इरान युद्धले निम्त्याएको खाद्य संकट


अमेरिका–इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्नुअघि हर्मुज जलडमरु हुँदै दैनिक रूपमा झन्डै एक सय पानीजहाज पार गर्थे। अहिले मुस्किलले केही मात्रै त्यहाँबाट गुज्रन सकेका छन्। अहिले इरानले उक्त साँघुरो समुद्री मार्गमा समुद्री बारुद (सी–माइन) बिछ्याइरहेका खबर सार्वजनिक भएसँगै यो जलमार्ग केही दिन मात्र होइन, महिनौंसम्म बन्द हुन सक्ने सम्भावना देखिन थालेको छ।

हर्मुज जलडमरु बन्द हुन सक्ने विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रायः तेलको मूल्यमा पर्ने प्रभावबारे मात्र चर्चा गरेका छन् तर विश्व खाद्य आपूर्तिमा पर्ने असर उत्तिकै गम्भीर हुन सक्छ। यो जलमार्ग लामो समयसम्म बन्द भयो भने विश्वव्यापी कृषि प्रणाली अवरुद्ध हुन सक्छ र १० करोडभन्दा बढी मानिस मानवीय संकटको जोखिममा पर्न सक्छन्।

त्यसो त विश्व ऊर्जा बजारमा यसको धक्का देखिन थालेको छ तर लामो समयसम्म जलमार्ग बन्द हुँदा सबैभन्दा प्रत्यक्ष र खतरनाक असर पेट्रोलपम्पमा होइन, मानिसहरूको भोजन थालीमै देखिन सक्छ। किनभने हर्मुज जलडमरु केवल तेल ट्यांकरका लागि मात्र मार्ग होइन, यो विश्व खाद्य प्रणालीको पनि एक महत्त्वपूर्ण धमनीका रूपमा काम गर्छ।

गहुँ, मकै, चामल, सोयाबिन, चिनी र पशु आहारजस्ता प्रमुख खाद्यवस्तु खाडी देशहरूमा यही जलमार्ग हुँदै जान्छन् । त्यस्तै विश्वभरका किसानहरूलाई आवश्यक मल र इन्धन पनि यही मार्गबाट आपूर्ति हुन्छ।

खाद्यान्न आयातमा अत्यधिक निर्भर खाडी क्षेत्रका देशहरू यसबाट विशेष रूपमा प्रभावित हुन सक्छन् । अन्न, चामल, पशु आहार र खाने तेल सुरक्षित गर्न उनीहरू खुला समुद्री मार्ग र निरन्तर अन्तर्राष्ट्रिय आपूर्तिमा निर्भर छन्।

कोभिड–१९ महामारीले देखाएको थियो– आपूर्ति शृंखलाको चुनौती केवल युद्धकालीन समयसँग जोडिएको समस्या मात्र होइन । त्यसैले पछिल्ला वर्षमा धेरै खाडी देशले आफ्नो खाद्यप्रणालीलाई बलियो बनाउन केही कदम चालेका छन्। उनीहरूले रणनीतिक खाद्य भण्डार बढाएका छन् र आन्तरिक उत्पादनमा पनि लगानी गरेका छन्। यसबाहेक उनीहरूले वैकल्पिक ढुवानी मार्गहरू पनि खोजेका छन्। केही सामान स्थलमार्गबाट वा हर्मुज जलडमरुलाई वैकल्पिक बन्दरगाहहरूबाट ढुवानी हुन थालेका छन्। लाल सागर रहेको साउदी अरेबियाको जेद्दा इस्लामिक पोर्ट एक उदाहरण हो।

यी प्रयासले केही हदसम्म सहयोग गरे तापनि पर्सियन खाडीमा पूर्ण रूपमा नाकाबन्दी भएमा त्यसको असरलाई पूर्ण रूपमा कम गर्न सक्दैनन् । बहराइन, कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र इराकमा उपभोग हुने खाद्यवस्तुको झन्डै ७० प्रतिशत यही जलडमरुबाट आउने गर्छ।

यी देशको कुल जनसंख्या करिब १० करोड छ। आयात अवरुद्ध भयो भने त्यसलाई प्रतिस्थापन गर्न दैनिक करिब १९ करोड पाउन्ड खाद्यवस्तु यस क्षेत्रमा पुर्‍याउनुपर्ने हुन्छ। यस्तो आपूर्ति कायम राख्न अभूतपूर्व मानवीय सहायता अभियान सञ्चालन गर्नुपर्ने हुन सक्छ।

तुलनाका लागि हेरौं, संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले सन् २०२४ मा ७१ देशका आठ करोड १० लाख मानिसलाई औसतमा दैनिक एक करोड ५० लाख पाउन्ड मात्र खाद्य सहायता उपलब्ध गराएको थियो।

पूर्ण नाकाबन्दीको असर इरानले पनि भोग्नुपर्नेछ। समुद्री व्यापार अवरुद्ध हुँदा एकातिर ऊर्जा निर्यात घट्नेछ भने अर्कातर्फ गहुँ, चामल, पशु आहार र वनस्पति तेलजस्ता आयातित वस्तुको मूल्य बढ्नेछ।

यसअघि नै धेरै इरानी नागरिकका लागि रोटी र घरभाडाजस्ता आधारभूत आवश्यकताहरू महँगा भइसकेका छन् । यही कारण यस वर्षको सुरुमा इरानभर व्यापक विरोध प्रदर्शन भएका थिए।

इतिहासले देखाएको कुरा के हो भने खाद्य मूल्यवृद्धि र अभाव राजनीतिक अस्थिरताको प्रमुख कारण बन्न सक्छ। सन् २००८ मा ऊर्जा र मलको मूल्य बढ्नुका साथै चरम मौसम र नीतिगत असफलताका कारण प्रमुख खाद्यान्नको मूल्य लगभग दोब्बर भयो। त्यसले दर्जनौं देशमा खाद्य दंगाहरू निम्त्यायो।

त्यसको केही वर्षपछि अर्थात् सन् २०१० र २०११ मा रुसमा परेको ऐतिहासिक खडेरी र अत्यधिक गर्मीका कारण अन्न उत्पादन घट्यो। त्यसले विश्व खाद्य मूल्यलाई नयाँ उचाइमा पुर्‍यायो र अरब वसन्त आन्दोलनको पृष्ठभूमि तयार गर्‍यो । हालसालै सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी अन्न, मल र इन्धनको मूल्य बढेको छ। त्यसले खाद्य असुरक्षामा तीव्र वृद्धि गराएको छ।

जलवायु परिवर्तनका झट्का र महामारीको दीर्घकालीन असरले विश्व खाद्य प्रणालीलाई यसअघि नै दबाबमा पारेको छ । यही कारण दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो हिंसात्मक द्वन्द्वको लहर अहिले विश्वले देखिरहेको छ।

हर्मुज जलडमरुमध्येमा थप अवरोध आएमा त्यसको असर खाडी क्षेत्रभन्दा धेरै टाढासम्म फैलिनेछ। दक्षिण एसिया, उपसहारा अफ्रिका, युरोप र अमेरिकासम्मका किसानहरू पनि मल र इन्धनको स्थिर आपूर्तिमा निर्भर छन्।

प्राकृतिक ग्यास नाइट्रोजन मल उत्पादनको प्रमुख तत्त्व हो। यही मल आधुनिक कृषिको आधार मानिन्छ र यसले उत्पादनलाई ऐतिहासिक उचाइमा पुर्‍याउन मद्दत गरेको छ। विश्वमा व्यापार हुने नाइट्रोजन मलको झन्डै ३० देखि ४० प्रतिशत यही जलमार्ग हुँदै जाने अनुमान छ।

जब मल र इन्धन महँगो हुन्छ, किसानहरूले कम मल प्रयोग गर्छन् वा कम जमिनमा खेती गर्छन्। त्यसको परिणामस्वरूप उत्पादन घट्छ र यसको असर सम्पूर्ण खाद्य प्रणालीमा फैलिन्छ। किसानदेखि ट्रक चालक र खाद्य प्रशोधन उद्योग हुँदै अन्ततः यसको बोझ उपभोक्ताको थालसम्म पुग्छ।

खाद्य, इन्धन र मलको आपूर्ति अवरुद्ध हुँदा केही हप्तादेखि केही महिनाभित्र मूल्य बढ्न सक्छ तर अर्को एउटा स्रोत यस्तो छ, जसमा असर केही दिनमै देखिन सक्छ– त्यो हो खानेपानी।

युद्धका कारण पर्सियन खाडीको पानी प्रदूषित भयो वा नुनिलो पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसालिनेसन प्लान्टहरू बन्द भए भने त्यसको परिणाम झनै अत्यन्त विनासकारी हुनेछ।

यो जोखिम अहिले नै देखिन थालेको छ। गत हप्ता बहराइन र इरान दुवैले डिसालिनेसन प्लान्टहरूमा आक्रमण भएको रिपोर्ट गरेका छन् । यस्ता आक्रमण जानाजानी गरिएका हुन् भने अन्तर्राष्ट्रिय कानुनअनुसार यो युद्ध अपराध मानिनेछ, किनकि यस्तो कार्यले तुरुन्तै लाखौं मानिसको जीवन जोखिममा पार्छ।

युक्रेनको अनुभवले देखाएको छ कि युद्धकै बिचमा पनि महत्त्वपूर्ण पूर्वाधार मर्मत गर्न सकिन्छ तर डिसालिनेसन प्रणाली अत्यन्त जटिल हुन्छ र यसको तत्काल विकल्प उपलब्ध हुँदैन।

दशकौंदेखि मध्यपूर्वमा अन्तर्राष्ट्रिय सुरक्षा प्रयासहरू मुख्यतः विनाशकारी हतियारहरूको प्रसार रोक्न केन्द्रित थिए । तर हर्मुज जलडमरु समुद्री बारुद वा दीर्घकालीन सैन्य द्वन्द्वका कारण बन्द भयो भने त्यसले पनि विश्व खाद्य र ऊर्जा प्रणाली अवरुद्ध गरेर त्यत्तिकै ठुलो मानवीय क्षति निम्त्याउन सक्छ । साथै यसले क्षेत्रीय जल संकटलाई पनि बढाउन सक्छ।

त्यसैले द्वन्द्वमा संलग्न सबै पक्ष र अन्तर्राष्ट्रिय समुदायले यस्तो परिणाम हुन नदिन हरसम्भव प्रयास गर्नुपर्छ । सँगसँगै यस घटनाले भविष्यका लागि चेतावनी पनि दिएको छ, त्यो हो विश्व खाद्य प्रणाली अत्यन्त नाजुक छ । त्यसैले ठुलो झट्काले लाखौं मानिसलाई मानवीय संकटको खतरनाक किनारामा पुर्‍याउनुअघि नै नीति निर्माताहरूले यसलाई मजबुत बनाउने काम तुरुन्त सुरु गर्नुपर्छ।

–गोभाट्र्स सिएसआइएसका महानिर्देशक हुन् भने बर्क सिएसआइएसकी चिफ एंगेजमेन्ट अफिसर हुन्।  सेरोन बर्क

(प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: ६ चैत्र २०८२ १०:४८ शुक्रबार





Source link

Leave a Comment