प्रलोभनमा परी अलपत्र, कम्बोडियाबाट सुरक्षित नेपाल फर्काइए ५१ नेपाली



प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार

थाइल्यान्डस्थित नेपाली राजदूतावास । तस्वीर : सुरज घिमिरे/खसोखास

विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रहरू र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका ५१ नेपालीको उद्धार गरिएको छ ।

अनलाइन ठगीका साथै विभिन्न गैर कानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना राहदानी बसिरहेका उनीहरूलाई आज थाइल्यान्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैर आवासीय नेपाली सङ्घ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो । 

यसै गरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ । कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिना राहदानी वा राहदानी–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

कम्बोडियामा अवैध रूपमा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैर–आवासीय नेपाली सङ्घ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रहरूबाट ट्रान्सफर हुँदा राहदानी हराएको गुनासो दूतावासले जनाएको छ । त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र जारी गरिदिने गरेको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा छ हजार ४०४ जना तथा सन् २०२५ मा नौ हजार ६७६ नेपालीहरू कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस्, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावासले अनुरोध गरेको छ । 





Source link

Leave a Comment

Translate »