प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

सन् २०२६ अप्रिलको भिसा बुलेटिनअनुसार रोजगारमा आधारित ग्रिनकार्डका प्राथमिकता श्रेणीहरूमा ठूलो सकारात्मक परिवर्तन देखिएको छ। विशेषगरी पहिलो, दोस्रो र तेस्रो स्किल्ड श्रेणीमा अमेरिकाभित्रै रहेका आवेदकहरूका लागि ग्रिनकार्ड ‘फाइल गर्ने मिति’ पूर्ण रूपमा ‘करेन्ट’ भएको छ।
यसको अर्थ, यी श्रेणीका आवेदकहरूको प्राथमिकता मिति जुनसुकै भए पनि ‘स्टाटस एडजस्टमेन्ट’का लागि आवेदन दिन सक्नेछन्। मार्च २०२६ को बुलेटिनमा तेस्रो स्किल्ड श्रेणीका लागि यो मिति १५ जनवरी २०२४ तोकिएको थियो, जुन अहिले अप्रिलमा आएर सबैका लागि खुला गरिएको छ।
भिसा जारी हुने ‘अन्तिम निर्णय मिति’मा पनि उल्लेखनीय प्रगति देखिएको छ। दोस्रो श्रेणीको अन्तिम निर्णय मिति मार्चमा १५ अक्टोबर २०२४ रहेकोमा अप्रिलमा ‘करेन्ट’ भएको छ। त्यसैगरी, तेस्रो स्किल्ड श्रेणीको मिति मार्चको १ अक्टोबर २०२३ बाट अग्रता कायम भएर अप्रिलमा १ जुन २०२४ पुगेको छ।
यो सुधारले विशेष गरी दक्ष कामदार र पेशेवरहरूका लागि ग्रिनकार्ड प्राप्त गर्ने प्रक्रियालाई थप तीव्र बनाएको छ। तेस्रो श्रेणीको अन्य कामदारमा ग्रिनकार्ड फाइल गर्ने मिति १ नोभेम्बर २०२१ बाट अग्रता कायम भएर १ अगस्ट २०२२ पुगेको छ भने यो श्रेणीमा भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट पाउने मिति मार्चमा जस्तै अप्रिलमा पनि १ नोभेम्बर २०२१ नै कायम छ।
यद्यपि, सबै श्रेणीहरूमा भने यस्तो सुधार देखिएको छैन। रोजगारमा आधारित चौथो श्रेणी र धार्मिक कामदारहरूको श्रेणीको फाइल गर्ने मिति १ जनवरी २०२३ मै स्थिर रहेको छ। यद्यपि यी श्रेणीमा भिसा अन्तर्वार्ता पाउने मितिमा भने १५ जुलाई २०२१ बाट अग्रता कायम भएर १५ जुलाई २०२२ पुगेको छ।
पाँचौँ श्रेणीअन्तर्गतका ग्रामीण क्षेत्र र उच्च बेरोजगारी भएका क्षेत्रका लगानीकर्ताहरूको हकमा भने मार्च र अप्रिल दुवै महिनामा ‘करेंट’ छ। जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाल लगायतका ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तरवार्ता लगायतका सबै प्रकृया पूरा भएतापनि भिसा भने जारी गरिएको छैन । जसका कारण सबै प्रकृया पूरा भएकाहरु समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन् । जनवरी २१ भन्दा अगाडि भिसा पाइसकेकाहरुलाई भने अमेरिका आउन रोक लगाइएको छैन ।