श्रीमतीसँगको सम्बन्धबारे टिप्पणी गरेपछि फ्रान्सेली राष्ट्रपति  ट्रम्पसँग आक्रोशित



प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार

श्रीमतीसँगको सम्बन्धबारे टिप्पणी गरेपछि फ्रान्सेली राष्ट्रपति  ट्रम्पसँग आक्रोशित

फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गरिएको अपमानजनक टिप्पणीको विरोध गरेका छन्। राष्ट्रपति म्याक्रोनले अमेरिकी राष्ट्रपति ट्रम्पको कडा प्रतिकार गरेका हुन्।

ट्रम्पले इरानविरुद्धको अमेरिकी-इजरायली अभियानमा फ्रान्सको सहभागिता नहुनुलाई लिएर म्याक्रोन र उनकी पत्नीको सम्बन्धबारे मजाक गरेका थिए। ट्रम्पको पहिलो कार्यकालमा दुई नेताले आफ्नो मैत्रीपूर्ण सम्बन्धको प्रचार गर्दै आएका थिए। तर, एक निजी कार्यक्रममा ट्रम्पले फ्रान्सेली नेताले अमेरिका र मध्यपूर्वमा सहयोग नगरेको भन्दै आलोचना गरेका थिए।

म्याक्रोनलाई उनकी पत्नी ब्रिजिट म्याक्रोनले अत्यन्तै नराम्रो व्यवहार गर्छिन् भन्दै ट्रम्पले टिप्पणी गरेका थिए। ट्रम्पले सन् २०२५ मा सार्वजनिक भएको एक भिडियोको सन्दर्भ दिएका थिए, जसमा ब्रिजिट म्याक्रोनले फ्रान्सेली राष्ट्रपति जेटमा आफ्ना श्रीमानलाई अनुहारमा धकेलेको देखिएको थियो।

दक्षिण कोरियाको आधिकारिक भ्रमणका क्रममा ट्रम्पको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै म्याक्रोनले भने, “उनका शब्दहरू शिष्ट थिएनन् र यो उनको स्तरको पनि थिएन।”

ब्रिजिट म्याक्रोन आफ्ना श्रीमानभन्दा करिब २५ वर्ष जेठी छिन्। गत वर्ष यो जोडीले अमेरिकी पोडकास्टर क्यान्डेस ओवेन्सविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए। ओवेन्सले ब्रिजिट पुरुष हुन सक्ने दाबी गरेकी थिइन्।

युरोपेली साझेदारहरूले सन् २०२५ मा इरानको आणविक पूर्वाधारमाथि भएको अमेरिकी-इजरायली हवाई आक्रमणलाई सामान्य समर्थन गरेका थिए। तर, यस पटकको हमलालाई भने समर्थन नजनाएको देखिएको छ।

फ्रान्सले केही सैन्य बलहरू फारसको खाडीमा तैनाथ गरेको छ। जेट विमान र हवाई रक्षा प्रणाली पठाएर अरब साझेदारहरूको सुरक्षा गरेको छ।

साइप्रसको तटमा नौसैनिक तैनाथ गरेको छ। तर, फ्रान्सले ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्ने उद्देश्यले सञ्चालित अमेरिकी अभियानलाई आफ्नो नौसैनिक जहाजमार्फत समर्थन गर्न भने अस्वीकार गरेको छ।

फ्रान्सले अमेरिकी विमानहरूलाई आफ्ना एयरबेस प्रयोग गर्न रोक लगाएर स्पेन र इटालीसँग मिलेर आफ्नो दृढता देखाएको छ।

पहिलो कार्यकालमा ट्रम्प र म्याक्रोनको सम्बन्ध मैत्रीपूर्ण थियो, तर पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय नीतिबारे विवाद उत्पन्न भएको छ। ट्रम्पले म्याक्रोँका निजी सन्देशहरू सार्वजनिक गरेका छन् र प्रायः सार्वजनिक रूपमा म्याक्रोनको अभिनय गरेर मजाक उडाउने गरेका छन्।





Source link

Leave a Comment