दिवङ्गत अमेरिकी नागरिक अधिकारकर्मी चाभेजविरुद्ध यौन दुर्व्यवहारको गम्भीर आरोप



प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार

दिवङ्गत अमेरिकी नागरिक अधिकारकर्मी चाभेजविरुद्ध यौन दुर्व्यवहारको गम्भीर आरोप

अमेरिकाका चर्चित नागरिक अधिकारकर्मी सेजार चाभेजमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेको छ। कृषि मजदुरहरूको हकअधिकारका लागि सङ्घर्ष गर्ने नेतामाथि यस्तो आरोप सार्वजनिक भएको हो।

उनकी सहकर्मी डोलोरेस हुएर्टाले सन् १९६० को दशकमा चाभेजले आफूलाई यौन सम्बन्धका लागि “दबाब दिएको” र एक पटक जबर्जस्ती गरेको आरोप लगाएकी छन्।

हालै प्रकाशित एक अनुसन्धानात्मक समाचारमा अन्य दुई महिलाले पनि चाभेजले किशोरी अवस्थामै आफूहरूलाई लामो समयसम्म यौन शोषण गरेको दाबी गरेका छन्।

यी घटना सार्वजनिक भएपछि चाभेज परिवारले आफूहरू अत्यन्त दुःखी भएको जनाउँदै आरोप लगाउने महिलाहरूको साहसको प्रशंसा गरेको छ।

चाभेजको सन् १९९३ मा ६६ वर्षको उमेरमा निधन भएको थियो। उनले सन् १९५० को दशकदेखि क्यालिफोर्नियाका कृषि मजदुरहरूको अधिकारका लागि आन्दोलन सञ्चालन गरेका थिए। उनले राष्ट्रिय स्तरका बहिष्कार तथा ‘मार्च’ हरूको समेत नेतृत्व गरेका थिए।

डोलोरेस हुएर्टाले ती घटनाका कारण आफू गर्भवती भएको र जन्मिएका सन्तानहरूलाई गोप्य रूपमा अन्य परिवारलाई हुर्काउन दिएको बताएकी छन्। आन्दोलनलाई प्राथमिकता दिएका कारण आफूले लामो समयसम्म यो कुरा लुकाएको उनले उल्लेख गरेकी छन्।

यो घटना सार्वजनिक भएपछि चाभेजको सम्मानमा मनाइने “सेजार चाभेज डे” का कार्यक्रमहरू रद्द गरिएका छन्। ‘यूनाइटेड फार्म वर्कर्स’ ले पनि उत्सवमा सहभागिता नजनाउने निर्णय गरेको छ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यो आन्दोलन कुनै एक व्यक्तिभन्दा ठूलो भएको बताउँदै पीडित महिलाहरूको समर्थन गरेका छन्। उनले उक्त दिवसको नाम परिवर्तन हुन सक्ने सम्भावना रहेको समेत सङ्केत गरेका छन्।

यी आरोपहरूले चौतर्फी आलोचना निम्त्याएको छ। चाभेज फाउन्डेसनले पनि यी “गम्भीर र दुःखद आरोपहरू” प्रति चिन्ता व्यक्त गर्दै पीडितहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विभिन्न संस्था तथा नेताहरूले कुनै पनि व्यक्तिलाई उसको प्रतिष्ठाका आधारमा कानुन र उत्तरदायित्वभन्दा माथि राख्न नहुने बताएका छन्।





Source link

Leave a Comment