाबुजस्ता अग्रजहरू हुनु नै हामीजस्ता साधकका लागि एउटा सुरक्षित छहारी हो । उहाँका ९२ वर्षका पाइलाहरू अझै नथाकून्, उहाँको कलमले नेपाली साहित्यको आकाशमा अझै धेरै इन्द्रेणी रङहरू कोरिरहून् । मेरो श्रद्धा र प्रार्थनाको पुष्प उहाँकै चरणमा छ।
उहाँसँगको भेट र भलाकुसारीले मेरो मन हलुका र मस्तिष्क विचारले भरिएको थियो । सजिलैसँग रूपमा उहाँ हिँड्न नसके पनि उहाँको वैचारिक पदचापले मलाई धेरै परसम्म डो¥याइरहेको महसुस भइरह्यो । यस्ता आदरणीय अग्रजको आशीर्वचन र स्नेही छत्रछाया पाइरहनु नै मेरो लेखन जीवनको सबैभन्दा ठुलो उपलब्धि हो । मनमा उहाँप्रति अगाध श्रद्धा र कृतज्ञताका फूलहरू चढाउँदै म घरतर्फ फर्किएँ तर मेरो साथमा ‘इन्द्रेणी सौन्दर्य’का रङहरूभन्दा बढी शताब्दी आयु नजिकैका तेजेश्वरबाबुको अनुहारको त्यो दिव्य मुस्कान र शब्दहरूको सुगन्ध थियो।
थकाइ अझै थियो तर त्यो संवादको मोहनी यति बलियो थियो कि मलाई समय थामिए हुन्थ्योजस्तो लागिरहेको थियो। वरिष्ठहरूको संगतले कसरी मान्छेलाई एउटा संस्था बनाउँछ भन्ने ज्वलन्त उदाहरण हुनुहुन्छ तेजेश्वरबाबु ग्वंगः!
जब म त्यो साँझ उहाँबाट बिदा भएर निस्किएँ, मेरो झोलामा शब्दहरू मात्र थिएनन्, एउटा युगको जीवन्त भोगाइ र अग्रजप्रतिको अगाध श्रद्धाको भारी पनि थियो। सूर्यविनायकको त्यो रात मेरा लागि एउटा समयको हिस्सा रहेन, त्यो त मेरो साहित्यिक यात्राको एउटा महत्त्वपूर्ण ऊर्जा–गृह बन्यो।
प्रकाशित: २८ चैत्र २०८२ ०७:३२ शनिबार
