परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा अग्रता कायम



प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मितिमा अग्रता कायम

अप्रिल २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित ग्रिनकार्डका प्रायः सबै श्रेणीहरूमा उल्लेख्य अग्रता देखिएको छ। विशेषगरी अमेरिकाभित्र रहेका आवेदकहरूका लागि ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षमुनिका छोराछोरीको ‘फाइल गर्ने मिति’ अप्रिलमा ‘करेन्ट’ भएको छ।

मार्च २०२६ मा यो मिति २२ फेब्रुअरी २०२६ तोकिएको थियो। यसको अर्थ अब यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै भए पनि समायोजनका लागि आवेदन दिन सक्नेछन्। अमेरिकी नागरिकका अविवाहित छोराछोरी र अन्य श्रेणीहरूमा पनि फाइल गर्ने मितिमा सकारात्मक परिवर्तन आएको छ। अमेरिकी नागरिकका अविवाहित छोराछोरी श्रेणीको मिति मार्चको १ सेप्टेम्बर २०१७ बाट अग्रता कायम भएर अप्रिलमा १ मार्च २०१८ पुगेको छ।

त्यसैगरी, २१ वर्षमाथिका अविवाहित छोराछोरीको मिति मार्चको १५ मार्च २०१७ बाट अग्रता कायम भएर अप्रिलमा ८ अगस्ट २०१७ पुगेको छ। विवाहित छोराछोरीको हकमा मार्चको २२ जुलाई २०१२ बाट अग्रता कायम भएर अप्रिलमा २२ नोभेम्बर २०१२ पुगेको छ भने दाजुभाइ तथा दिदीबहिनीको मिति १ मार्च २००९ बाट १५ मे २००९ पुगेको छ।

भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने ‘अन्तिम निर्णय मिति’मा पनि धेरैजसो श्रेणीमा सुधार देखिएको छ। अमेरिकी नागरिकका अविवाहित छोराछोरी श्रेणीमा मार्चको ८ नोभेम्बर २०१६ को तुलनामा अप्रिलमा १ मे २०१७ सम्मका आवेदकले भिसा पाउन सक्नेछन्। २१ वर्षमाथिका अविवाहित छोराछोरी श्रेणीमा मार्चको १ डिसेम्बर २०१६ बाट अग्रता कायम भएर अप्रिलमा २२ मे २०१७ पुगेको छ।

विवाहित छोराछोरी श्रेणीमा ८ सेप्टेम्बर २०११ बाट अग्रता कायम भएर २२ डिसेम्बर २०११ पुगेको छ भने दाजुभाइ तथा दिदीबहिनी श्रेणीमा ८ जनवरी २००८ बाट अग्रता कायम भएर ८ जुन २००८ पुगेको छ। यद्यपि, ग्रिनकार्डवाहकका दम्पत्ति र २१ वर्षमुनिका छोराछोरी श्रेणीको अन्तिम निर्णय मिति भने मार्च र अप्रिल दुवै महिनाका लागि १ फेब्रुअरी २०२४ मै स्थिर रहेको छ।

भिसा बुलेटिनअनुसार विभिन्न प्रशासनिक कार्यहरू र राष्ट्रिय सुरक्षाका स्वार्थहरूका कारण केही देशका नागरिकको भिसा जारी हुने दरमा कमी आएको छ। जसका कारण अन्य देशका लागि उपलब्ध भिसा संख्याहरू प्रयोगमा ल्याउन यी मितिहरूलाई अगाडि सारिएको हो। यद्यपि, भविष्यमा माग बढेको खण्डमा यी मितिहरू फेरि पछाडि फर्कन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन।

जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायतका ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तर्वार्ता लगायतका सबै प्रक्रिया पूरा भएतापनि भिसा भने जारी गरिएको छैन। जसका कारण सबै प्रक्रिया पूरा भएकाहरू समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन्। जनवरी २१ भन्दा अगाडि भिसा पाइसकेकाहरूलाई भने अमेरिका आउन रोक लगाइएको छैन।





Source link

Leave a Comment