अमेरिकामा सरकारी शटडाउनको असर : ५०० टीएसए अधिकारीले छोडे जागिर, विमानस्थलहरू अस्तव्यस्त



प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार


अमेरिकामा जारी आंशिक सरकारी शटडाउनका कारण देशभरका विमानस्थलहरू अस्तव्यस्त भएका छन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार फेब्रुअरीदेखि अहिलेसम्म करिब ५०० एयरपोर्ट सुरक्षा अधिकारीहरूले जागिर छोडेका छन्, जसले सुरक्षा व्यवस्थामा ठूलो दबाब सिर्जना गरेको छ।

फेब्रुअरी मध्यदेखि करिब ५० हजार ट्रान्सपोर्टेसन सेक्युरिटी एडमिनिस्ट्रेशन (टीएसए)का कर्मचारीहरू बिना तलब काम गर्न बाध्य छन्। यसको असरस्वरूप केही विमानस्थलहरूमा यात्रुहरूले सुरक्षा जाँच पार गर्न चार घण्टाभन्दा बढी समय कुर्नुपर्ने अवस्था आएको छ, जुन टीएसएको इतिहासकै सबैभन्दा लामो लाइन मानिएको छ।

बुधबार मात्रै ११ प्रतिशतभन्दा बढी अर्थात् ३,१२० जना टीएसए अधिकारीहरू काममा उपस्थित भएनन्। न्यूयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, ह्युस्टनका दुई विमानस्थल, बाल्टिमोर, न्यु अर्लिन्स र एटलान्टामा करिब ३० प्रतिशतसम्म कर्मचारी अनुपस्थित देखिएको छ।

टीएसएले चेतावनी दिँदै कर्मचारी अभाव झन् बढे साना विमानस्थलहरू बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ।

यसैबीच, एयरलाइन्स फर अमेरिकाका सीईओ क्रिस सुनुनुले अमेरिकी कंग्रेसलाई तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन्। उनले भने, “यदि शुक्रबारसम्म सिनेटले सहमति गरे पनि तत्काल कार्यान्वयन नहुने भएकाले सप्ताहन्त निकै चुनौतीपूर्ण हुन सक्छ।”

सिनेटमा रिपब्लिकन र डेमोक्र्याटबीच बजेटसम्बन्धी विवाद अझै टुंगिएको छैन। विशेषगरी आप्रवासन नीतिमा सुधारको माग गर्दै डेमोक्र्याटहरूले बजेट रोकेका छन् भने रिपब्लिकनहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै आएका छन्।

यता, वसन्तकालीन बिदाका कारण यात्रु चाप बढ्दा समस्या झन् चर्किएको छ। गत वर्षको तुलनामा करिब ५ प्रतिशत बढी यात्रु देखिएका छन् भने कर्मचारी अनुपस्थिति १० प्रतिशतभन्दा माथि पुगेको छ।

स्थिति नियन्त्रणमा लिन सोमबारदेखि सयौं आप्रवासन तथा होमल्याण्ड सेक्युरिटी अनुसन्धान अधिकारीहरू १४ वटा विमानस्थलमा खटाइएको छ। उनीहरूले परिचयपत्र जाँच, भीड नियन्त्रण, प्रवेश–निर्गमन व्यवस्थापनजस्ता काम गरिरहेका छन्।





Source link

Leave a Comment

Translate »