हाम्रो देश नेपाल भूगोलको हिसाबले गाउँ नै गाउँ मिलेर बनेको छ । यी गाउँको विकासबिना न ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको आर्थिक उन्नति हुन सक्दछ, न त समग्र देशको विकास नै । विकासको सूचकांक एउटा महत्वपूर्ण मानक प्रतिव्यक्ति आय बढाउनका लागि ग्रामीण क्षेत्रमा आयआर्जनको अवसर हुन आवश्यक हुन्छ । हाम्रोजस्तो कृषि प्रधान देश, जहाँ ६० प्रतिशतभन्दा बढी मानिस यस क्षेत्रमा संलग्न छन्, उनीहरूको आयआर्जन बढाउने मुख्य क्षेत्र हो– आधुनिक कृषि प्रणाली । यसका लागि कृषि क्षेत्रलाई प्रविधिमैत्री तथा व्यावसायिक बनाउन जरुरी छ ।
हाम्रा ग्रामीण बस्तीहरू दिनप्रतिदिन उजाड बन्दै गइरहेका छन् । ग्रामीण क्षेत्रबाट युवा सहरबजार तथा विदेश पलायन भएको अवस्था छ । युवापुस्ता घरमा नबसेपछि पुस्तौंदेखि चल्दै आएको कृषि पेसा बन्द भएको अवस्था छ । प्रशस्त अन्न उत्पादन हुने खेतका फाँटहरू बाँझिएका छन्, बाँझिदै छन् । गाईगोठ भत्किएका छन् । भत्किँदै छन् । लोकतन्त्र आएपछि गाउँबाट तराई तथा सहरबजारतिर तीव्र रूपमा बसाइँसराइ हुने गरेको छ । ६० को दशकसम्म खाद्य उत्पादनमा आत्मनिर्भर भएका गाउँबस्ती अहिले खाद्यान्न आयात नगरी खान नपाइने अवस्थामा छन् । यस सन्दर्भमा ग्रामीण क्षेत्रको अर्थतन्त्रको सुधार गर्न कृषिक्रान्ति अनिवार्य सर्त हुन आउँछ ।
अहिले गाउँबस्ती विकास नभएकाले उजाड भएका छन् भन्ने भाष्य निर्माण भएको छ । प्राजातन्त्रको ३५ वर्षमा केही पनि विकास हुन सकेन भन्ने चर्चा हुने गर्दछ । यो कुरा सत्य होइन । अहिले गाउँगाउँमा बाटो पुगेको छ । धेरैजसो गाउँवस्तीमा बिजुलीबत्ती, खानेपानी सुविधा, सञ्चार क्षेत्र विस्तार तथा इन्टरनेट पहँुच छ । गाउँगाउँमा विद्यालय खुलेका छन् । तर, गाउँका धेरैजसो मानिस बसाइँसराइ गरेर तराई वा सहरबजारतिर गएको अवस्था छ । यस अर्थमा गाउँबस्ती उजाड भएका हुन् ।
गाउँघरमा देखिएको पूर्वाधार विकासको मोडेलले ग्रामीण अर्थतन्त्रको विकास हुन सकिरहेको छैन । बरु, तुलनात्मक रूपमा सडक, बत्ती, खानेपानी र सञ्चार पहुँचले मानिसको जीवन शैली महँगो हँुदै गएको छ । नयाँपुस्ताले परम्परावादी कृषि कर्म नगरेर आर्थिक गर्जो टार्नका लागि बढे हुर्किएका छोराछोरीले घर छाडेका छन् । कोही सहरबजारतिर गएका छन् भने कोही वैदेशिक रोजगारीमा हिँडेका छन् । यसरी गाउँबस्ती उजाड बन्दै गएका छन् ।
गणतन्त्र आउनुअघि हाम्रा गाउँबस्ती उत्पादनमा आत्मनिर्भर थिए । भराभरा थिए । मानिस खेती, पशुपालन र तथा कृषिसम्बन्धी विभिन्न पेसा गरेर बसेका थिए । अर्गानिक खाद्य उत्पादनमा गाउँ आत्मनिर्भर थिए । प्रायःजसो गाउँमा भएको उत्पादनले स्थानीय मानिसलाई जीविकोपार्जन गर्न पुग्दथ्यो ।
खेतबारी प्रशस्त भएका किसानले बढी भएको उत्पादन अन्न अभाव भएका बस्तीमा विव्रmी गर्दथे । घरपरिवार आपसी सद्भाव, सहकार्य तथा आत्मअनुशासन अब्बल थियो । घरपरिवार मिलीजुली बसेका थिए । गाउँघरमा अर्मपर्म, ऐंचोपैचो, सरपापटजस्ता अभ्यास थिए । किसान परिवारको आर्थिक अवस्था उन्नत नभए पनि निर्वाहमुखी उत्पादनका आधारमा जीवन चलेको थियो । गाउँबस्ती हराभरा, शान्त तथा सामाजिक सद्भावका दृष्टान्त थिए ।
प्रख्यात भारतीय कृषि वैज्ञानिक मोकुम्बु सम्बशिवन स्वामीनाथन (एमएसं स्वामीनाथन)ले भनेका छन्, ‘यदि कृषि बिग्रीयो भने अरु कुनै क्षेत्र पनि ठीकसँग चल्न सक्दैनन् ।’ स्वामीनाथनको भनाई हाम्रो देशको सन्दर्भमा सान्दर्भिक देखिन्छ । कृषि उत्पादन अभावमा देशको उत्पादन, रोजगारी, उद्योग, व्यापार सन्तुलित रूपमा अगाडि बढ्न सकेका छैनन् । मुलुकले युवा निर्यात गरेर खाद्यान्न आयात गरेको छ । खाद्यान्न र राजगारीमा नेपाल परनिर्भर बनेको छ ।
देशमा गणतन्त्र आउनभन्दा अगाडिसम्म मानिस नुनसुन, लत्ता कपडामात्र किन्न बजारतिर जाने गर्दथे । अहिले गाउँगाउँमा पसल खुलेका छन् । प्रायः गाउँ स्थानीय पसलमा आयातीत चामल, नुनतेल, तरकारीलगायत खाद्यपदार्थ किनेर खान बाध्य छन् । हरेक पालिकामा पुगेका सडकमा बसाइँसराइ गर्न नसकेर बसेका परिवारका लागि खाद्यान्न बोकेका सवारीसाधन धुलो उडाउँदै गुडेका छन् । विदेश गएका परिवारका सदस्यले पठाएको पैसाले घरव्यबहार चलेको छ । खाद्यान्न आयात नगरी किसान परिवारको चुलो बल्दैन ।
प्रख्यात भारतीय कृषि वैज्ञानिक मोकुम्बु सम्बशिवन स्वामीनाथन (एमएसं स्वामीनाथन)ले भनेका छन्, ‘यदि कृषि बिग्रीयो भने अरु कुनै क्षेत्र पनि ठीकसँग चल्न सक्दैनन् ।’ स्वामीनाथनको भनाई हाम्रो देशको सन्दर्भमा सान्दर्भिक देखिन्छ । कृषि उत्पादन अभावमा देशको उत्पादन, रोजगारी, उद्योग, व्यापार सन्तुलित रूपमा अगाडि बढ्न सकेका छैनन् । मुलुकले युवा निर्यात गरेर खाद्यान्न आयात गरेको छ । खाद्यान्न र राजगारीमा नेपाल परनिर्भर बनेको छ ।
हाम्रोजस्तो कृषिप्रधान देशमा ग्रामीण अर्थतन्त्रको मेरुदण्ड कृषि नै हो । तर, विडम्बना ! यही क्षेत्र उपेक्षित हुँदै आएको छ । कृषि शिक्षा अभाव, पर्याप्त सिंचाई, आधुनिक प्रविधि, गुणस्तरीय बीउबिजन, सस्तो दरमा ऋण र बजार सुनिश्चितता नहुँदा कृषि परिवारका युवा कृषि पेसाप्रति आकर्षक हुन सकिरहेका छैनन् । आफ्ना उर्बरभूमि बाँझो बनाएर विदेशमा श्रम खर्चिरहेका छन् । विदेश पलायन युवाको रहर होइन, बाध्यता हो । तसर्थ, अब बन्ने सरकारले कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रिकीकरण र व्यसायीकरण गर्ने ठोस योजना बनाउनुपर्दछ ।
ग्रामीण क्षेत्रमा केही विकासका पूर्वाधार निर्माण भए पनि आयआर्जनको अवसरको खोजीमा ग्रामीण क्षेत्रबाट बसाइँसराइ गर्ने मानिसको संख्या व्यापक बढिरहेको छ । योक्रम अझै पनि रोकिएको छैन । बसाइँसराइका कारण अहिले कतिपय ग्रामीण क्षेत्र मानवरहित भएका छन् भने कतिपय ठाउँमा ज्येष्ठ नागरिक र बालबालिकामात्र छन् भन्ने समाचार आउने गरेका छन् । यसो हुनुको मुख्य कारण नागरिकले ग्रामीण क्षेत्रमा आयआर्जनका अवसर नपाउनु हो । एकातिर कृषि क्षेत्रको विकर्षण रह्यो भने अर्कोतर्फ गाउँका विद्यालयमा गण्ुास्तरीय शिक्षा अभाव, स्वास्थ्य उपचार असुविधाजस्ता कारण बसाइँसराइलाई प्रभाव पारेको हो ।
सरकारले ग्रामीण अर्थतन्त्रलाई पुनर्जिवित गर्नका लागि कृषि क्षेत्रमा स्पष्ट दृष्टिकोणसाथ अल्पकालीन तथा दीर्घकालीन योजना बनाउनुपर्दछ । यसोगर्दा अल्पकालीन रूपमा हरेक स्थानीय तहमा आधुनिक कृषि तथा पशुपालनसम्बन्धी निःशुल्क तालिम व्यवस्था गर्नुपर्दछ । कृषि, पशुपंछी पालन, हल्टीकल्चर, फ्लोरी कल्चर, माछापालन, माहुरीपालन, रेशम खेतीलगायत क्षेत्रमा व्यावसायिक कृषक उत्पादन गरी उनीहरूलाई उत्पादनसँग जोड्ने ठोस कार्ययोजना तर्जुमा गर्नुपर्दछ । कृषि प्रणालीलाई आयआर्जनको स्रोत बनाउनका लागि माटो परीक्षण, उन्नत बीउ, सिंचाइ सुविधा, जैविक तथा सन्तुलित मल प्रयोग, बजार व्यवस्थापन, बिमा व्यवस्था, सहुलियत दरमा ऋण तथा उचित मूल्य व्यवस्थापनजस्ता विषयमा ध्यानकेन्द्रित हुनुपर्छ ।
गाउँवस्तीमा आयआर्जन अभावले युवा पलायन भइरहेका बस्ती भराभरा बनाउन ‘हरित कृषि क्रान्ति’ अबको आवश्यकता हो । अहिले व्यापक जनसमर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दै छ । २१ फागुनमा भएको मध्यावधि निर्वाचनमा तीन दशकसम्म सत्तामा रहेका पुराना दल विस्थापित हुन पुगेका छन् । अबको नयाँ सरकारबाट जनताले ठुलो अपेक्षा गरेका छन् ।
युवाको बहुसंख्या भएको सरकारले ग्रामीण अर्थतन्त्र उकास्ने कार्यक्रम ल्याउने आशा गरिएको छ । सरकारले उजाड भएका गाउँबस्ती भराभरा बनाउने कार्ययोजना तथा कार्यक्रम बनाउनुपर्दछ । यसोगर्दा हरेक स्थानीय तहमा कृषिविज्ञ टोली पठाएर त्यहाँको हावा, पानी, माटो र उत्पादन सम्भावनाजस्ता कुरामा अनुसन्धान गर्नु पहिलो प्राथमिकता हो ।
अहिले राजनीतिक परिवर्तन सँगसँगै देश विकास र आर्थिक समृद्घिका कुरा राजनीतिमा महत्वपूर्ण विषय बनेको छ । विकासको नारा अलापेरमात्र देशको विकास हुने होइन । विकासका लागि अत्यन्त व्यवहारिक तथा ठोस योजना आवश्यक पर्दछ । ठोस योजनाअन्तर्गत कृषि क्षेत्रको उत्पादन बढाउनु पहिलो प्रथमिकता हुनुपर्छ । राज्यसँग ग्रामीण विकासका लागि ठोस मार्गचित्र के ल्याउने हो ? हेर्न बाँकी छ । यसअघिका सरकारले पनि पाँच वर्षभित्र कृषि उत्पादन दोब्बर बनाउँदै कृषि सबल अर्थतन्त्र निर्माण गर्ने र कृषिको व्यावसायीकरण नीति लिएको थियो । तर, सरकारको कथनी करणीमा रूपान्तरण हुन सकेन । अबको सरकारले उजाड गाउँबस्तीलाई सम्पन्न तथा हराभरा बनाउनका लागि कृषि क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकीकरण तथा व्यवसायीकरण गर्न अपरिहार्य छ । जनअपेक्षाअनुरुप राज्यले अल्पकालीन योजनाअन्तर्गत हरेक स्थानीय तहमा कृषि शिक्षा तालिम केन्द्र सञ्चालन गरोस् । बेरोजगार युवालाई कृषि क्षेत्रमा आकर्षक गर्ने कार्ययोजना ल्याओस् ।
(लेखकको यो निजी विचार हो)
(Visited 11 times, 1 visits today)
