पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडप्रति युनियनको भर्त्सना


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल प्रेस युनियनले समाचार प्रकाशनकै आधारमा पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशको भर्त्सना गर्दै तत्काल रिहाइको माग गरेको छ।
  • युनियनका अनुसार नेपाल प्रेस डटकमका विश्वमणि सुवेदीसहित केही पत्रकार पक्राउ परेका छन् भने नयाँ पत्रिका र दियोपोस्टका पत्रकारलाई पक्राउ गर्न प्रहरी पुगेको थियो।
  • युनियनले यस्ता गतिविधि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै सरकारलाई सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न चेतावनी दिएको छ।

१३ कात्तिक, काठमाडौं । नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भर्त्सना गरेको छ। युनियनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ।

युनियनका महासचिव दिलीप पौडेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका शोभराज बराल र डिएनए खबरका धिरज बस्नेतलगायत पत्रकार पक्राउ परेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनाली तथा दियोपोस्टका सुदीप विश्वकर्मा र मदन ढुंगानालाई पक्राउ गर्ने उद्देश्यले सादा पोशाकका प्रहरी सञ्चारगृह पुगेको घटनाप्रति पनि युनियनले आपत्ति जनाएको छ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारगृहमा प्रहरी परिचालन गरी त्रास सिर्जना गर्ने कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको युनियनको ठहर छ। कुनै समाचारप्रति असहमति वा गुनासो भए कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा प्रहरी परिचालन गरी धरपकड गर्नु लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनविपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।

यस्ता गतिविधिले पत्रकारिता क्षेत्रलाई भयभीत बनाउनुका साथै नागरिकको सूचनाको हकसमेत कुण्ठित गर्ने भन्दै युनियनले प्रेस स्वतन्त्रता, पत्रकारको पेसागत सुरक्षा र नागरिकको सूचनाको हकको रक्षा गर्न सरकार गम्भीर हुनुपर्ने जनाएको छ।

युनियनले आगामी दिनमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि नदोहोर्‍याउन सरकारलाई चेतावनीसमेत दिएको छ।





Source link

Translate »